सजाय भोग्न तयार छु : रामहरि खतिवडा

सजाय भोग्न तयार छु : रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडमा भएको छेडखानीमाथि छानबिन गर्न आफू तयार रहेको बताएका छन् ।

बिहान सभामुख देवराज घिमिरेसँगको छलफलपश्चात उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्दको समावेशबारे कुनै जानकारी नभएको प्रष्टीकरण दिएका हुन् । छानबिनको क्रममा दोषी ठहरिए सजाय भोग्न तयार रहेको उनको भनाई छ ।

‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु’, उनले संक्षेपमा भने, ‘यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौ ।’

बताइएअनुसार सभामुख घिमिरेले बिहानको छलफलमा समितिका सचिव सुरजकुमार दुरालाई पनि ‘कानुन बनाउने विषयमा यति ठूलो गल्ती कसरी हुनगयो ?’ भनेर सोधेका थिए । जवाफमा उनले घुमाउरो भाषामा गल्ती स्वीकार गरेको बताइएको छ । 

त्यस्तै, सभामुख घिमिरेले समितिका अन्य सदस्यहरुलाई पनि पालैपालो ‘कसरी यस्तो हुनसक्छ ? तपार्इंहरुले पास गरेको प्रतिवेदन पढ्नुभएको थियो कि नाई ?’ भनेर सोधेका थिए । जवाफमा अधिकांश सदस्यले ‘हामीले हेर्न पाएनौं’ भनेको छलफलमा सहभागी एक सांसदले जानकारी दिए ।
 

टिप्पणीहरू