रातोपिरो हुने गरी ओलीसँग संवाद भएलगत्तै विद्याले भन्नुभयो– मेरो त पछाडि फर्किने पुल नै भत्कियो

रातोपिरो हुने गरी ओलीसँग संवाद भएलगत्तै विद्याले भन्नुभयो– मेरो त पछाडि फर्किने पुल नै भत्कियो

‘त्यो अस्ति विराटनगर पुग्ने एक जनालाई चाहिँ सि जिनपिङले अध्यक्ष बनाइदिन्छ रे ?’– जेठ २३ गते साँझ विद्यार्थी नेताहरूसँगको एउटा भेटमा अध्यक्ष केपी शर्मा ओलीको मुखबाट एकाएक यस्तो कठोर वचन निस्कियो । उहाँले कसैको नाम नलिए पनि त्यो आक्रोश पूर्वराष्ट्रपति विद्या भण्डारीतर्फ लक्ष्यित रहेको बुझेका अखिल कार्यकर्ताले असहज महसुस गरे । ‘पोखरामा युवासंघको चुनाव हुँदा बागी उठेर सुमन पुरीले लोकतन्त्र बचाइदियो हैन त ? कर्ण थापाले चाइनाबाट फर्किएर के बोलेको त्यस्तो ?’ सोही छलफलमा ओलीले यी र यस्ता थुप्रै गुनासो राख्दै जानुभयो । 

यसले एमालेको आन्तरिक शक्ति सन्तुलनमा अध्यक्ष ओलीमाथि पूर्व राष्ट्रपति हावी हुँदै गएको संकेत दिएको छ । एमालेको प्रभावशाली जनसंगठनमध्ये एक अनेरास्ववियुको महाधिवेशन पूर्वसन्ध्यामा अघिल्लो महिना विद्यार्थी नेताहरूको एउटा टोली ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । सदाझैँ प्रवचनात्मक शैलीमा भाषण गर्नुभएका ओलीले पार्टी जीवनका विभिन्न पक्षबारे लामै चर्चा गर्नुभयो । पार्टीको आन्तरिक एकताबारे पनि कुरा चल्यो । र, त्यसैक्रममा उहाँ एकाएक पूर्व राष्ट्रपतिप्रति आक्रोशित हुनुभयो । छिमेकी मित्रराष्ट्र चीनको साताव्यापी भ्रमण सकेर स्वदेश फर्केलगत्तै पूर्वराष्ट्रपति भण्डारी गृह प्रदेशको भ्रमणमा हुनुहुन्थ्यो । त्यसैमा कटाक्ष गर्दै ओलीले ‘विराटनगरतिर देखा पर्ने’ भन्नुभएको हो।

त्यसो त पार्टीको आन्तरिक जीवनमा होस् या बाहिर फरक विचार समूहप्रति कठोर हुने ओलीको स्वभावै हो । एमालेमा उहाँलाई चुनौती दिनेहरूलाई ‘भीम रावल’ बनाइन्छ भन्ने भाष्य नै छ अहिले । ओलीले सार्वजनिक मञ्चबाट पनि राजनीतिमा पुनरागमन गर्ने विद्याको प्रयास र पूर्व भ्रमणप्रति कटाक्ष गरिसक्नुभएको छ । गत जेठ २५ गते अखिलको महाधिवेशन उद्घाटन गर्दै उहाँले पार्टीमा विभाजन ल्याउन खोजेको र आन्तरिक एकता कमजोर बनाएर नयाँ गुट बनाएको भन्दै विद्याको विरोध गर्नुभएको थियो ।

‘अहिले हल्ला चल्या छ तल तल, यो ग्रुप, त्यो ग्रुप भनेर, त्यो आवश्यक नै छैन, त्यस्ता कुरा सुन्नेबित्तिकै इन्कार गरिहाल्नुस्, फलानाका ग्रुप, यस्ता कुरै छाडिदिनुस्’, सयौं विद्यार्थी नेतामाझ विद्याको नाम नलिई भन्नुभयो, ‘खेल हुन खोज्या छ, पार्टीमा फलाना आउने अरे, यो आउने अरे, पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा नै भएको छैन !’ सार्वजनिक मञ्चबाट ‘फलाना’ भनेर कटाक्ष गर्ने ओलीले भित्री भेटघाट र छलफलमा भने ‘उल्ल्याएर’ बोल्ने गरेको विद्या पक्षका नेताहरूलाई पनि थाहा छ । एउटा कुरा के प्रष्ट छ भने ओली अर्को एक कार्यकाल अध्यक्षको तयारीमा हुनुहुन्छ । त्यसनिम्ति विधानमा रहेको ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान हटाएर आफूअनुकूल गरिसक्नुभएका उहाँका लागि पूर्वराष्ट्रपति भण्डारीको बढ्दो प्रभाव पन्छाउन सजिलो देखिंदैन । दशौँ महाधिवेशनयता एकलौटी पार्टी चलाउँदै आउनुभएका ओली अहिले हाइकमाण्ड भनिने केन्द्रीय सचिवालयमै प्रष्ट अल्पमतमा हुनुहुन्छ । १८ सदस्यीय सचिवालयका टोपबहादुर जेल गएसँगै १७ जना छन् । जसमा उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल र सचिव लेखराज भट्ट मात्र उहाँको पक्षमा प्रष्ट खुलेको देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, उपमहासचिव पिएस गुरुङ, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल बिक र रघुवीर महासेठ कित्ताकाट गर्नै पर्ने अवस्थामा विद्यातिर लाग्ने पक्काजस्तै छ । ईश्वर, सुरेन्द्र र युवराजहरू त विद्यालाई पार्टीमा ल्याएर नेतृत्वमा स्थापित गर्न खुलेरै लागिसकेका छन् । ईश्वरले सार्वजनिक मञ्चबाटै ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानका पक्षमा आफूलाई उभ्याएको त्यसै होइन । आफूले नसक्ने भएपछि सक्नेलाई अघि सारेर भए पनि ओलीको नेतृत्वमाथि चुनौती दिने ईश्वरको रणनीति देखिन्छ । यसअघि प्रष्ट नखुलेका रघुवीरले अखिलको चुनावमा संस्थापनइतर उम्मेदवार प्रकाश पौडेललाई खुलेरै समर्थन जनाएका थिए । सात मतले अध्यक्षमा पराजित प्रकाशलाई मधेशबाट राम्रो भोट आउनुमा रघुवीरको समेत भूमिका रहेको बताइन्छ । यसबाहेक साँच्चै चुनाव हुने स्थितिमा अहिले ओलीतिर रहेका भनिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव पद्मा अर्यालले पनि मन बदल्ने हिसाब निकालिएको छ ।

सक्रिय राजनीतिमा फर्किन हत्तारिएको संकेत दिए पनि विद्या आफैँले भने अहिलेसम्म सार्वजनिक रूपमा प्रकट गर्नुभएको छैन । विभिन्न समय र सन्दर्भमा निकटवर्तीहरूले बहस चलाए पनि उहाँ मौन हुनुहुन्छ । तर, यो मौनतालाई आँधी आउनुअघिको सन्नाटाका रूपमा अथ्र्याउँदै विद्यानिकट नेताहरू छिट्टै नयाँ घोषणा हुने दावी गर्छन् । बताइएअनुसार असार १४ गते मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसर पारेर राजनीतिक पुनरागमनबारे विशेष घोषणा गर्ने तयारी छ । मदन भण्डारी फाउण्डेसनले उक्त दिन प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विद्याले त्यहाँ अर्थपूर्ण सन्देश दिने हालै भंगाल पुगेर फर्किएका एकजना एमाले नेताले बताएका छन् । ‘आन्तरिक तयारी भैरहेको छ, सबै कुरा क्रमशः खुल्दै जान्छ’, उनले भने ।

सचिवालयमा मात्र होइन, पार्टीको तल्लो तह र जनवर्गीय संगठनमा पनि विद्याको प्रभाव बढ्दै गएको देखिन्छ । यसबीच, निर्वाचनमार्फत नेतृत्व चयन भएका जिल्ला कमिटी र जनसंगठनहरूमा संस्थापन इतरपक्षका उम्मेदवार हावी भैरहेका छन् । अध्यक्ष ओलीको आलोचना गर्दा अप्ठेरोमा पर्ने भएकाले अहिले खुल्न नसकेका नेता–कार्यकर्ता पनि महाधिवेशनसम्म पुग्दा पूर्वराष्ट्रपतिको पक्षमा उभिने विश्वास सो पक्षका नेताहरूको छ । त्यसका लागि जनवर्गीय संगठनहरूलाई परिचालन गर्न विशेष टिम पनि बनाइएको छ, पार्टीको तल्लो तहमा पनि संरचना बनाउने कुरा चलिरहेको छ ।

तैपनि, के ओलीलाई चुनौती दिने गरी विद्या पार्टीमा फर्किनुहोला र ? एमालेको तलदेखि माथिसम्म एउटा पंक्ति यो प्रश्नले अन्योलमा देखिन्छ । ओलीको ‘स्वागत’ को पर्खाइले स्वयं अलमलमा देखिएकी पूर्वराष्ट्रपति अब भने रोकिने मुडमा नरहेको दावी गर्दै एक नेताले मुहार रातोपिरो हुने गरी संवाद भएको पछिल्लो एउटा भेटको सन्दर्भ सुनाए । ‘पछाडि फर्किने पुल नै भत्किसक्यो’ भनेर उहाँले धेरै अगाडि बढिसकेको सन्देश दिनुभएको थियो ।

यसमा विद्याको भनाइ रहने गरेको छ– मेरोलागि त केही छैन, तलका तमाम नेता–कार्यकर्ताका लागि पनि अघि बढ्नै पर्ने भयो । यद्यपि, बालुवाटार निकटहरूले भने विद्याले ओलीलाई चुनौती दिएर नेतृत्वमा अघि सर्ने कुरामा पत्यार मानेका छैनन्। 
 

टिप्पणीहरू