हिलोमा नपसेसम्म देश नबन्ने कृषिमन्त्रीको ठम्याई

हिलोमा नपसेसम्म देश नबन्ने कृषिमन्त्रीको ठम्याई

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देशको उन्नति नहुने टिप्पणी गरेका छन् ।

२२ औं राष्ट्रिय धान दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन् । पछिल्लो समय युवाहरु हिलोमा टेकिन्छ भन्ने डरले तर्केर हिँड्ने गरेको भन्दै मन्त्रीले यस्तो सोचले देश नबन्ने बताए ।

‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन’, उनले भने । 

धानको उत्पादन बढाउन थप अनुसन्धान गर्दै जानुपर्नेमा जोड दिएका कृषिमन्त्री अधिकारीले सरकारले त्यसमा ध्यान दिइरहेको दाबी गरे । मलको व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै उनले सन्तुष्टि जनाए । धानमा पूरै आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व अझ धेरै रहेको उनको भनाइ छ ।

मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न आग्रह गर्दै भने, ‘आगामी दिनमा सहज ढंगबाट मल प्राप्त गर्ने अवस्था बनाउँछौँ ।’

मन्त्री अधिकारीले किसानको माग सम्बोधन गर्ने कुरामा सरकार गम्भीर रहेको पनि बताएका छन् । दुई वर्षभित्रमा धानमा आत्मनिर्भर हुने जिकिर उनको छ । 

असार १५ गते (आज) राष्ट्रिय धान दिवस मनाइँदैछ ।

टिप्पणीहरू