देउवाको जवाफ : महाधिवेशन समयमा हुँदैन भन्नु झूठो कुरा हो
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने दाबी गर्नुभएको छ ।
काँग्रेसको संस्थापन इतर खेमाले समयमै महाधिवेशन हुनेमा शंका व्यक्त गरिरहेका बेला देउवाको यस्तो प्रतिक्रिया आएको हो । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘काँग्रेस महाधिवेशन समयमै हुन्छ । समयमा हुँदैन भन्नु झुटो कुराहरु हो ।’
विधानत: आफू तेस्रो कार्यकाल सभापति हुन नपाउने भएकाले देउवा महाधिवेशन सारेर आफू अनुकूल गर्ने रणनीतिमा रहेको भन्दै कांग्रेसभित्र शंका उपशंका हुँदै आएको छ । शेखर कोइराला पक्षका नेता-कार्यकर्ताले सार्वजनिक रुपमै विरोध जनाउँदै आएका छन् ।
तर, यसबारे अहिलेसम्म खुलेर नबोलेका सभापति देउवालाई आज पत्रकारले सोधखोज गरेका थिए । जवाफमा उहाँले समयमै महाधिवेशन हुने जिकिर गर्नुभयो ।
बजेटमा घोषणा भएको टेक एण्ड पे अवधारणालाई सामान्य कुरा हो भन्नुभएका देउवाले आपसी सल्लाहमा हटाएर बजेट पास गरेको जानकारी दिनुभयो । सरकारको नेतृत्वकर्ता एमालेको चाहनामा ल्याइएको उक्त प्रावधान कांग्रसका कारण हटेको भएपनि उहाँले यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनुभयो ।
‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन’, देउवाले भन्नुभयो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको कुरा झूठो रहेको उहाँको दाबी छ ।
टिप्पणीहरू