महेश बस्नेतविरुद्ध मुद्दा दर्ता गर्न शोभालाई बाटो खुल्ला
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध मुद्दा दर्ता गर्ने बाटो खुलेको छ ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय टंकप्रसाद गुरुङ्ग र टीकाराम आचार्यको संयुक्त इजलासले बस्नेतबाट पीडित भनिएकी शोभा पाठकले कानुनबमोजिम ल्याएको रिट दर्ता गर्न आदेश दिएको हो ।
बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी शोभाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ‘भ्रण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण अपुग भएको जनाउँदै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।
सोहीअनुरुप कार्यालयले मुद्दालाई तामेलीमा राखेको हो । त्यसविरुद्ध शोभाले जिल्ला सरकारी वकिल कार्यालयसहितलाई विपक्षी बनाएर उच्चमा रिट निवेदन दिएकी थिइन् । आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट, पटकपटक गर्भ फालेको अस्पतालको रिपोर्ट हुँदाहुँदै प्रहरीले पर्याप्त प्रमाण नभएको जनाउँदै बस्नेतलाई जोगाएको आरोप लगाउँदै आएकी उनको मुद्दामा यसअघि न्यायाधीश हेमन्त रावलको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारी वकिल कार्यालय र परिसरलाई आदेश दिएको थियो । उच्चले हिजो बेरितको आदेश बदर गर्दै रिट निवेदन दर्ता गर्न भनेको हो ।
‘यस अदालतबाट रिट नम्बर ०८०–डब्ल्युओ–२२३० को उत्प्रेषण परमादेश रिटमा मिति २०८१–०५–२६ मा अन्तिम आदेश हुँदा “निर्णय गर्ने अधिकारीले तत्काल संकलित सबूद प्रमाणको विवेचना गरी निवेदकको जाहेरी दरखास्तमा मुद्दा चलाउन पर्ने प्रमाण वा आधार नभएको भनि उक्त जाहेरीलाई पछि प्रमाण उपलब्ध भएमा कानुनबमोजिम हुनेगरी हाललाई तामेलीमा राख्ने निर्णयलाई अन्यथा मान्न मिलेन” भन्ने समेतको आधार लिइएको पाइयो’,आदेशमा भनिएको छ,‘तत्पश्चात थप प्रमाण संकलन गरेको भनि यी निवेदकले पुरक जाहेरी दिएकोमा त्यस सम्बन्धमा थप केही गर्न परेन भनि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंबाट मिति २०८१–१०–२० मा पीडितलाई जानकारी दिइएपछि आफ्नो पुरक जाहेरीमा कारबाहीअगाडि नबढाएको भन्दै उपयुक्त आदेश जारी गरिपाऊँ भनि दर्ता गर्न ल्याएको प्रस्तुत रिटमा इजलासबाट विचार हुनुपर्ने देखिएको अवस्था हुँदा यस अदालतको रजिष्ट्रारबाट प्रस्तुत रिट निवेदन दरपीठ गर्ने गरेको मिति २०८२–०१–०४ को आदेश बेरितको देखिँदा बदर गरिदिएको छ । अब, निवेदकले उल्लिखित रिट निवेदन दर्ता गर्न ल्याएमा नियमबमोजिमको रिट पुर्याई दर्ता गरी कानुनबमोजिम गर्नुहोला ।’

टिप्पणीहरू