मुकुल ढकालको रिटमा कारण देखाऊ,छलफलमा बोलाऊ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश गरेको हो । त्यसैगरी, दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि भएको छ ।
आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै उनले सोही हैसियतमा काम गर्न पाउँ भनी हिजो रिट दायर गरेका थिए । रिटमा आफूलाई जिम्मेवारीमुक्त गर्ने रास्वपाको निर्णय उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ ।
उनले हाल थुनामा रहेका पार्टी सभापति रवि लामिछाने,महामन्त्री कविन्द्र बुर्लाकोटी,प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन् । पार्टी सभापति लामिछानेविरुद्ध सार्वजनिक टिप्पणी गरेको आरोपमा पदबाट हटाइएका ढकाल अहिले पनि निर्वाचन आयोगको अभिलेखमा भने महामन्त्री कायमै छन् ।
आयोगको अभिलेखमा ढकाल नै महामन्त्री रहेको विवरण गत बिहीबार सार्वजनिक भएपछि शनिबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ता तोकेको थियो । त्यसपछि उनी आफू नै महामन्त्री रहेको दाबी गर्दै अदालत पुगेका हुन् ।
टिप्पणीहरू