ओलीले मन नपराएका पात्रहरु एकै ठाउँ
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन नपराएका पात्रहरु एकजुट भएका छन् । एमालेलाई चुनौती दिन हातेमालो गरेका उनीहरुले ‘भ्वाइस अफ युथ,भ्वाइस फर फ्युचर’ भन्ने मूल नारासहित अभियान सुचारु गर्न लागेका हुन् । अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र पार्टी स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले रोक्दारोक्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको चुनावमा उठेर सात मतले हारेका प्रकाश पौडेलको योजनामा ‘सहारा अभियान’ चलाउन लागिएको छ ।
मोरङको विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट रुँदै बाहिरिएका अध्यक्षका आकांक्षी राजेश राई र राष्ट्रिय युवासंघको पाँचौं महाधिवेशनबाट अध्यक्षमा पराजित सुमन पुरीले उनलाई समर्थन गरेको स्रोत बताउँछ । ‘पार्टी अध्यक्ष र महासचिवबाट अपहेलित तीनै जना एकजुट भएका छन् । अभियान चलाउने योजना प्रकाशको हो,अन्य दुईले समर्थन गरेका हुन्’,स्रोतले भन्यो ।
अभियानलाई मूर्त रुप दिनका लागि केही दिनअघि तीन जनाको बैठक पनि बसेको बुझिएको छ । स्रोत भन्छ,‘अभियानलाई कसरी सशक्त बनाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको थियो ।’
अभियानको सदस्यता लिनका लागि क्युआर कोड सार्वजनिक गरिएको छ । अभियानले मानव जीवन र स्वास्थ्य रक्षा,राहत सामग्री उपलब्धता,द्रूत उद्दार व्यवस्था, चेतना र सूचना प्रणाली, सामुदायिक प्रतिरोध क्षमताको क्षेत्रमा काम गर्ने जनाइएको छ । त्यसका लागि युवा स्वयंसेवक दर्ता र सञ्जाल निर्माण, प्रशिक्षण र अभ्यास, क्विक रेस्पोन्स टोली गठन गरिनेछ । प्रकाशको सो अभियानमा एमालेका धेरै नेता र विद्यार्थीले साथ दिएका छन् ।
अनेरास्ववियुका तत्कालीन महासचिव नरेश रोकाया, आकाश घर्तीलगायत भने अभियानको विपक्षमा रहेको स्रोतको दाबी छ । नरेशलाई गण्डकी प्रदेशमा स्थापित गराउन प्रकाशले ठूलो भूमिका खेलेका थिए । तर, उनकै कारणले संगठनमा ३२ वर्षे उमेर हद लागू भएपछि नरेश अनेरास्ववियुको निर्वाचनबाट बाहिरिनुपरेको थियो । जसका कारण उनी प्रकाशसँग रिसाएका छन् भनिन्छ।
टिप्पणीहरू