बलात्कार आरोपी अनुसन्धान अधिकृतको कोठामा
तस्वीरः नयाँ पत्रिका।
बलात्कार मुद्दाका आरोपीले अदालतबाट सफाइ पाएको भोलिपल्टै अनुसन्धानमा संलग्न डिएसपीको नीजि निवासमा पार्टी गरेको प्रकरण संसदीय समितिमा पुगेको छ ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा यसबारे चर्चा भएको हो । सभापति रामहरी खतिवडाले प्रहरी प्रमुख दीपक थापालाई उक्त घटनाबारे प्रश्न सोधेका थिए ।
सप्तरीको राजविराज नगरपालिका-६ घर भएका आकाश आदर्शले अभियोगमा सफाइ पाएको भोलिपल्ट डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा इन्सपेक्टर मनिष श्रेष्ठको जन्मदिन मनाएका थिए । यो विषय बाहिरिएपछि समिति सभापति खतिवडाले प्रहरीको अनुसन्धानमाथि आशंका व्यक्त गर्दै ‘सत्य तथ्य के हो ?’ भनेर प्रहरी प्रमुखलाई प्रश्न गरेका हुन् ।
जवाफमा आईजिपी थापाले घटनाको छानविन भैरहेको बताए । यसलाई आफूले गम्भीरतापूर्वक हेरेको उनको भनाइ थियो ।
‘डिएसपीको क्वार्टरमा खिचिएको तस्बिर अगाडिकै रहेछ, त्यसमा मैले मधेस प्रदेशका डिआइजीलाई के भएको हाे, हेर्नु भनेको छु’, आइजीले भने, ‘इन्स्पेक्टरको बर्थडे रहेछ, उनैले लिएर डिएसपीको क्वार्टरमा बसेको फोटो आएको छ। यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।’
टिप्पणीहरू