बेपत्ता दुई दर्जन प्रहरीलाई सात दिनको म्याद
फाइल फाेटाे
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता रहेका दुई दर्जन कर्मचारीको खोजतलास शुरु गरेको छ ।
फरक-फरक मितिमा आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका २३ जनालाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन निर्देशन दिएको हो ।
उनीहरुको नाममा यसअघि पनि पटक-पटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेको जनाउँदै प्रहरी हेडक्वाटरले सफाइका लागि अन्तिम मौका दिएको जनाएको छ । चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनिएको छ ।
स्पष्टीकरण सोधिनेमा प्राविधिकतर्फका प्रहरी नायब निरीक्षक सुस्मिता थापा, सहायक निरीक्षक विनोद पौडेल र सुनिल लुहार, हवल्दार धनबहादुर विष्ट, सहायक हवल्दार बैजनाथ राय र दिपेन्द्र भट्ट, प्राविधिक जवान मिलन खड्का मगर, अरविन्दकुमार कुशवाहा र खिमबहादुर केसी छन् ।
यस्तै, जवानहरु रोशनप्रसाद थारु, रिदम गुरुङ, चेतन थापा, महेन्द्र कार्की, शुभराज यादव, अविनकुमार ठाकुर, राकेश पासवान, अजय बास्कोटा, सम्तेनलाल भोलन, केशव सुवेदी, रिना थारु, दिेन्द्र चौधरी र सनम विष्टलाई पनि स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कार्यालयको चेतावनी छ ।
टिप्पणीहरू