प्रहरीको हातबाट फुत्किएर दुई फरार

प्रहरीको हातबाट फुत्किएर दुई फरार

चेक अनादर मुध्दामा पक्राउ परेका एक फरार अभियुक्त पुनः भागेका छन् । आज दिउँसो  अदालत उपस्थित गराउने क्रममा अभियुक्त विजयशंकर झा भागेका हुन् । जिल्ला प्रहरी कार्यालय,मोरङले हिजो विभिन्न मुद्दाका २९ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । जसमा झा पनि थिए । 

उनीहरु सबैलाई आज मोरङ जिल्ला अदालत उपस्थित गराइएको थियो । सो क्रममा उनी अचानक भागेको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) कोपिला चुँडालले बताइन् । ‘हाम्रो टोलीले हिजो उनीसहित २९ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । आज सबैलाई अदालतमा उपस्थित गरायौं । सो क्रममा उनी अचानक हाम्फालेर भागेछन्’,उनले भनिन् । 

त्यसैगरी,डिएसपी चुँडालले उनको खोजी भइरहेको जानकारी दिइन् । उता, हुम्लामा पनि एक जना चोरीका अभियुक्त प्रहरीको हातबाट फुत्किएर भागेका छन् । यसअघि बाल सुधार गृहमा बसेका शक्ति सुनार प्रहरीले पक्रेर कार्यालय ल्याउने क्रममा फरार भएका हुन् । कार्यालय प्रमुख डिएसपी शंकर पोखरेलका अनुसार उनको खोजी भइरहेको छ । 

जनआस्थासँग उनले भने,‘चोरी केसमा दुई जनालाई पक्राउ गरेका थियौं । कार्यालय ल्याउँदाल्याउँदै उनी उम्किएर भागे । एक जनालाई चाँहि यहाँ ल्याएका छौं । अर्कोको खोजी जारी छ ।’

टिप्पणीहरू