प्रहरी देखेपछि शिकारीहरू बन्दुक र गाडी छोडेर फरार

प्रहरी देखेपछि शिकारीहरू बन्दुक र गाडी छोडेर फरार

सुनसरीमा वन्यजन्तु शिकार गर्न जंगल गएका शिकारीहरु प्रहरी देखेपछि गाडी र बन्दुक छाडेर भागेका छन् । घटना आज दिउँसो पौने एक बजेतिरको हो ।

बा ६ च ८४०३ नम्बरको गाडी लिएर शिकार गर्नेहरुको एउटा समूह बराहक्षेत्र नगरपालिका-५ स्थित अमाह जंगल पुगेको थियो । जंगलबाट ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरे, र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली तत्काल घटनास्थल पुग्यो ।

तर, प्रहरी त्यहाँ पुग्दा शिकारीहरु भागिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराग खतिवडाले जनआस्थालाई जानकारी दिए । उनका अनुसार टाढाबाट प्रहरीको गाडी देखेपछि उनीहरु आफ्नो गाडी र बन्दुक छाडेर भागेका हुन् । 

‘स्थानीयले जंगलबाट ठूलो आवाज आयो भनेपछि इलाकाका साथीहरु तत्काल त्यहाँ पुग्नुभएको थियो’, उनले भने, ‘तर गाडी र बन्दुक मात्रै नियन्त्रणमा लियौँ, शिकारीहरु भागिसकेका थिए ।’

गाडीको कागजात नभएका कारण व्यक्तिको पहिचान गर्न कठिन भएको प्रहरीको भनाई छ । यद्यपि, गाडी नम्बरबाट पहिचान गर्ने प्रयास भइरहेको डिएसपी खतिवडाले बताए । 

‘कागजात नभएकोले उनीहरुको परिचय पत्ता लगाउन सकिएन, अहिले यायायात विभागसँग समन्वय गरेर पहिचान गर्ने प्रयास गरिरहेका छौँ’, उनले थपे ।
 

टिप्पणीहरू