कमरेडहरुबीच किन बढ्दैछ कटाक्ष ?
‘७० वर्ष उमेर फेल खाइसक्यो । अहिले ७४ मा चल्दै छु । ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ७० वर्षमा रिटायर्ड हुनलाई उमेर चार वर्ष घटाउन भएन क्यारे ! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन ? यी कुरा मुख्य हुन् । कार्यक्षमता हुन्छ कि हुँदैन, मुख्य कुरा यी हुन्’, तेस्रो कार्यकाल अध्यक्ष बन्ने तयारीमा रहनुभएका केपी शर्मा ओलीले अघिल्लो साता अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा बेप्रसंग कुरा कोट्याएपछि एमालेमा ७० वर्षे उमेर हदबारे बहस शुरु भएको छ ।
एमालेले भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने भनेको छ । विधान महाधिवेशनले ११ औं महाधिवेशनका निम्ति नेतृत्व चयनको बिधि बनाउनेछ । नवौं महाधिवेशनपछि उमेरको सीमासँगै दुई कार्यकालभन्दा बढी यौटै कार्यकारी पदमा रहन नपाइने प्रावधान ल्याइएको थियो । तर, दशौँ महाधिवेशनमा ७० वर्ष कटेका ओलीलाई सजिलो बनाउन उमेर हद खुल्ला गरियो । अहिले निस्क्रिय रहेको यो प्रावधानबारे नेतृत्व तहमा बहस नहुँदै ओलीले असफल भैसकेको जिकिर गरेपछि एमालेपंक्ति तरंगित भएको छ । खासगरी पार्टी नेतृत्वमा फर्किने तयारीमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्न यो विषय चर्चामा ल्याइएको अनुमान एकथरीले गरेका छन् ।
सायद यही कुरा बुझेर होला दोस्रो वरियताका नेता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सचिवालयका बहुमत सदस्य उमेर हदको पक्षमा खुल्दैछन् । पोखरेलले त सार्वजनिक रुपमै आफू ७० वर्षे उमेर हद र लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा रहन नहुने पक्षमा रहेको खुलस्त पारिसके । उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेहरू पनि क्रमशः खुलेर आउन थालेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय विष्णु रिमाल र प्रदिप ज्ञवालीबाहेक सचिवालयका अन्य नेता उमेर हद र दुई कार्यकालको समर्थनमा रहेको बताइन्छ ।
दशौँ महाधिवेशनमा भिडेका भीम रावललाई पार्टीबाट निकालेपछि ओलीका लागि मैदान खालि नै थियो । तर, अहिले आएर ओलीमा एक प्रकारको आक्रोश र बेचैनी देखिन्छ । अखिलकै महाधिवेशनमा उहाँले पूर्वराष्ट्रपतिको सम्भावित पुनरागमनलाई लिएर चर्को आक्रोश पोख्नुभएको थियो ।
‘अहिले हल्ला चल्या छ तल तल, यो ग्रुप, त्यो ग्रुप भनेर, त्यो आवश्यक नै छैन, त्यस्ता कुरा सुन्नेबित्तिकै तपाईंले इन्कार गरिहाल्नुस्, फलानाका ग्रुप, फलानाका ग्रुप, यस्ता कुरै छाडिदिनुस्’, सयौं विद्यार्थी नेतामाझ ओलीले भन्नुभयो, ‘खेल हुन खोज्या छ, पार्टीमा फलाना आउने अरे, यो आउने अरे, पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा नै भएको छैन !’ यस्तो रोषपूर्ण टिप्पणी यसबेला आयो जतिबेला पूर्व राष्ट्रपति भण्डारी पूर्वका कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । नेताहरूका अनुसार सार्वजनिक टिप्पणीमा पूर्व राष्ट्रपतिको नाम नलिए पनि आन्तरिक कुराकानीमा भने अध्यक्ष ओलीले खुलेरै प्रतिवाद गर्न थाल्नुभएको छ । ‘विद्या फ्याक्टर’ लाई पार्टीमा नयाँ गुटवन्दी गर्न खोजिएको अर्थ लगाएर भेट्न जानेहरूसँग चिन्ता व्यक्त गर्नुहुन्छ । र, त्यो चिन्ता क्रमशः आक्रोशका रुपमा बाहिर आउन थालेको बुझ्न सकिन्छ । विधान महाधिवेशनमा यो आक्रोशलाई वैधानिकता दिन ‘संवैधानिक पदमा पुगेकाहरू पार्टी सदस्य बन्न नपाउने’ प्रावधान राखिने सम्भावना छ । संवैधानिक नियुक्तिमा गएकाहरूलाई पार्टी राजनीतिमा फर्कन नपाउने गरी वैधानिकरुपमै पूर्व राष्ट्रपतिको बाटो छेक्ने प्रयास हुनसक्ने बुझेपछि नै ईश्वरले काउण्टर गरेको बताइन्छ ।
यसकारण सहज छैन विद्यालाई
एमालेमा ओलीको विकल्पमा जबर्जस्त अर्को धार बन्दै गएकोमा दुईमत छैन । तर, विद्या भण्डारीलाई नेतृत्वमा स्थापित हुन पनि त्यति सहज देखिंदैन । उहाँसँग दुईवटा विकल्प छन्– १) ओलीकै प्रस्तावमा सर्वसम्मत अध्यक्ष हुने । २) प्रतिष्पर्धामा उत्रिने । अहिलेसम्मको स्थितिमा पहिलो विकल्प असम्भवजस्तै देखिन्छ भने दोस्रो पनि चुनौतीपूर्ण छ । चुनावी प्रतिष्पर्धा हुँदा महाधिवेशन प्रतिनिधिले भोट हाल्ने हो । प्रतिनिधि चयनको विधि र संरचना कस्तो छ भन्ने कुराले यसमा अर्थ राख्छ । ‘एमालेका ६ लाख कार्यकर्ताले भोट हाल्ने भए एउटा कुरा, पार्टीको संरचनाबाट चुनिएका प्रतिनिधि आउने हुन् । संरचनामा ओलीको पकड छ’, एकजना सचिवालय सदस्य भन्छन्, त्यसकारण ओलीसँग प्रतिष्पर्धा गरेर नेतृत्वमा स्थापित हुन सजिलो छैन ।’
पार्टी र जनवर्गीय संगठनमा ओली र विद्या खेमा भनेर कित्ताकाट भैरहँदा त्यहाँभित्रको वास्तविकता फरक देखिन्छ । जस्तोः हालै बुद्धिजीवी संगठनमा नयाँ नेतृत्व चयन भयो । महासचिव शंकरले मोर्गन कलेजका सञ्चालक दिपेन्द्र भण्डारीलाई अध्यक्षमा अगाडि सारेका थिए । जनसंगठन समन्वय समितिका संयोजक भानुभक्त ढकालको पनि समर्थन मिलेपछि उनैलाई सर्वसम्मत गराउने प्रयास भयो । तर,गजेन्द्र थपलिया जो निवर्तमान महासचिव थिए, उनले मानेनन् । संस्थापनका उम्मेदवारविरुद्ध उठेका उनले अध्यक्षमा जितिदिए । तर, थपलिया आफैँ ओलीको सचिवालयमा बसेर काम गरिसकेका मान्छे हुन् । बाहिर विद्याको उम्मेदवारले संस्थापनका उम्मेदवारलाई हराएको चर्चा भए पनि खासमा यहाँ ‘विद्या फ्याक्टर’ ले काम गरेको होइन । अखिलमा पनि शंकर पोखरेलका उम्मेदवार सुजन कडरियासँग प्रकाश पौडेल ७ मतले पराजित भए । पौडेललाई विद्याको उम्मेदवार भनिए पनि त्यो तहमा छलफल भएको थिएन । युवा संघमा पनि उपमहासचिव पिएस गुरुङले क्षितिज थेबेलाई ज्यान दिएर सघाए । विष्णु पौडेलले पाँचचोटि फोन गरेर सुमन पुरीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । पार्टीमा विभिन्न कारणले असन्तुष्ट रहेकाहरूले चुनावलाई ‘शान्त बिद्रोह’का रुपमा प्रयोग गरे पनि केपी र विद्यामा कित्ताकाट नभएको नेताहरूको दावी छ ।
चीन भ्रमणपछि बढेको बेचैनी
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणपछि ओलीमा थप बेचैनी बढेको अनुमान नेताहरूले लगाएका छन् । पार्टी राजनीतिमा फर्किने उपयुक्त मौकाको पर्खाइमा रहेकी उहाँलाई एमाले नेताकै हैसियतमा भ्रमण गराएको चीनले त्यहाँ गरेको स्वागत–सत्कार झस्काउने खालकै थियो । त्यसलाई चुनौती ठानेका ओलीले सन्तुलन मिलाउन विष्णु रिमाललाई बेइजिङ पठाएको दाबी गरिएको छ । ३ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार चीन पुगेका रिमाल उतै छन् भने अर्को साता अर्थमन्त्री विष्णु पौडेल पनि बेइजिङ्ग जाने कार्यक्रम तय भएको छ ।
तर, कर्ण थापाले चीन भ्रमण बिगारेको विश्लेषण ओली निकटहरूले गरेका छन् । भण्डारीलाई पार्टीमा फर्काउन सक्रिय रहँदै आएका एमाले स्थायी समिति सदस्य कर्ण भ्रमण टोलीका सदस्य थिए । उनले बेइजिङबाटै भण्डारीको नेतृत्वमा वामपन्थी एकताका लागि चिनियाँ सद्भाव रहेको खुलासा गरिदिए । यसले दुई देश र पार्टीबीचको सम्बन्धमा नकारात्मक असर पारेको दाबी बालुवाटार निकट एमाले नेताहरूको छ । ‘पार्टीको औपचारिक जिम्मेवारीमा नरहेकी पूर्व राष्ट्रपतिलाई चीनले बोलाउनु नै एक खालको सन्देश हो, यो जसले पनि बुझ्न सक्छ । भ्रमणमा सँगै रघुवीर महासेठ र दामोदर भण्डारी पनि छन्, त्यहाँ भएका कुरा सबै ओलीकहाँ पुग्छ भन्ने चिनियाँहरूलाई राम्रोसँग थाहा छ । त्यसैले उनीहरू भएको ठाउँमा चीनले तपाईं एमालेको नेतृत्व गर्नुस्, वामपन्थीहरू मिलाउनुस् भदै भन्दैनन् र भनेको भए पनि त्यो कुरा बाहिर भन्न मिल्दैनथ्यो’, उनै नेता भन्छन्, ‘भारतले शेखर कोइरालालाई दिल्ली बोलाएर तपाईं कांग्रेसको सभापति हुनुस्, मधेशी दललाई पनि मिलाउनुस् भन्यो र त्यो कुरा सार्वजनिक भयो भने कस्तो हुन्छ होला ?’
त्यो कुराले चिनियाँहरू पनि विद्यालाई बोलाउन यो उपयुक्त समय होइन रहेछ कि भन्नेमा पुगेको विश्लेषण बालुवाटारको छ । एमसीसी पास गर्न ‘मरिहत्ते’ गरेको भएपनि ओलीको छवि चीनपरस्त नेताको रुपमा स्थापित छ । चिनियाँहरू पनि ओलीबाट आफ्नो अहितमा निर्णय नहुनेमा ढुक्क छन् । र, यो स्थिति बिगार्न हुँदैन भन्नेमा निकै सचेत पनि देखिन्छन् । तर, जसरी नेकपा फुट्ने बेला विदेश मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा डेलिगेशन पठाउने कदम प्रत्युत्पादक ठहरियो, विद्याको भ्रमणले पनि ‘ब्याक फायर’ हुने हो कि भन्ने चिन्ता रहेको बताइन्छ ।
सन्तुलनकारी भूमिका र छुच्चो स्वभाव नभएको हिसाबले ओलीबाट पीडित भएकाहरूले विद्याको छहारी त खोज्ने नै भए । माथिदेखि तलसम्म उकुसमुकुसमा रहेकाहरू बिस्तारै मुखरित पनि भैरहेका छन् । तर, पूर्व राष्ट्रपति भैसकेको मान्छे पार्टीमा आउँदा हुने लाभभन्दा आमरूपमा उठ्ने प्रश्नको जवाफ कसरी दिने ? भन्ने चिन्ता पनि उत्तिकै छ ।
टिप्पणीहरू