संसद छोडी रास्वपा सांसदहरु धमाधम विदेशतिर

संसद छोडी रास्वपा सांसदहरु धमाधम विदेशतिर

भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मेहिनेत खेर जाने देखिएको छ ।

कहिले निलो दोसल्ला ओढेर त कहिले माथिदेखि तलसम्म कालो पहिरन भिरेर सदन बहिष्कार गरिरहेका रास्वपाका अधिकांश सांसद विदेश भ्रमणमा लागेपछि मिसन तुहिने भएको हाे । 

यतिबेला रास्वपाका पाँच जना विदेश भ्रमणमा छन् । सांसद सोविता गौतम र हरि ढकाल भारतको बैंग्लोरमा छन् । काठमाडौंबाट नयाँ दिल्ली हुँदै उनीहरु हिजो त्यता गएका हुन् । अर्की सांसद तोसिमा कार्की अमेरिका गएको लामो समय भइसकेको छ । उनको केही दिनअगाडि टेक्सासको प्रमुख शहर डल्लासमा घुमफिर गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । 

उता, सांसद गणेश पराजुली अष्ट्रेलिया पुगेका छन् भने पार्टीका वर्तमान कमाण्डर अर्थात कार्यवाहक सभापति डिपी अर्याल हिजो कतार प्रस्थान गरेका छन् । एकपछि अर्को सांसद विदेश लागेपछि संसद्मा रास्वपा कमजोर देखिएको छ । रास्वपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद् सुचारु गरेका छन् । आफ्नै सांसदका कारण सभामुख घिमिरेले संसद्मा पेलेको रास्वपाका कतिपय नेताको ठम्याई छ । 

पार्टीका एक केन्द्रीय सदस्यले भने,‘संसद् अवरोध निर्णायक मोडमा पुगेको छ । सडकमा जाने अवस्था पनि आउन सक्छ । तर, सांसदहरु आफ्नो विदेश मोह छोड्नै सक्दैनन् । संसद् अवरोध चलिरहँदा विदेश हिँडेकैले सभामुखले पेलेका हुन् । संसद्मा प्रस्तुति एकदमै कमजोर भएको छ ।’ सदन बहिष्कार गरिरहेका सांसदहरुले पनि उनीहरु विदेश भ्रमणमा गएपछि असन्तुष्टि जनाएको बुझिएको छ । 

आफूहरु दोर्हाइतेर्हाइ विदेश गइरहेको र अरुलाई मौका नै नदिएकोमा उनीहरु रुष्ट छन् । स्रोतका अनुसार उनीहरु पार्टीको काम भनेर घुमफिर र भेटघाटका लागि त्यता गएका हुन् । ‘कार्यक्रमको बहाना बनाएर उनीहरु घुमफिर गर्न गएका हुन् । आफ्ना निकटस्थले कार्यक्रम बनाउँछन् अनि बोलाउँछन् । सबै छोडेर हतारहतार विदेश पुगिहाल्छन् । यतिबेला पार्टी भद्रगोल छ, जिल्ला–जिल्लामा गएर अभियान चलाउनुपर्नेमा विदेश गएका छन्’,स्रोतले भन्यो ।
 

टिप्पणीहरू