'न रैती न प्रजा, न झोले न अरिङ्गाल' भन्दै सडकमा जुलुस
राजनीतिक दल र व्यवस्थाको पक्ष-विपक्षमा नाराबाजी, धर्ना, जुलुस भैरहने काठमाडौँको माइतीघर मण्डलामा आज भने फरक दृश्य देखिएको छ ।
अभियन्ताहरुको एक समूहले 'नो राजतन्त्र, नो दलतन्त्र' भन्दै प्रदर्शन गरेका हुन् ।
'नागरिक प्रथम अभियान' को अगुवाइमा अपराह्न मण्डलाको विस्तारित सडक खण्डमा भेला भएकाहरुले नागरिकतन्त्र घोषणा गर्न माग गरे । कार्यक्रममा 'सोच परिवर्तन ठोस गरौं, नागरिकतन्त्र उद्घोष गरौं' लेखिएको ब्यानर देखाइएको थियो ।
नागरिक प्रथम आन्दोलन जनपरिचालन केन्द्रीय कार्यदलका संयोजक मिलन कान्छा किरातीको नेतृत्वमा भएको कार्यक्रममा अभियन्ता डम्बर खतिवडा, प्रसान्त सिंह, काठमाडौं महानगरपालिका पूर्व नगर प्रहरी लोकनाथ चुँडालसहित दुई दर्जनजति जम्मा भएका थिए ।
त्यसक्रममा 'न रैति न प्रजा, न झोले न अरिङ्गाल, हामी सार्वभौम नागरिक, हाम्रो स्वाधीन नेपाल', 'राजा र नेता पहिलो हुँदा भयो देश भाँडभैलो, अब हुनु पर्छ यहाँ नागरिक पहिलो', 'भ्रष्टाचार भो बेस्सरी, बन्दैन देश यसरी', 'अब बोल्छ नागरिक, नागरिकतन्त्र जिन्दावाद', 'तीन नेता तीन दलको लुटतन्त्र बन्द गर, प्रतिपक्ष खोई ?' 'लोकतन्त्र कायम गर', 'भिजिट भिषा काण्ड निष्पक्ष छानविन होस्, आरोपित गृहमन्त्री राजीनामा देउ', 'ओइ सरकार ओइ, विद्युत बक्यौता २२ अर्ब उठाएको खोई ?' लेखिएका प्रदर्शन गरिएको थियो ।
टिप्पणीहरू