देशको कायापलटमा दैलेखले दिन लाग्यो देन

दैलेखमा भेटिएको अथाह पेट्रोलियम पदार्थ र ग्यासले नेपालको अर्थतन्त्रमा हालसम्मकै ठूलो योगदान पुग्ने भएको छ । यसबाट नेपाललाई खर्बौं रुपैयाँ आम्दानी हुने पक्का छ । स्थानीय जलजलेमा हालसम्म गरिएको अनुसन्धानबाट ११ करोड २० लाख ब्यारेल तेल तथा ग्यासको कच्चा पदार्थ रहेको पुष्टि भएको छ ।
चिनियाँ अनुसन्धान टोलीका अनुसार एक ब्यारेल अर्थात् एक सय ५९ लिटर कच्चा पदार्थबाट करिब ४५ पदार्थ अर्थात् ७० लिटर पेट्रोल उत्पादन हुन्छ । त्यसैगरी २५ प्रतिशत अर्थात् ४० लिटर डिजेल र ५ प्रतिशत अर्थात् ८ लिटर प्रशोधित खाना पकाउने ग्यास उत्पादन हुन्छ ।
उक्त हिसाबले सो क्षेत्रमा कूल ४० करोड ब्यारेल पेट्रोल उत्पादन हुने अनुमान छ । लिटरमा हिसाब गर्दा ८ खर्ब, १ अर्ब ३६ लाखभन्दा बढी लिटर हुन आउँछ । हालको बजार भाउअनुसार उक्त परिमाणको पेट्रोलको भाउ नेपालले हाल आयात गर्दै आएको मूल्यमा आगामी कैयौं दशक बराबरको हुन्छ ।
त्यस्तै एलपी ग्यास पनि एक खर्ब लिटरको हाराहारीमा रहेको बताइन्छ । डिजेल परिमाण पनि सोही अनुपातमा भएकाले यसको उत्खनन् र प्रशोधनपछि नेपाललाई आगामी चारदेखि पाँच दशकसम्म ग्यास,पेट्रोल र डिजेल खरिद गर्न नपर्ने,बिक्रीबाट अधिक विदेशी मुद्रा प्राप्त हुने अनुसन्धानमा संलग्न चिनियाँ टोलीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
विस्तृत रिपोर्टपछि उत्पादन थालिने छ । दैलेखमा पेट्रोलिय पदार्थ उत्खनन् कार्य चीनको जिओलोजिकल सर्भेको नेतृत्वमा सिएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि गर्दै आएको हो ।
टिप्पणीहरू