छट्टु र कट्टुकै जमाना जो छ !

सीधासादाको त बेला नै छैन । जतापनि चोर, डाँका, फटाहा र छट्टुहरुकै बोलबाला देखिन्छ । खाना पनि सादा सात्विक खाने अत्यन्त कम छन् । मांसाहारी र गरिष्ठ भोजन गर्नेहरु नै ज्यादा भेटिन्छन् । मासुमात्र होइन पशुको दूधघिउसमेत खाँदिन भन्दा मुस्किल छ । बिस्कुट, चाउचाउ, मिठाइलगायत अनेक परिकारमा दूधघिउ मिसाइएकै हुन्छ । मिल्नेजति हरेक चिजमा मिसावट छ ।
गुणको भन्दा देखावटीको जमाना आयो । खानेकुरा होस् या सामानको खोल रंगीचंगी बढी रुचाइन्छ । अचेल बच्चाहरुलाई आकर्षित गर्न भित्र खानेकुरा र खेलौनाजस्तो भएपनि, रद्दी र अलिकति भएपनि ठूल्ठूला रंगीबिरंगी प्याकेट राखेर बढी दाममा बेच्ने गरिन्छ । फलफूल र सागसब्जीसमेत शुद्ध रहन पाएनन् ! छिट्टै पकाउन र फलाउन नाफाखोर व्यापारीहरुले औषधि हालेर बेचिरहेछन् । केही चीजमा शुद्धता भएन, न त श्लीलता छ समाजमा । प्रेममा समेत मान्छेको मनमा एउटै व्यक्तिको भाव भए पो ! दौंतरीमात्र होइन प्रेम र यौनमा बच्चा, बूढा, तन्नेरी समेत केही नसोचिने, सबै चलिराछ यहाँ । एक–एक मान्छेको चालचलन बिग्रँदै जाँदा त्यसको नकारात्मक असर सिंगो समाजमा परिरहेछ ।
पूरा शरीर ढाकेर कपडा लाउनेहरु पाखे कहलिने भए । घुँडा, तिघ्रा देखाएर, छाती–काखी खोलेर लुगा लगाउनेहरुको नचाहिँदो रवाफ देखिन्छ । साँच्चै छट्टु र कट्टुकै जमाना छ । यता हेरे नि कटटु, उता हेरे नि कट्टु । कहीँ घुँडासम्म कट्टु, कहीँ तिघ्रासम्म कट्टु । कतै टाइट कट्टु, कतै खुल्ला कट्टु । महिला पनि कट्टु, पुरुष पनि कट्टु । बूढा पनि कट्टु, तन्नेरी नि कट्टु । साना बच्चाले त लाए–लाए, ठूलाले समेत लाज पचाए ।
पहिले-पहिले म्याक्सीलाई नाइट ड्रेसको रुपमा लगाइन्थ्यो । अचेल त्यही म्याक्सी र त्योभन्दा पनि खुला, पातला र छोटा पहिरनमा महिलाहरु गाउँघर, शहरबजार चहारिरहेका देखिन्छन् । पुरुषले पनि पहिले–पहिले क्वार्टर पाइन्ट लाउनसमेत लाज मान्ने जमाना थियो । त्यसपछि घुँडा–घुँडा हुँदै तिघ्रासम्मका कट्टु अनि अहिले त अण्डरवेयर मात्र लाएर बस्न पनि लाज नमान्ने भइसके ।
स्वतन्त्रताको नाममा समाजमा अश्लीलता बढ्दै गएको छ । मैले जे खाए पनि, जे लाए पनि मेरो व्यक्तिगत स्वतन्त्रता हो भन्ने गरिन्छ । तर, व्यक्तिगत स्वतन्त्रताको नाममा अरुलाई असर पार्न त भएन नि ! एउटा मान्छेको उच्छृङ्खल पोशाकले वरपरका मान्छेहरुमा नकारात्मक असर परिरहेको हुन्छ । आफ्नो घरमा त परिवारका मान्छेको लाज राखेनन्, राखेनन् । अरुका श्रीमती, छोरीचेलीको अगाडिसमेत माथिको कपडा खोलेर, कट्टु र अण्डरवेयरमात्रै लाएर बसिदिन्छन् अरुको मर्यादाको ख्याल नराख्नेहरू । अब यो समाजमा कसैको पनि श्रीमान–श्रीमती अरुको दखलविना चैनसँग बस्न सक्ने माहोल नै रहेन ।
कुनै घरमा नयाँ बेहुली भित्रिँदा गाउँ–टोलका तन्नेरीदेखि बूढासम्म नजर फिराउन आइपुग्छन् । मानौं, त्यस घरमा कसैले मासुको थुप्रै ल्याएको छ, त्यो देखेर गल्लीका कुकुरहरु झुम्मिएका छन् ।
कसैको घरअगाडि कुनै महिला अर्धनग्न किसिमका पहिरन लगाएर बस्दा त्यो घरको पुरुषको नजर चाहेर वा नचाहेर पनि त्यता खिचिन्छ । यसले उसमा यौनका विकृत भाव पैदा गर्न सक्छ भने उसकी पत्नीलाई त्यो महिलाको गतिविधि सह्य होला ? यस्तै कुनै पुरुष माथिको कपडा खोलेर उदांगो छाती वा कट्टु र अण्डरवेयरमात्रै लाएर बस्छ भने वरपरका महिला दिदीबहिनी वा अरुकी श्रीमतीमा नकारात्मक असर पर्न सक्छ । श्रीमानलाई पीडाबोध किन नहोस् ? यसले वल्लोपल्लो घरको दाम्पत्यमै एककिसिमको खलल ल्याउँछ । आँखा थुनेर कोही पनि बस्न सक्दैन ।
यस्ता कुरामा छरछिमेकीले नै ध्यान दिनुपर्यो । आफ्नो स्वतन्त्रताको कुरा गर्दा अरुलाई दखल पुग्ने र अरुको सम्बन्धमा खलल पर्ने व्यवहार कसैले गर्न भएन । यदि कट्टुमात्रै लाएर वा वानपिस, जिरोपिस जेजे पिस भनेपनि, पेन्टी ब्रा र अण्डरवेयरमात्रै लाएर वा नांगै बसेपनि आफ्नै कोठाभित्र बसे हुन्छ ढोका थुनेर । बाहिर आँगन र बाटोतिर गतिछाडा कपडा लाएर बस्दा वल्लोपल्लो घर र समाजमा अश्लील प्रभाव पर्न जान्छ ।
आफ्नै घरमा पनि परिवारमा एउटाको कारण अर्काेलाई नराम्रो असर पर्न सक्दछ । उमेर पुगेका छोराछोरी, बुहारी, ज्वाइँचेला सामु कति बाबु नै कट्टु र अण्डरवेयरमात्र लाएर बसेका देखिन्छन् । अघिल्तिर वा दायाँबायाँ घरका मानिस र बाटो हिँड्ने सबैले देख्ने गरी घरअगाडि नै कपडा खोलेर मिचिमिची नुहाउने चलन छ । अनिकालमा बिउ जोगाउनु, हुलमूलमा जीउ जोगाउनु भनिन्छ । तर यो गतिछाडा समाजमा श्लीलता जोगाउनै मुस्किल छ ।
घरमै र बाटोबाटै अश्लिल शब्द र आमाचकारी बोल्दै हिँड्ने मानिसहरुले पनि नजिकका घर र वरपरका मान्छेलाई त्यसले नराम्रो असर पर्छ भन्ने कहिल्यै सोचेनन् । अनपढ र अज्ञानीहरुलाई सम्झाइबुझाइ गर्नुपर्ने पढेलेखेका बुद्धिजीवी भनौंदाहरु समेत गतिछाडा व्यवहार देखाउँछन् ।
पुरुषले दौरा सुरुवाल, महिलाले लाउने गुन्युचोलो ऊबेलाको पहिरन कति राम्रो थियो । अचेल महिलाहरुले कुर्ता सुरुवाल पनि कम लाउँछन् । महिलाहरुले टिसर्ट पाइन्ट लाउँदा पनि सुहाउँदै हुन्छ । तर पाइन्ट सुरुवाल भन्दा पनि कट्टु र वानपिसको चल्ती बढ्दैछ । गर्मी न जाडो । घर न अफिस । सभ्य मानवका लागि जता पनि शालीन पोसाकको उत्तिकै आवश्यकता हुन्छ ।
अफिस जाँदा चट्ट सर्टपाइन्ट, कुर्ता सरुवाल र साडी अनि कोट लगाएर जानेहरु पनि घर आएपछि उही कट्टु र वानपिसमै देखिन्छन् । यदि पोशाकमा मर्यादा हुँदैनथ्यो भने अफिसमा पनि उही कट्टु नै लाएर गए हुन्थ्यो त ! महिलाले म्याक्सी र वानपिस अनि पुरुषले तौलियामात्रै बेरेर अफिस बसे भइ गो त ! किन थरीथरी नौटंकी गर्नुपर्यो ?
अफिस जाँदा भलाद्मी देखिनुपर्ने अनि घर–छिमेकमा चाहिँ अभद्र व्यवहार गर्नुपर्ने ? उसले देखायो, म पनि देखाउँछु भन्ने इष्र्याभावले कट्टुमात्रै लगाएर वा अर्धनग्न अवस्थामा बस्ने प्रवृत्ति समाजमा सामान्य हुँदै गएको छ । तँभन्दा म के कम भन्दै यसरी नै उदांगो हुँदै जाने हो भने भोलि कुनैदिन अण्डरवेयर र ब्रासमेत खोलेर मानिसहरु नांगै बस्ने दिन नआउला भन्न सकिन्न ।
आजकल बजारमा कपडाहरु रेडिमेड किन्ने चलन छ । तयारी पोशाक पनि पूरा शरीर ढाक्ने नपाउने होइन । तर अधिकांश महिलाहरुको नजर वनपिस र छोटा अनि पारदर्शी कपडामै जाने गरेको छ । शरीरको अंग–अंग देखाएर म राम्री छु वा राम्रो छु र सेक्सी छु भनी देखाउन खोज्ने होडले समाज अत्यन्त लाजमर्दाे भइसकेको छ ।
‘.... लाई भन्दा देख्नेलाई लाज’ भनेझैं साँच्चै एउटाले गर्दा अर्काेलाई असर परिरहेछ । अर्धनग्न भएर राम्रो र सेक्सी देखिने त पटक्कै हुँदै होइन । जुन कुरा सधैं देखिइरहन्छ, त्यसको महत्व पनि खासै रहन्न । जे कुरा दुर्लभ हुन्छ, विरलै पाइन्छ, त्यो नै सदासर्वदा विशेष हुन्छ । मलाई त लालीपाउडर, लिपिस्टिक, गाजल, टीका, झुम्का, मालाबाला आदि लाएर सिँगारपटार गर्नेभन्दा नलाउने सिम्पल केटी नै राम्रो लाग्छ । महिलाको कपालचाहिँ लामै मन पर्छ ।
टिप्पणीहरू