गाउँको जनसंख्याभन्दा तेब्बरलाई सेवा,‘मेडिकल टुरिज्म’लाई टेवा

चीनको सिन्जियाङ स्वायत्त क्षेत्रको वेनछुवान काउन्टीको चालेमुटे टाउनसिपमा रहेको वेनछुवान काउन्टी मंगोलियन अस्पताल पछिल्लो समय निकै लोकप्रिय बनेको छ ।

चिनियाँ परम्परागत उपचार पद्धति अपनाएको उक्त अस्पतालले मूलतः मंगोल जातिको प्राकृतिक उपचार प्रक्रिया अवलम्बन गरेको छ । 

बालुवा,जेड,पहाडको नुनको ठूलो बाकसभित्र राखेर बिरामीको उपचार गरिने प्रक्रियाले रोगहरु निको हुने विश्वास बढेपछि राजधानी पैचिङ, सांघाई, उरुम्छीलगायत ठूला सहरबाट आउने बिरामीको संख्या बढेको बताइन्छ । अस्पतालमा आवासीय सुविधा उपलब्ध भएकाले टाढाका बिरामी कम्तीमा एक साताको प्याकेजमा मंगोलियन अस्पताल पुग्न थालेका छन् । अस्पतालले दिएको जानकारीअनुसार गत वर्ष ३३ हजार बिरामीको उपचार गरिएको थियो । जबकि उक्त काउन्टीको चालेमुटे टाउनसिपमा बसोबास गर्नेको संख्या नौ हजार चार सय मात्रै रहेको छ ।

अस्पतालले ३० थरि चिनियाँ परम्परागत उपचार पद्धतिका साथै मंगोलियन प्राकृतिक उपचार सेवा प्रदान गर्दै आएको छ । वरपरका अग्ला चुचुरामा असार महिनामासमेत सेताम्मे हिउँ रहेको उक्त क्षेत्र पछिल्लो समय प्राकृतिक उपचार पद्धतिमा प्रख्यात हुँदै गएको छ ।


मंगोलियन उपचार पद्धतिमा तातो पानीमा डुबुल्की मार्ने वा हातगोडा डुबाउने,तातो बालुवा,नुन,ढुंगा र बालुवाले सेक्ने प्रविधि निकै लोकप्रिय भएकाले अस्पतालमा बिरामीको संख्या बढेको हो । राज्यस्तरबाट सन् २०२३ मा अस्पताललाई काउन्टीस्तरीय अस्पतालको हैसियत प्रदान गरिएको थियो भने अघिल्लो वर्ष स्वायत्त क्षेत्रका छानिएका अस्पतालमध्ये ‘मोडल’ बनेको हो । आगामी दिनमा उक्त अस्पतालका कारण काउन्टीमा ‘मेडिकल टुरिज्म’को विकास हुने सम्भावनातर्फ पनि औंल्याइएको छ ।

अस्पताल नजिकैको बोर्ताला रिभर वेटल्याण्ड (सिमसार) पार्कमा रहेको तातो पानीको मुहान अर्को आकर्षणको केन्द्र बनेको छ । नजिकैको हिमाल र हरियो घाँसे मैदान अवलोकन गर्दै स्थानीय र पर्यटकहरुले प्राकृतिक तातोपानीमा गोडा डुबाउने सुविधा पार्कमा उपलब्ध छ । आगामी दिनमा पर्यटक भित्र्याउन विभिन्न परियोजनासमेत अघि सारिएका छन् । स्थानीय सरकारले सिमसार क्षेत्रको संरक्षण, तातोपानी कुण्डको विस्तारसँगै आगामी दिनमा सम्पन्न गर्न दुई वटा परियोजना तर्जुमा गरिएको बताइन्छ ।

टिप्पणीहरू