बिदामा घर गएका प्रहरी जवानको ढुंगा लागेर प्रणान्त
दार्चुलाको निसिलमा ढुंगा लागेर गम्भीर घाइते भएका एक प्रहरी जवानको निधन भएको छ ।
बैतडी दरबन्दी भई हाल काठमाडौंमा कार्यरत २६ वर्षीय प्रहरी जवान दिपेन्द्र पालको मृत्यु भएको हो ।
महाकाली नगरपालिका वडा नम्बर-६ स्थायी ठेगाना भएका उनी आज बिहान घरनजिकै भीरमा घाँस काटिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकोमा लागेपछि गम्भीर घाइते भएका थिए ।
लगत्तै हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल पुयाईएकोमा उपचारको क्रममै निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता इन्स्पेक्टर छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार पाल बिदामा घर (दार्चुला) आएका थिए ।
इन्स्पेक्टर रावतले भने, ‘उहाँ घर बिदामा केही दिनअघि आउनुभएको रहेछ । बिहान घरनजिकै भीरमा घाँस काटिरहेको बेला माथिबाट अचानक ढुंगा खसेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । हामीले तत्कालै अस्पताल पुर्यायौं । तर, चोट धेरै लागेकोले बचाउन सकिएन ।’
टिप्पणीहरू