खाँण उता लागेपछि चिफ गेस्ट

खाँण उता लागेपछि चिफ गेस्ट

भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । तर, सोही मुद्दामा परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतको आदेशपछि धरौटीमा रिहा भए । 

मुद्दाको छिनोफानो नहुँदासम्म उनी अभियुक्त हुन् । यदि निर्वाचित भएको भए अदालतमा मुद्दा चलेपछि नै साँसद पद निलम्बित हुन्थ्यो । तर, प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही २ बाट पराजित भएकाले पदको चिन्ता भएन । उनै खाँणले अहिले रूपन्देही जिल्लामा आफ्नो सक्रिय राजनीतिलाई निरन्तरता दिइरहेका छन् । उनको सक्रियतापछि रूपन्देही कांग्रेस कार्यकर्तामा भाँडभैंलो मच्चिएको छ भने गुट परिवर्तनले गगन थापालाई केही राहत भएको छ । 

कांग्रेस रूपन्देहीका एक सदस्यका अनुसार खाँणले शरणार्थी प्रकरणमा सफाई पाएजसरी आफूलाई प्रस्तुत गर्नुभएको छ । “उहाँले मुद्दा केही होइन, म सक्रिय नै छु भन्ने देखाउन खोज्नुभएको जस्तो छ । अहिले कांग्रेसका कार्यक्रममा प्रमुख अतिथि बन्ने गर्नुभएको छ,” ती सदस्य भन्छन् “उहाँको सक्रियता गुमेको राजनीतिक साख फर्काउनमा केन्द्रित देखिन्छ । तर, त्यो त्यति सजिलो छैन । ” 

खाँण धरौटीमा रिहा भएपछि शेरबहादुर देउवा गुट छोडेर शेखर कोइरालातिर पुगेका छन् । उनको कित्ता परिवर्तनपछि रूपन्देहीका कांग्रेस कार्यकर्ताले पनि कित्ता फेरेका छन् । विगतमा शेखर कोइरालाको पक्षमा रहेका कांग्रेस कार्यकर्ताहरू खाँण त्यता लागेपछि गगन थापाको कित्तामा पुगेका छन् । यसरी कोइरालालाई छोड्नेमा रूपन्देही कांग्रेसका नेता एव्म पूर्व क्षेत्रीय सभापति रामबहादुर कार्कीदेखि गत प्रदेशसभा निर्वाचनमा रूपन्देही ३ को उम्मेदवार रहेका कुमार केसीसहित छन् । 

खाँण विरोधी खेमामा रहेका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे भने उनलाई स्थापित गर्नेगरी लागेका छन् । उनले बुटवल उपमहानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा खाँणलाई प्रमुख अतिथि बनाएका छन् । केहीदिनअघि बुटवल उपमहानगरपालिकाले आयोजना गरेको छिमेकी पालिकासँगको अन्तरक्रिया कार्यक्रममा खाँण प्रमुख अतिथि थिए ।

टिप्पणीहरू