ठेकेदारकाे लापरवाहीले नागरिक हैरान

ठेकेदारकाे लापरवाहीले नागरिक हैरान

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रेको काम अन्योलमा परेको छ ।

करिब तीन वर्षअघि शुरु भएको निर्माण कार्य ठेकेदारको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती कारणले अलपत्र अवस्थामा पुगेको हो । 

सडक डिभिजन कार्यालय भक्तपुरले २०७९ मा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर काम शुरु गरेको थियो । सम्झौताअनुसार २०८० चैत मसान्तसम्म निर्माण सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीले तोकिएको समयसीमा पार गरेपनि उल्लेखनीय प्रगति गर्न सकेन ।

प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्ध गरेको हो । त्यसपछि ठेकेदार कम्पनी उच्च अदालत पाटन पुगेकोमा अदालतले अन्तरिम आदेशमार्फत पुनः टेण्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न आदेश दिएको छ । 

सडक डिभिजनले पुनः टेण्डरको तयारी गरेपनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । हालसम्म २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनले जनाएको छ । यस्तै, सडकको केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएपनि अधिकांश स्थानमा रोड तथा ग्राभेल बेस, कालोपत्रे गर्न बाँकी छ । 

१२ मिटर चौडाईको यो सडकखण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखेर त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो ।

धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने योजना भएपनि लामो समयसम्म काम रोकिँदा अलपत्र अवस्थामा पुगेको छ । 

सडक अलपत्र हुँदा स्थानीयबासी र यात्रुहरु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।

टिप्पणीहरू