दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले कानुनबमोजिम बाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । त्यसैगरी, दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
जनआस्थासँग उनले भनिन्,‘कानुनबमोजिम बाहेक उहाँलाई पक्राउ नगर्नु भनि अल्पकालीन अन्तरिम आदेश आएको छ । दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।’
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरलाई जोडेर हिल्टन होटलसँग सम्बन्धित समाचार सम्प्रेषण गरेको आरोपमा पाठकविरुध्द केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको थियो । साइबर ब्यूरोको मागबमोजिम काठमाडौं जिल्ला अदालतले गत जेठ २७ गते उनीविरुध्द पक्राउ पुर्जी जारी गरेको हो ।
त्यसयता सम्पर्कविहीन उनले हिजो उच्चमा निषेधाज्ञा निवेदन दायर गरेका थिए ।
टिप्पणीहरू