धार्मिक सद्भाव, उरुम्छीको प्रभाव
चीनको उत्तर पश्चिमस्थित सिन्जियाङ उइगुर स्वायत्त क्षेत्र पछिल्लो समय आर्थिक हिसाबले थप समृद्धितर्फ लम्किरहेको छ ।राजधानी उरुम्छीलगायत विभिन्न शहर, बजार तथा ग्रामीण क्षेत्रमा भएका विकास, कृषि तथा भौतिक पूर्वाधारमा प्राप्त परिणामले थप समृद्धिलाई संकेत गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

उइगुर, हान, कजाखलगायत ४७ जातीय समूहको आवादी रहेको यो स्वायत्त क्षेत्रमा जातीय र धार्मिक सद्भाव पनि कसिलो देखिन्छ । मस्जिदमा प्रार्थना गर्ने इस्लाम धर्मावलम्बी र बौद्ध गुम्बामा धुप बालेर ध्यान गर्नेहरुको सम्मिश्रण पनि सिन्जियाङ स्वायत्त क्षेत्रको बेजोड नमूनामध्ये एक हो ।

तेल तथा ग्यासमा समृद्ध यो स्वायत्त प्रदेशले कृषि उत्पादन,औद्योगिक, व्यापार,सौर्य ऊर्जा र पर्यटनमासमेत ठूलो फड्को मार्न थालेको देखिन्छ । राजधानी उरुम्छीको अन्तर्राष्ट्रिय ग्राण्ड बजारमा देखिएको भीडले पनि यहाँको फस्टाउँदै गएको पर्यटनसँगैको व्यापारलाई उजागर गर्छ ।

पौने तीन करोड जनसंख्या रहेको स्वायत्त प्रदेशको राजधानीको एउटा ऐतिहासिक बजार घुम्न आउने पर्यटकको संख्या दैनिक एक लाख ३० हजार नाघ्न थालेको बताइन्छ । प्रख्यात स्थानीय रोटी ‘नान’का सयौं परिकार,ड्राइ फुड्स,फलफूल हस्तकलाका सामाग्री बिक्री हुने उक्त बजारमा पुग्ने पर्यटकबाट वार्षिक ५ करोड चिनियाँ युआनको कारोबार हुने गरेको पाइएको छ ।

चिनियाँ मुख्य र स्थानीय भाषा सहायक रहेको उक्त स्थान प्राचीनकालदेखि बजारको रुपमा परिचित हुँदै आएको छ । पछिल्लो समय ठूलो अर्थात् ग्राण्ड र स्थानीयबाट अन्तर्राष्ट्रियमा परिणत भएको छ । नेपाललगायत दक्षिण एसियाली मुलुकमा प्रख्यात ‘बजार’ शब्द यहाँ पनि हुबहु प्रयोग हुने गर्दछ ।

आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो भीड लाग्ने बजारको खुल्ला स्थानमा हुने आकर्षक नृत्य,कला र अन्य प्रस्तुतीले पर्यटकहरुलाई थप मोहित पारेकोले यसको प्रचारमा स्वतः बल मिलेको हो । कला,संस्कृति र पहिचानको मौलिकतालाई कायम राखेर सिन्जियाङले अघि बढाएको आफ्नो विकासको गतिलाई उरुम्छीको अन्तर्राष्ट्रिय बृहत बजारको पछिल्लो वैभवताले पनि प्रष्ट पार्छ ।
टिप्पणीहरू