अवैध मुद्रा कारोबारमा राजस्वको निगरानी

अवैध मुद्रा कारोबारमा राजस्वको निगरानी

नेपाल–भारत सीमावर्ती तराईका जिल्लाबाट अवैध मुद्रा कारोबारमा संलग्नहरू धमाधम समातिन थालेका छन् । 

राजस्व अनुसन्धान कार्यालय, बुटवलले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म साढे तीन करोड अवैध मुद्रासहित कारोवारीहरूलाई नियन्त्रणमा लिएको छ । अवैध मुद्रा कारोबारमा नेपाली र भारतीय नागरिक संलग्न रहेको भेट्टाइएको छ । 

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपाली रुपैयाँ एक करोड ९१ लाख र भारतीय एक करोड ५५ लाख गरी तीन करोड ४६ लाख ५५ हजार ८८० अवैध रकम बरामद भएको राजस्व अनुसन्धान कार्यालय, वुटवलले जनाएको छ । जसमा नेपाली र भारतीय रुपैयाँसहित अमेरिकी डलर र युएई दिर्हाम पनि रहेको कार्यालय प्रमुख विवेक घिमिरेले जनआस्थालाई बताए । 

सीमा नाकामा कडा निगरानी गरी अवैध मुद्रा जफत गरेको उनको भनाइ छ । घिमिरेका अनुसार राजस्व अनुसन्धानको टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा सवारी साधन र पैदल यात्रीमाथि खानतलासी र चेकजाँचबाट रकम जफत गरिएको हो ।

‘तस्करीको सुनसहित व्यापारीले सीमा पारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्राएको हुनसक्ने आँकलन गरिएको छ । सो पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् । तर, अनुसन्धान भइरहेकोले अहिलेसम्म सार्वजनिक गरिएको छैन,’ कार्यालय प्रमुख घिमिरेले भने । 

यसैबीच हालै राजस्व अनुसन्धान विभाग, पुल्चोकमा श्रीमती दीपशिखा ञ्येणजेणमोसहित उपस्थिति भएका तपस्वी भनिने रामबहादुर बम्जनले सरकारी वकिलसँग पाँच घण्टा लामो बयान दिएका छन् । अवैध मुद्रा सम्बन्धी कसूरमा बयान दिन पुगेका उनले त्यस्तो रकम आफ्ना शिष्यहरुबाट भेटीस्वरूप प्राप्त गरेको जिकिर गरेका थिए । 

प्रहरीको लामो खोजपछि डेढ वर्षअघि अर्कै अभियोगमा समातिएका बम्जनको घरबाट विभिन्न देशका अवैध मुद्रा फेला परेको थियो । सो मुद्राबारे अनुसन्धान गरिरहेको राजस्वले उनलाई बोलाएर बयान लिएको हो । ३२ लाख ४० हजार धरौटी बुझाएर छुट्नुअघि उनको दलिल स्पष्ट पारेका थिए । 

अवैध मुद्रा कारोवार तथा ओसारपसारका यी घटनाको आवश्यक अनुसन्धानपछि अदालतमा मुद्दा दायर गरिनेछ ।

टिप्पणीहरू