टेलिफोन संवादलाई धम्की भनेपछि परराष्ट्रमन्त्री अचम्मित

परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा.आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई आफूले धम्की नदिएको प्रष्टीकरण दिनुभएको छ । टेलिफोन कुराकानीलाई तोडमोड गरी समाचार प्रकाशित गरिएको जनाउँदै उहाँले पत्रकारलाई धम्की दिएको विषय झुठ्ठो भएको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै राणाले आफ्नो धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् भएको प्रतिक्रिया दिनुभएको छ । देउवा परिवारलाई बद्नाम गराउने दुषित मनाशयसहित सामाजिक सञ्जालमा आएको तथ्यहीन, भ्रामक भिडियो र त्यसको निरुपणबारे आफूले ज्ञवालीसँग कुराकानी गरेको उहाँको जिकिर छ ।
‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुनअनुसार नै न्याय खोजेका हौँ,’ परराष्ट्रमन्त्री राणाले लेख्नुभएको छ, ‘उक्त भ्रामक भिडियो पोष्ट गर्नेविरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।’
भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्यतथ्य बुझेर मात्र समाचार लेख्न सुझाएको जनाउँदै उहाँले थप्नुभएको छ, ‘तर, हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’
मुलुकमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गर्ने नेपाली काँग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने उल्लेख गर्दै उहाँले आफू सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले प्रेस स्वतन्त्रताबारे राम्ररी थाहा भएको जनाउनुभयो ।
राणाले मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वासनीयता गुमाउनु नहुने पनि बताउनुभएको छ । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने धारणा उहाँको छ।
टिप्पणीहरू