आँखा देख्ने धृतराष्ट्र बनेको देश

आँखा देख्ने धृतराष्ट्र बनेको देश

‘दुनियाँ हेर्ने दुई दृष्टि हुन्छन्—एउटा भ्यागुताको जस्तो, अर्को चराको जस्तो । यीमध्ये कुनैले पनि उथलपुथल ल्याउन सक्छ ।’

                    — ओल्गा तोकार्जुक, नोबेल साहित्य पुरस्कार विजेता, पोल्याण्ड

नेपाली समाजले पछिल्ला दशकमा सत्ता, विचार र परिवर्तनको नाममा जुन मोड लिन थाल्यो, त्यसले एउटा गम्भीर प्रश्न उठाएको छ— के हामी महाभारतका पात्र धृतराष्ट्रजस्तै भएका हौं ! आँखा खुलेका छन् तर चेतना सुतेको छ । स्वर छन् तर मन मौन छ । विरोध छ तर विवेक भने हराएको छ । गणतन्त्रको पक्षधर हुनु भनेको भ्रष्टतन्त्रको समर्थक हुनु होइन । मौन रहनु न त समर्थन हो, न अज्ञानता । जब निर्वाचित शासकहरू हुकुमी शासन चलाउन थाल्छन्, त्यसको विरोध गर्नु राजतन्त्रको सडेगलेको लाश बोक्नु हैन । राजनीतिक कार्यकर्ता विवेक र आत्माको आवाज भएर पार्टीभित्र जीवन्त देखिएनन् । त्यसको विपक्षमा उभिनु ‘पञ्च’ हुनु होइन । विवेकको अभावमा निष्ठा अन्धो बन्छ । सुन्दरता पनि जब नग्नतामा झर्छ, त्यसले निर्लज्जताको रूप धारण गर्छ ।

राजनीति व्यवसाय बनेपछि भ्रष्टाचार र अत्याचारलाई पनि ‘उपलब्धि’ को रूपमा चित्रण गरिन्छ । नायक खलनायकमा फेरिएपछि शब्दहरूले संवेदना गुमाउन थाल्छन् । तिनका अर्थ, मर्म र सामथ्र्य नै फेरिइन्छन् । न्याय र अन्याय छुट्याउने विवेक रहँदैन । अदालती फैसलामा प्रश्न उठ्न थाल्छ । अन्धदास कार्यकर्ता भने भ्रष्ट शासकलाई पौरखी मानेर स्यालुट ठोक्छन । कार्यकर्ता हुनु भनेको विवेक र दृष्टिकोण समर्पण गर्नु होइन । नायक कहिले खलनायकमा फेरियो भनेर बुझ्न अन्तरदृष्टि आवश्यक पर्छ । अहिले केही नागरिक रैती र दास बन्न म्याराथन दौडिरहेका छन् । यो नियाल्न युगीन चेतनाले मात्र सकिन्छ । राजनीति वा धर्ममा अन्धभक्त कसरी पैदा हुन्छन् भन्ने बुझ्न ‘किन’ र ‘कसरी’ भनी प्रश्न गर्न सक्ने साहस चाहिन्छ । भीड र जुलुस हेर्न आँखामात्रै होइन, विवेकपूर्ण दृष्टिकोण आवश्यक पर्छ ।

त्यसका लागि चश्मा मात्रै होइन, चेतनाको नयाँ लेन्स चाहिन्छ । सिद्धान्त कितावमा बन्धक बनेपछि ‘न्याय’ अदालतको फैसला होइन, कतै फैसला हुकुम वा थैलीको करामत त हैन ? भन्ने हुन्छ । नत्र एउटै फैसलमा दोहोरो मापदण्ड भएको, दिउँसै रात प¥यो भन्ने सोच्न थालिन्छ । प्रतिक्रियाको व्यापारले राजनीति चलाउन थालेपछि परिणाम के हुन्छ भन्ने बुझ्न सूर्यचिह्नबाट लडेका राप्रपा नेता कमल थापालाई हेरे पुग्छ । एमालेको बैशाखी समातेर संसद भवन छिरेका पूर्वकमरेड धवलसमशेर हुन् वा झापाली ‘किराती राजा’ लिङ्देन— यी सबै उदाहरण पर्याप्त छन् । जुम्ली माओवादीभित्रको आन्तरिक प्रतिस्पर्धा र कुस्ताकुस्तीकै कारण ज्ञानेन्द्र शाहीजस्ता पात्र संसदमा पुगे । समग्र परिणाम, प्रतिगमन बनेर सडकमा छताछुल्ल भैरहेको छ ।  राजनीतिक ‘ग्रामर’ आज प्रतिक्रियाबाट कसरी निर्देशित र नियन्त्रित भइरहेछ भन्ने कुरा बुझ्न चाहिन्छ भने, गएको निर्वाचन हेर्नुहोस्— ‘मिसन ८४’ को सार तिनकै प्रतिबिम्ब हुनेछन् ।     

एक्लो व्यक्तिले समाज वा राज्यका लागि कुनै अर्थ राख्दैन— जबसम्म ऊ सत्ताको केन्द्रमा पुग्दैन । तर, एकपटक सत्तामा पुगेपछि, उसको स्वभाव, मनोविज्ञान र चिन्तन स्तरले समकालीन समाज र राष्ट्रलाई के भोग्नुपर्ने हुन्छ भन्ने कुरा निर्धारण गर्छ । यसको उदाहरण हेर्न अमेरिका पुग्नुहोस्– जहाँ आवेग, घृणा र विखण्डनले राजनीतिलाई कति प्रदूषित बनायो । नेपाल नै नियालौँ– चाहे त्यो मानव तस्करीमा मुछिएको भुटानी शरणार्थी प्रकरण होस्, वा भिजिट भिसाका नाममा गरिने धोखाधडी । सत्ता टिकाउन यस्तो खेल पनि हुँदो रहेछ । गिरीबन्धुलगायत कतिको चर्चा गर्ने र ... यी घटना व्यक्तिका कुरा मात्रै नभै सत्ताको चरित्र र सामाजिक मूल्य क्षयका प्रतिबिम्ब हुन् ।  

नैतिकता र सुशासन अब उड्ने चराजस्तै भए । लाजले पनि लाज मान्न छोड्यो । लज्जाशरणम बनेर आक्रोश र घृणाका कारण बन्दै गए । रिसको झोंकमा स्वयं नांगिएर अरुको बेइज्जत गर्छु भन्ने मनोदशाले अरुको खिल्ली उडाउँदा आफैँ निर्वस्त्र बनेर हेन्स एन्डर्सनको दि एम्पेरर, विदाउट क्लथ पढेर हुर्किएको पिँढी खित्का छोडेर हाँस्दैछ । क्रुर, निर्दयी, अमानवीय स्वभाव भएका व्यक्तिहरू चुनावमार्फत नायक बन्ने क्रमले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई घाइते बनायो । यही सन्दर्भमा अहिलेको ‘नयाँ न्यारेटिभ’ गढिएको छ— अब राजनीति परिवर्तनको साधन हैन, सत्ताको खेल मात्र बनेको छ।

राजाहरूले अदालतको सामना गर्नु पर्दैन, हुकुम नै कानुन बन्छ । देवताका पुनरजन्म नरनारायण सोच्छन् तर लोकतन्त्रमा निर्वाचित शासक भएकाले सत्ताको केन्द्र अर्थात मेरो सिधा संवोधन प्रधानमन्त्रीप्रति हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मूल राजनीतिक चरित्र नै आफ्ना विकल्पहरू उम्रिनै नदिनु हो । उनी अवचेतन मस्तिष्कमा गाडिएको अतृप्त इच्छाको जालोमा बाँधिएका व्यक्ति हुन् । यस्तो मनोविज्ञान भनेको मैले भनेपछि सबैले पत्याउनु र स्वीकार्नुपर्छ भन्ने हो । सपना सत्ता बन्छ, सत्ता नै अन्तिम शरणास्थली । 

वाम आन्दोलनको लोकप्रिय नारा र जनभावनाको जति प्रचार भयो, व्यवहारमा पार्टीभित्र अभिजात वर्गकै नियन्त्रण रह्यो । क्रान्तिले जन्माएका नेताहरू आन्दोलनको दबाबमा कस्मेटिक चरित्रमा देखिए । परिणाममा उनीहरूको वर्गचिन्तन सामन्तवादी नै रह्यो । वर्ग सिफ्ट भएको थिएन— सिर्फ आवरण फेरियो । अवचेतन मनमा जमेको संस्कार पुरानै थियो । यही सोचका प्रतिनिधि पात्र बने, प्रधानमन्त्री ओली । पात्र फेरिए पनि प्रवृत्ति उस्तै रहँदा ‘नयाँ’ चिन्तन देखिए पनि त्यसको सार पुरानै संरचनामा अड्कियो । यो नै आजको राजनीतिक विडम्बना हो—जहाँ रूप बदलिन्छ, तर मूल चेतनामा कुनै परिवर्तन देखिँदैन ।

नेपाली समाजले अहिले मूल्य, विवेक र चेतनाको गहिरो संकट भोगिरहेको छ । राजनीति विचार होइन, प्रतिशोध र सत्ताको खेल बनेको छ । नेताहरू नायक होइन, शक्तिको दलाल बन्दै छन् । कार्यकर्ताहरू विवेकशील होइन, अन्धभक्तमा फेरिँदै छन् । र, नागरिकहरू चेतनाविहीन भीड बन्दै छन् । अपराधको कारोबार सत्ताधारी नेतृत्वले गर्दैछ । नत्र भुटानी नक्कली शरणार्थी र भिजिट भिसामा देश बिक्री भइरहेको हुन्थ्यो । हामी आँखा खुला भए पनि अन्धाजस्तै भएका छौँ । यदि चेतनाको पुनरुत्थान भएन भने  साँच्चै धृतराष्ट्र भइहाल्छौँ— आँखा भएर पनि अन्धा ।

टिप्पणीहरू