बिमा प्राधिकरण अध्यक्षविरुद्धको मुद्दा पूर्ण इजलासमा
नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध रिटमाथिको सुनुवाई अब पूर्ण इजलासमा पुगेको छ । न्यायाधीश अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले आज पूर्ण सुनुवाइको निम्ति पेस गर्न आदेश जारी गरेको छ ।
अब तीन जना न्यायाधीशको इजलासमा पुगेको उक्त मुद्दा चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले दायर गरेकी हुन् । उक्त मुद्दामा चैत २० गते न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
गत जेठ ५ गते न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले अन्य आदेश गर्दै ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, सिफारिस समितिको निर्णयलगायत सबै कागजात झिकाउन आदेश दिएको थियो ।
फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेपछि उनीसँग तोकिएको योग्यता नरहेको भन्दै रिट दायर भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नियुक्तिको लागि गठित सिफारिस समिति र ओझालाई विपक्षी बनाइएको छ ।
टिप्पणीहरू