लोकप्रियताको भ्रममा नबसे हुन्छ नेतागण

लोकप्रियताको भ्रममा नबसे हुन्छ नेतागण

कसैले माने पनि वा नमाने पनि राजनीतिक मानिसहरूको छविमा धेरै ठूलो गिरावट आएको छ । जनता र कार्यकर्तामा एक किसिमको विकर्षण पैदा भएको छ । यो कुनै आरोप नभएर आजको यथार्थ हो । विगतका विभिन्न घटनाले पनि यो भनाइलाई पुष्टि गर्छ । 

०४० सालमा नवलपरासीको सुर्जेपुरा भन्ने ठाउँमा गिरिजाबाबुमाथि मण्डलेहरूले ठूलो हमला गरे ! पाल्पा, मुस्लाङखोला निवासी कांग्रेस कार्यकर्ता ‘आलोक’ ले प्राणको आहुति दिएर गिरिजालाई बचाए । एमाले महासचिव स्व. मदनकुमार भण्डारीलाई कांग्रेसी हमलाबाट बचाउने क्रममा एक जना होनहार युवाले आफ्नो गर्धनमा खुकुरी थापेका थिए । ती युवा अहिले अपांगताको जीवन बाँचिरहेका छन् भन्ने सुन्छु । उसबेला नेतृत्वका निम्ति बलिदान दिन पछि नपर्ने समर्पण र भरोसा देखिन्थ्यो । तर, अहिले त्यस्तो छैन । बरु धेरै नेता जनता र कार्यकर्ताको आक्रमणको तारो बनिरहेका देखिन्छन् । सुशील कोइराला, झलनाथ खनाल, प्रचण्डलगायत नेताले आफ्नै कार्यकर्ताबाट सार्वजनिक ठाउँँमै अभद्र व्यवहार सामना गर्नुप¥यो । यस्तो युटर्न कसरी हुन गयो भनेर समीक्षा भएको थाहा पाइएको छैन ।

सामाजिक सञ्जालतिर आँखा लगाउनुपर्छ, नेतृत्वप्रति ठूलो तिरस्कार र अपमान व्यक्त गरेको पाइन्छ । केही दिनअघि एमालेका एक जना सचिवले गर्नुभएको एउटा फेसबुक पोष्टमा बहुमत प्रतिक्रिया उहाँलाई गाली गरेको पाइयो । अहिलेसम्म खासै विवादमा नपरेका, ठीकठीकै ठानिएका भिजिट भिसा काण्डका आरोपित गृहमन्त्री लेखकले म यो काण्डमा संलग्न छैन भनेर सार्वजनिक रूपमा भन्दा पनि अधिकांशले विश्वास गरेको छैन । टिप्पणीकारजति सबैले उनको बहिर्गमनको माग गरिरहेका छन् । 

सदस्य संख्याको हिसाबले सबैभन्दा ठूलो दलका नेताहरूको पक्षमा, त्यहाँ आबद्ध लाखौँ कार्यकर्ता र समर्थक किन अगाडि नआएर लुके ? अफ्ठ्यारो परिस्थितिमा त सतिसालजस्तो खडा भएर बचाऊ गर्नुपर्ने हो नि ! आफ्ना नेताप्रति हमला हुँदा, यस्तो विधि खिल्ली उड्दासमेत बहुसंख्यक समर्थकले मौनता साँधेर बसेका छन् । यो सामान्य कुरा होइन । यसको सन्देश के होला ? 

कांग्रेस, एमाले, माके, एस र रास्वपासमेतले विभिन्न नाम दिएर देशका केही ठाउँँको पैदलयात्रा गरेका थिए । जनतासित संवाद गर्ने, जोडिने यस्तै नाम दिइएका ती यात्रामा पत्रकार बिनु सुवेदीले भनेजस्तो ‘नेतासँगै नेता’ को अवस्था थियो । ती सबैजसो पैदलयात्रामा उपस्थित जनता उपल्ला, मझौला र तल्ला तहका नेताको बीचमा हराइरहेका थिए । साँच्चै भन्नुपर्दा ती जनसभामा सहभागिता नसोचिएको तहमा न्युन थियो । हात समातेर गाडीबाट ओराल्ने, मञ्चसम्म डो¥याउने, बसेकै ठाउँँमा प्लेटमा खाना हालेर ल्याउनेहरूको चहलपहलबाहेक आममानिसको स्वस्फूर्त उपस्थिति, जोश र सरगर्मी थिएन । यो कुराले पनि नेतृत्वप्रति सम्मान र भरोसा कम हुँदै गएको तर्फ नै संकेत गर्छ । 

नेकपा (एस) का महासचिव घनश्याम भुषालले सामाजिक सञ्जालमार्फत गम्भीर कुराको उठान गर्दै लेखेका छन्– ‘मुख्य दलले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको छ ।’ ‘वास्तवमा सिंगो राज्यसंयन्त्रलाई नै राष्ट्र दोहनमा लगाउने र ब्रह्मलुट मच्चाउने काम तीव्र रूपमा शुरु गरिएको छ. । ठुल्ठूला खरिद प्रक्रियामा राजनीतिक तहमै सहमति गरेर भ्रष्टाचार गरिन्छ । आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर पैसा खाई अमेरिका पठाउने, गिरिबन्धु चिया बगान काण्ड, भैरहवा र पोखरा विमानस्थल निर्माण ठेक्का काण्ड, अहिले भर्खरै मात्र घटित दैनिक ५० लाख रुपैयाँ उठाउने भिजिट भिसा र गभर्नर नियुक्तिको कुरा राज्य दोहनकै उदाहरण हुन् ।’ 

मेरो विचारमा त यो भुटानी शरणार्थी र भिजिट भिसा काण्ड राज्य दोहन मात्रै नभएर राष्ट्र नै लज्जित हुने देशद्रोह हो । यो घोर गणतन्त्रविरोधी कुकृत्य हो । सत्ताधारीको यस्तै अनैतिक कार्यले एकातिर जनतामा निराशा र आक्रोश बढाउने काम गरिरहेको छ भने ठीक अर्कोतर्फ दक्षिणपन्थीलाई जनता भड्काउने, आफ्नो कार्यकर्तामा हौसला बढाउने मसला दिने काम गरेको छ । 

लोकतान्त्रिक प्रणाली भएको राज्यमा यस्तो विषय लज्जास्पद हुन्छ र कसैले नभनीकन सम्बन्धितले छानबिनका लागि मार्गप्रशस्त गर्छन् । खासमा त सरकार ढल्नुपर्ने थियो । अदालतको आदेशमा छानबिनको निम्ति मन्त्रीलगायतको टोली पुलिसको नियन्त्रणमा हुनुपर्ने थियो । तर देशको दुर्भाग्य हो कि त्यस्तो हुँदा पनि सामाजिक सञ्जालभित्र बाहेक यो घटनाले कसैको जवाफदेहिता माग गर्न सकेन । लेखक क–कसका साथी हुन् र उनीप्रति यो हदसम्मको करुणा प्रदर्शित भइरहेको होला ? अब प्रधानमन्त्रीले नै मन्त्रीले राजीनामा दिनु नपर्ने भनिसकेपछि बातै खत्तम । राजनीतिक सत्ता फेरिन बेरै लाग्दैन । ६ दशक लामो भारतीय कांग्रेसको सत्ता राजनीतिलाई केही दिनको अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनले उठ्नै नसक्ने गरी ध्वस्तै पारिदियो । अहिले बल्लबल्ल प्रमुख विपक्षी दलको मान्यता पाउन सफल भएको छ तर सत्तामा फर्किन महाभारतकै जस्तो युद्ध लड्नुपर्ने अवस्था छ । 

बंगलादेश, श्रीलंका, युक्रेन आदि देशको सत्ता परिवर्तन हाम्रैसामु भएको हो । राजा ज्ञानेन्द्रको सत्ता बहिर्गमनको पनि हामी प्रत्यक्षदर्शी हौँ । सत्ता कुशासन र बिचौलियाको कारणले दुर्गन्धित बनिसकेको छ । यो सत्ता भेट्नो कुहिएको कुभिण्डोसरह बनिसकेको छ । कुनै पनि सत्ता यस्तो अकर्मण्य र अराजक भएर टिक्नै सक्दैन । देशको संविधानले राज्य र सरकारका, मन्त्री, प्रधानमन्त्रीका, प्रशासक र जनताको पनि सीमा तोकिदिएको छ । जतिसुकै ठूलो भए पनि गर्न हुने र गर्न नहुने कुराको फरक गरिदिएको छ । जापानमा जनतासँग संवादमा जिब्रो चिप्लिँदा मन्त्रीले मैले गल्ती गरेँ, ठीकसँग बोल्न सकिनँ भनेर राजीनामा दिन्छन् । किनभने राजनीतिक मान्छेको नरम शक्ति भनेको उसमा अन्तरनिहित नैतिकता हो ।

लेखकले अरुलाई सुनाएका अर्ति प्रधानमन्त्रीले एकपटक रिवाइण्ड गरेर सुने हुने थियो । राजावादीले मात्रै नभएर देशको प्रमुख प्रशासकीय अधिकारीले समेत सरकारविरुद्ध आन्दोलन गरेर गणतन्त्रवादी सरकारलाई चुनौती दिए । के रहस्य लुकेको छ कि सबैले बेठीक गरिरहेका छन् भनेर भन्दा पनि प्रधानमन्त्री मौन छन् । वर्गीय खुट्टा उस्तै भएर त नहोला ?  वर्तमान नेतृत्वको गल्तीका कारण दक्षिणपन्थीले सेक्युलर पक्षधर तप्कामाथि निशाना साँध्न शुरु गरेका छन्  । सत्ताले चलाएको नांगो भ्रष्टाचार, कुशासन र स्रोतको दोहनले देशमा गरिबी, बेरोजगारी, असमानता, अशान्ति र द्वन्द्वको सिर्जना गरिरहेको छ । गाउँ समाजमा हाँसीखुशीले बाँच्न, अडिन सकिने अवस्था विद्यमान छैन । युवा मात्रैमा होइन, समाजका सबै तप्काका मानिसमा एक किसिमको आक्रोश पैदा हुन गएको छ ।

यिनै कुरालाई आधार बनाएर दक्षिणपन्थीले सेक्युलर तप्कामाथि हमला गर्ने दुस्साहस गरिरहेका छन् । हरेक जम्काभेटमा मौखिक हिंसा गर्न शुरु गरेका छन्, अपमानित गर्न खोज्छन् । तल–तल सामाजिक सौहाद्र्रताको अवस्था नाजुक बन्दै र खस्किँदै जान थालेको छ । राजनीतिक संवाद भ्रष्टाचार, मानव तस्करी, बिचौलिया, कुशासन र बेथितिमा पुगेर एक किसिमको भनाभनमा रूपान्तरण हुन थालेको छ । यसले सबैलाई चिन्तामा पुर्‍याएको छ । एमाले र कांग्रेसको नेतृत्व असफल भएको कुरा त भिजिट भिसा प्रकरणले प्रमाणित नै गरिसक्यो ।

राष्ट्र बैंकका योग्यतम हकदारहरूमध्येकालाई नेतृत्वमा आउन नदिन जे–जस्ता खेल खेलिए त्यसले पनि सरकार असफल रहेकोतर्फ इंगित गर्छ । देश थप अराजकता र अस्थिरता सहन सक्ने अवस्थामा शायद छैन अब । पपेट नेतृत्वको निर्माण र स्थापित कसरी गरिन्छ भन्ने कुराको राम्रो उदाहरण युक्रेन र बंगलादेश छन् । गुलाब क्रान्ति घटित हुन कुनै आइतवार कुर्नु पर्दैन, चुट्की बजाएर गर्दिन्छन् । त्यसमा दक्षिणपन्थी तथा धार्मिक उग्रवादको हावा मिसिन गयो भने राजनीति नियन्त्रणभन्दा बाहिर जान्छ भन्ने कुरा छिमेकीको हालतबाट थाहा हुन्छ । अगाडि आएर काठमाडौँं नियन्त्रणमा लिने कुराको पहलकदमी इमान्दार वामपन्थीले लिनुपर्छ । दक्षिणपन्थीको हातमा राजनीति सुम्पिने गल्ती असल वामपन्थीबाट गरिनु हुँदैन । पार्टी राजनीतिबाट माथि उठ्ने समय आइसकेको छ । 

नयाँ बाटो हिँडेर मात्रै नयाँ गन्तव्यमा पुग्न सकिन्छ । समाजवाद हाम्रो नयाँ गन्तब्य हो । तर, अहिले हामी हिँडिरहेको राजनीतिको बाटो भनेको फराकिलो वैश्विक पुँजीवादी बाटो हो । यो अन्तै जाने बाटो हो । भ्रष्टाचार कम गर्न नसक्ने, महँगी कम गर्न नसक्ने, ठगी रोक्न नसक्ने, घुस रोक्न नसक्ने, यस्तो राज्य सरकारलाई समर्थन गरेर बस्नु भनेको आफैँले आफ्नै खुट्टामा बञ्चरो हानेजस्तो हो । आफ्नै वर्ग परिवर्तनको उद्देश्य राखेकाहरूलाई अबको हाम्रो राजनीतिमा स्थान दिनु हुँदैन । हामी सबै एकताबद्ध हुनुको विकल्प छैन । यो एकताको अभियानलाई लिड गर्न जो अघि आउँछ ऊ नै देशको अबको नेता हो । वर्गशत्रु सफाया गरेर, जनयुद्धबाट सत्तामा आएर अहिले आफैँ त्यही वर्गमा उक्लिएकाहरूबाट वामपन्थी राजनीतिको नेतृत्व हुन असम्भव रहेको कुरा प्रमाणित नै भएको छ ।

टिप्पणीहरू