कुन–कुन मन्त्रीको आयु अब कति ?

कुन–कुन मन्त्रीको आयु अब कति ?

‘आलोपालो प्रधानमन्त्री’लाई सहमतिको मुख्य आधार बनाएर गठित केपी शर्मा ओली नेतृत्वको दुई दलीय सरकारमा मन्त्री पनि आलोपालो गरिने भएको छ । प्रतिनिधि सभाको बाँकी अवधि आलोपालो सरकार चलाउने र पहिलो कार्यकाल ओलीले खाने गत वर्ष असार १७ गतेको सहमतिबमोजिम अहिले दुई पार्टीको सरकार शंका, तानातान र घुर्कीका बलमा चलिरहेको छ ।

एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गरेको छ भने कांग्रेसबाट एक उपप्रधानसहित १० जना मन्त्री छन् । दुई पार्टीका शीर्ष नेताबीच भएको ७ बुँदे सहमति संविधान संशोधनको मुख्य बुँदाबाहेक खुरुखुरु पालना हुँदा अर्को वर्ष असारसम्म ओली नै नेतृत्वमा हुनेछन् । तर, मन्त्रीमा भने भाग पुर्‍याउनका लागि पुरानालाई बिदा गरेर नयाँलाई ल्याउने तयारी छ ।

कांग्रेस संसदीय दलको पछिल्लो बैठकमा सभापति देउवाले उक्त कुराको खुलासा गरेका थिए । सरकारको कामकारबाही र मन्त्रीहरूको प्रस्तुतिबारे प्रश्न उठेपछि जवाफ दिँदै भने – ‘एक वर्षपछि सबै नयाँ पठाउने हो, चिन्ता नगर्नू ।’ गत वर्ष असार २८ गते प्रधानमन्त्री ओलीले शपथ लिएको पाँच दिनपछि साउन २ गते क्याबिनेटले पूर्णता पाएको थियो । शिक्षामन्त्री रघुजी पन्तबाहेक बाँकीको कार्यकाल आउँदो साउनमा एक वर्ष पुग्दैछ । भनिँदै छ, कांग्रेसले सरकारमा पठाउने बेला नै एक वर्षका लागि भनेर पठाएकाले साउनपछि पूरै सेट हेरफेर हुने सम्भावना छ ।

त्यसो त, तीन ‘ऊ’ अर्थात् ऊर्जा, उद्योग र उड्डयनमन्त्री फेर्न ओली र देउवा सहमत भएको चर्चा चलेकै महिनौँ भइसक्यो । तर, बालुवाटारलाई खासै बतास नलाग्नुमा अस्ति सोमबार राति बैंकक हुँदै सुटुक्क टोक्यो गएकी देउवापत्नी तथा परराष्ट्रमन्त्री डा.आरजु राणा ‘फ्याक्टर’ ले काम गरेको बताइन्छ । गृहमन्त्री रमेश लेखक र आरजुलाई हटाउन देउवा तयार छैनन् । उनीहरू बाहेकलाई मात्र बिदा गरेको भए अनेक समूह र गुटमा विभक्त कांग्रेसभित्र किचलो चर्किने अवस्था थियो । त्यो देखेर मन्त्री फेर्ने निर्णयबाट पछि हटेका देउवाको आग्रहमा प्रधानमन्त्रीले क्याबिनेट पुनर्गठन रोकेका हुन् ।

ओली क्याबिनेटका केही मन्त्री विवादित छन् भने अधिकांशको कार्य सम्पादन औसतभन्दा निकै तल छ । ऊर्जा, जलस्रोत तथा सिँञ्चाइमन्त्री दीपक खड्का सबैभन्दा विवादमा परेका ब्यापारी र ठेकदार हुन् । कुलमान प्रकरण हुँदै हाइड्रो कम्पनीहरूको लाइसेन्स, ठेक्का आदिमा अनियमितता गरेको आरोप लागेका र लोडसेडि¨को लागि जिम्मेवार उनैका कारण सरकार बदनाम भएको प्रधानमन्त्री ओलीको बुझाइ छ । स्रोतका अनुसार अब हुने फेरबदलबाट हट्नेको सूचीमा खड्काको नाम १ नम्बरमा छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलप्रति पनि कांग्रेसमा असन्तुष्टि छ । युवा र शालीन व्यक्तित्वको छवि बनाएका यी दुई प्रचण्ड विवादमा नपरे पनि कार्य सम्पादनमा कम अंक ल्याएको कारण हटाइने सूचीमा छन् । दुई महिना पहिले नै हटाउन लागेकोमा आरजु र रमेश लेखकको समेत पद धरापमा पर्ने भएपछि जोगिएका खड्का, पाण्डे र पौडेलले साउनमा हुने भनिएको क्याबिनेट हेरफेरपछि भने निरन्तरता पाउने सम्भावना देखिँदैन । 

एमालेमा भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ‘डेञ्जर जोन’ मा छन् । प्रधानमन्त्री ओलीले यी दुईलाई अस्ति नै हटाउन चाहे पनि कांग्रेसका सहितलाई एकैचोटि गर्ने समझदारीपछि रोकिएको बताइन्छ । सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने संकेत गर्दै निजामती विधेयक पारित गर्ने दिन राज्यव्यवस्था समितिको बैठकमै पठाइएन । कर्मचारीसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न बसेको समितिको बैठकमा विभागीय मन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले शिक्षामन्त्री रघुजी पन्तलाई चिठी लेखेर पठाएका थिए । देउवाले साउनमा क्याबिनेट हेरफेर हुने खुलासा गरेसँगै कांग्रेसमा मन्त्रीका आकांक्षीहरूले भित्रभित्रै लबिङ शुरु गरिसकेका छन् ।

जानकार स्रोतका अनुसार ओली सरकारमा प्रतिनिधित्व गर्ने कांग्रेसका ९ मध्ये ७ (आरजु र लेखकबाहेक) मन्त्री फेरबदल हुँदा आन्तरिक समीकरण मिलाउने नाममा मञ्जु खाँणलाई मन्त्री बनाइने सम्भावना छ । संसदीय दलमा गगन र शेखर मिलेर चुनौती दिएको अवस्थामा मुखमा आउनै लागेको प्रधानमन्त्री पद फुस्किने चिन्तामा रहेका देउवाले बालकृष्ण खाँणलाई नजिक राख्न त्यस्तो रणनीति बनाएको बुझिन्छ । संसदीय दलमा ५ देखि ७ जना सांसद यताउता पार्न सक्ने हैसियतका बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा नजोगाएको रिसले गुट फेरेर शेखरतिर लागेको चर्चा छ ।

उनै खाँणपत्नी मञ्जुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता छानबिन गर्ने जिम्मेवारी सुम्पिनुको कारण पनि त्यही हो भनिँदै छ । एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले छोडेपछि आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकले उनलाई अनियमितता छानविन उपसमितिको संयोजक तोकेको हो । तर, मञ्जु आफैँ अख्तियार र सम्पत्ति शुद्धीकरणको छानबिन दायरामा रहेकी पात्र हुन् । तत्कालीन समय पति एवं पूर्वगृहमन्त्री बालकृष्ण पक्राउ परेसँगै उनी केही समय फरारसमेत बनेकी थिइन् । उक्त प्रकरणमा पक्राउ परेका आरोपितले आरजू र मञ्जुलाई करोडौं बुझाएको बयान दिएका थिए ।

कांग्रेस संस्थापन खेमाका एक नेताको दाबीअनुसार बालकृष्णलाई संसदमा ल्याउन दीपक बोहोरा बितेपछि रिक्त  रूपन्देही–२ मा उठाइने झिनो सम्भावना पनि छ । ललिता निवास जग्गा काण्डमा मुद्दा विचाराधीन रहेका बेला विजय गच्छदार उठ्न हुने, बालकृष्णले किन नपाउने ? एकथरीले यस्तो तर्क गर्न थालिसकेका छन् ।

यता, टेरामक्स घोटालामा मोहनबहादुर बस्नेतविरुद्ध मुद्दा चल्दा त्यसैमा नाम जोडिएका कांग्रेसका ज्ञानेन्द्र कार्की र एमालेका गोकुल बाँस्कोटा भने ‘जोगिएका’ छन् । देउवा गुटबाट उछिट्टिएर शेखर कोइरालातिर पुगेका बस्नेतलाई अख्तियार लगाएर कार्की र बाँस्कोटालाई ‘दलीय भागबण्डा’ मा उम्काइएको दाबी गर्नेहरू भन्छन्, ‘ज्ञानेन्द्र शेरबहादुरको अनि गोकुल विद्या भण्डारीको संरक्षणमा जोगिएका हुन् ।’ तर, के पनि भनिन्छ भने गत चुनावमा काठमाडौँमा प्रत्यक्षतर्फ जित्ने एक मात्र सांसद कृष्णगोपाल श्रेष्ठलाई विद्यापट्टि लागेकाले मन्त्री नबनाएर १० भाइ समूहका रघुजीलाई ल्याएका प्रधानमन्त्री ओलीको प्रहारको घानतालमा गोकुल पर्ने खतरा टरिसकेको छैन । 
 

टिप्पणीहरू