असोजको घाउ नमेटिँदै मनसुन, सरकारी पूर्वतयारी सुनसान
नेपालीमा एउटा चर्चित उक्ति छ, ‘१२ वर्षपछि बगेको खोला पनि फर्कन्छ ।’ चार दशकयता सुस्त बगेको ललितपुरको नख्खु खोला गत असोजमा तीन दिन लगातार परेको वर्षापछि उग्र बन्यो । एकाएक बाढी आउँदा खोलाले डरलाग्दो रुप लियो ।
बाढी घरभित्रै पस्दा सयौं घरबारविहीन भए भने नख्खु खोला किनारमा टहरामाथि चार जना उद्धार पर्खिएर बसेको र पछि बगेको दृश्य अझै धेरैको मानसपटलमा ताजै छ । असोजमा आएको बाढी, पहिरो र डुबानले देशभर धेरै क्षति पुर्यायो । लगातार तीन दिनको पानीले निम्तिएको बाढी, पहिरो र डुबानमा परेर सयौंले ज्यान गुमाए । अर्बौकोे क्षति भयो ।
त्यो घाउ मेटिन नपाउँदै यो वर्षको मनसुन शुरु हुन लागेको छ । मनसुन अघिको सरकारी संयन्त्रको पूर्वतयारी भने फितलो देखिन्छ । यसकारण यो वर्ष पनि मनसुनमा ठूलो धनजनको क्षति हुने चिन्ता बढेको छ ।
विगतको तुलनामा यो वर्ष दुई साता छिटो मनसुन भित्रिने जल तथा मौसम विज्ञान विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जेठ ३० गते भएपनि यसपालि जेठ तेस्रो सातामै आइपुग्ने बताइन्छ ।
महाशाखाका अनुसार भारतको आसामका केही भूभाग तथा भुटान र बंगलादेशको पूर्वी भू–भागमा मनसुन प्रवेश गरिसकेको छ । भू–उपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्याङ्कको विश्लेषणको आधारमा नेपालको पूर्वी भू–भागमा पनि केही दिनभित्रै मनसुन भित्रिने अनुमान महाशाखाले गरेको हो ।
यो वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा र निकै गर्मी हुनेसमेत जनाइएको छ । देशभर कतै ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत बढी वर्षा र गर्मी हुने प्रक्षेपण महाशाखाको छ । यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनजन्य विपद्बाट मुलुकभर झण्डै २० लाख जनसंख्या प्रभावित हुने अनुमान गरेको छ ।
अस्ति सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गर्दै देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या मनसुनजन्य विपद्बाट प्रभावित हुने र यसमध्ये १० प्रतिशतलाई प्रत्यक्ष असर पर्ने आकलन गरेको छ ।
यो वर्ष तीन प्रदेशमा अधिक वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कर्णाली प्रदेशको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीको अधिकांश भू–भागमा सरदरभन्दा ५५ देखि ६५ प्रतिशत बढी वर्षा हुने सम्भावना छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी, लुम्बिनीको पश्चिमी, गण्डकीको उत्तर–पूर्वी, बागमती र कोशीको उत्तरी भू–भागमा औसतभन्दा ४५ देखि ५५ प्रतिशत बढी पानी पर्ने छ । मधेशका पूर्वी तथा दक्षिण भू–भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । महाशाखाले मुलुकका बाँकी भूभागमा ३५ देखि ४५ प्रतिशत बढी पानी पर्ने पनि जनाइएको छ ।
छ प्रदेशमा धेरै गर्मी
यो वर्ष देशभरको तापक्रम सरदरभन्दा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसमध्ये सात प्रदेशमध्ये छ प्रदेशमा अत्यधिक गर्मी हुने सम्भावना छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी, कर्णालीको उत्तरी, लुम्बिनीको उत्तरी, गण्डकीको पश्चिमी, मधेशको पश्चिमी र बागमतीको मध्य भू–भागमा औसतभन्दा ५५ देखि ६५ प्रतिशत बढी तापक्रम रहने अनुमान गरिएको छ ।
यस्तै, मधेशको पूर्वी र गण्डकीको मध्य भूभागमा सरदरभन्दा ३५ देखि ४५ प्रतिशत तथा देशका बाँकी भूभागमा ४५–५५ प्रतिशत बढी तापक्रम रहने सम्भावना छ ।
गत वर्षको मनसुनमा अधिक क्षति
गत वर्ष मनसुनमा प्राकृतिक प्रकोपले भयावह रुप लिँदा छ वर्षयताकै बढी मानवीय क्षति भएको थियो । मनसुन सकिनै लाग्दा असोजमा बाढीको भेल आउँदा देशभर जनधनको ठूलो क्षति हुनपुग्यो । २०७७ सालयताकै सबैभन्दा धेरै मानवीय क्षति पोहोर भएको थियो ।
गत वर्ष मनसुन तीन दिन चाँडै शुरु भएर १० दिन ढिलो बाहिरिएको थियो । ०८१ जेठ २८ गतेदेखि असोज २६ गतेसम्म मनसुन सक्रिय हुँदा सरदरभन्दा बढी वर्षा भयो । जल तथा मौसम विज्ञान विभागको विश्लेषणअनुसार गत वर्ष ७७ वर्षयताकै सबैभन्दा धेरै पानी परेको थियो ।
अविरल वर्षाका कारण असारमा गएको पहिरोले चितवनको सिमलतालमा दुईटा यात्रुवाहक बस बगाउनुदेखि सोलुखुम्बुको थामेमा हिमताल विस्फोट र देशभरका अधिकांश स्थानमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का घटनाले मानवीय र भौतिक क्षति ठूलै भयो ।
गत वर्ष मनसुनजन्य विपदमा चार सय ९५ जनाले ज्यान गुमाएका थिए । तीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा दुई सय ७६ जनाको निधन भयो । सबैभन्दा कम मधेशमा १६ जनाको मृत्यु भएको थियो ।
मुलुकमा मनसुनजन्य विपद्का घटनामा परेर पाँच सय २२ जना घाइते हुनुका साथै ६६ जना बेपत्ता भएको रेकर्ड छ । गएको वर्ष मनसुनजन्य घटनाका कारण देशभर ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको भौतिक क्षति पुगेको सरकारी आँकडामा उल्लेख छ ।
मनसुनको शुरुवातको कोशी प्रदेशका पहाडी जिल्लामा क्षति पुग्दा अन्त्यतिर असोज १० गतेदेखि १३ गतेसम्म लगातार परेको वर्षाले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सबैभन्दा बढी धनजनको क्षति भयो । तीन दिनको मुसलधारे वर्षाले दुई सय ५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता भए । एक सय ७८ जना घाइते भएका थिए ।
सरकारको ध्यान पूर्वतयारीमा भन्दा राहतमा बढी
प्राकृतिक प्रकोपको उच्च जोखिम मानिएका देशहरुमध्ये नेपाल पनि एक हो । वर्षेनी मनसुन शुरु हुनेबित्तिकै मुलुकमा बाढी, पहिरो, चट्याङजस्ता प्रकोपका घटनाले वितण्डा मच्चाउने गरेको छ । जसले गर्दा हरेक वर्ष वर्षायाममा ठूलो मानवीय र भौतिक क्षति हुने गर्दछ ।
विडम्बना, पूर्वचेतावनीका बाबजुद हुँदै आएको व्यापक धनजनको क्षतिले तीनै तहका सरकारको प्रकोप न्यूनीकरण र पूर्वतयारीमा प्रश्न उठाएको छ । संविधानले तीनै तहका सरकारलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति निर्माण गर्ने अधिकार दिएतापनि कस्तो अवस्थामा कुन तह नेतृत्वसहित अग्रसर हुने भन्ने अन्योल कायमै छ ।
अर्कोतिर, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयमा देखिएको कमीले पनि विपद् व्यवस्थापनमा नकारात्मक असर पारेको छ । विपद् व्यवस्थापनको विद्यमान नेपाली अभ्यास मुख्यतया जोखिम न्यूनीकरण र पूर्वतयारीको सट्टा विपद्तर्फको राहत र उद्धारमा केन्द्रित रहेको डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले केही समयअघि तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
लेखिएको छ, ‘नेपालले २०७२ सालमा नयाँ संविधान लागू गरी केन्द्रित एकात्मक संरचनाबाट संघीय शासन प्रणालीमा जाँदै गर्दा धेरै चूनौतीहरुको सामना गरेको छ । तीमध्ये एउटा प्रमुख विषय कमजोर समन्वय प्रणालीका कारण भएको अधिकार हस्तान्तरणको समस्या हो र यही कारणले विपद् व्यवस्थापन पनि कमजोर बनेको छ । विपद् व्यवस्थापनको विद्यमान संरचना मुख्यतया जोखिम न्यूनीकरण र पूर्वतयारीको सट्टा विपद्पछिको राहत र उद्धारमा केन्द्रित छ ।’
मुलुकमा तीव्र शहरीकरण, उचित योजना र वातावरणीय जोखिम अध्ययनबिना विस्तारित ग्रामीण सडक सञ्जाल, कमजोर भूउपयोग योजना, न्यून आय, तीव्र वन फँडानी र अपर्याप्त तयारीका कारण विपद्का घटना र असर बढ्दै गएको डीआरसीएनको ठहर छ ।
विपद् जुनसुकै बेला आउन सक्छ, तयारी अवस्थामा बस्न जरुरीः मौसमविद्
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर मनसुन सिजनमा प्राकृतिक विपद् जुनसुकै बेला पनि हुनसक्ने भएकाले पहिल्यै तयारी अवस्थामा बस्नुपर्ने बताउँछिन् । उनका अनुसार मुलुकमा ८० प्रतिशत वर्षा मनसुनको सिजनामा हुने गरेको छ । त्यस्तै, १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्का घटना मनसुनमा हुन्छन् ।
मानन्धरले भनिन्, ‘यो बेलामा पहिरो जाने, बाढी आउने, धेरै जोखिम हुने, धनजनको क्षति हुने र धेरै विपद् आइपर्ने भएकोले यसको लागि तयार भएर बस्नुपर्छ । हामीले अगाडी नै एक्सन लियौँ भने ज्यान, धनको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।’
विभागकी अर्की वरिष्ठ मौसमविद् विभूति पोखरेल यो वर्ष पनि गत वर्षझैं सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेकोले पूर्वतयारीमा ध्यान दिन र आम नागरिक पनि सतर्क रहन आवश्यक रहेको बताउँछिन् ।
यो वर्ष क्षति हुन नदिने सरकारी दाबी
गत वर्ष फितलो पूर्वतयारीकै कारण मनसुनजन्य विपद्बाट दशकयताकै ठूलो परिमाणमा जनधनको क्षति भएकोमा यसपालि त्यो नदोहोरिने सरकारी निकायको दाबी छ । सरकारी स्वामित्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालि मनसुनजन्य विपद्बाट हुने क्षति गएको वर्षभन्दा न्यून हुनेगरी पूर्वतयारी गरिएको दाबी गरेको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसी मनसुनमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरेर अघि बढ्ने निर्णय भएको बताउँछन् । मनसुनको पूर्वतयारीबारे चैतदेखि नै छलफल थालेको र पूर्वतयारी कार्ययोजनासमेत पारित गरेको जनाउँदै उनले भने, ‘कार्ययोजनामा सम्भावित जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार, राहत सामग्री भण्डारण, डोजर, एक्स्काभेटर तयारी अवस्थामा राख्नेजस्ता विषय छन् ।’
उनका अनुसार गत वर्षको बाढी र डुबानबाट पाठ सिक्दै त्यस्ता घटना दोहोरिन नदिन साँघुरो ठाउँमा भएको अवरोध समयमै हटाउने निर्णयसमेत भएको छ । त्यस्तै, विपद्मा तत्काल उद्धारका लागि खटिन सुरक्षा निकाय परिचालन र पीडितलाई तुरुन्त राहत उपलब्ध गराउने व्यवस्थासमेत गरिसकेको प्रवक्ता केसीको भनाइ छ । उनले मनसुनको समयमा सरकारी संयन्त्र मात्र लागेर नहुने र नागरिक पनि सचेत हुन आवश्यक रहेको बताए ।
‘मनसुनमा जुनसुकै बेला पनि घटना घट्न सक्छ । यस्तो अवस्थामा सरकारी संयन्त्रबाहेक नागरिक तह पनि सचेत हुन आवश्यक छ,’ प्रवक्ता केसीले भने, ‘सरोकारवाला निकाय वा सञ्चार माध्यममा आइरहेका पूर्वसूचनासित अपडेट रहिरहनुपर्छ । खतरा महसुस भएमा एउटै ठाउँमा बसिरहनुभएन ।’
टिप्पणीहरू