भाषण एकातिर, यथार्थ अर्कैतिर

भाषण एकातिर, यथार्थ अर्कैतिर

प्रधानमन्त्री केपी शर्मा ओलीले अढाई सय वर्षको राजतन्त्रात्मक शासन व्यवस्थामा हुन नसकेको विकास गणतन्त्र स्थापनाको १७ वर्षमा भएको दाबी गर्नुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातालगायतका क्षेत्रमा आएको परिवर्तनको मुख्य कारण नै गणतन्त्र भएको बताउनुभयो । राजतन्त्रमा सिंहदरबार र नारायणहिटीसम्म नागरिकको पहुँच पुग्न नसकेको उल्लेख गर्दै प्रम ओलीले अहिले त्यो अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

‘राजतन्त्रमा जनताले सिंहदरबार र नारायणहिटीलाई गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन्’, उहाँले भन्नुभयो, ‘गणतन्त्र जनताको शासन हो, उनीहरूले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा गर्छन् ।’

प्रधानमन्त्री ओलीले यसो भनिरहँदा आजैको कार्यक्रम हेर्न पुगेका सर्वसाधारणले भने टुडिँखेलमा प्रवेश पाइरहेका थिएनन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ अधिकारीको सहभागिता रहेको समारोहलाई नागरिकले बाहिरैबाट हेरिरहेका थिए । 

केही मानिस सैनिक मञ्चको पछाडि (रत्नपार्कतर्फ)को अग्लो पर्खालबाट चिहाइरहेका थिए भने कतिपयले निकै टाढाको खुला चौर (धरहरापट्टी)बाट हेरिरहेका थिए । उक्च चौरबाट कार्यक्रमस्थल प्रवेश गर्ने मार्ग भए पनि त्यहाँ सुरक्षाकर्मी परिचालन गरेर प्रवेश निषेध गरिएको हो ।

प्रधानमन्त्री ओलीले गणतन्त्र ‘सेलिब्रेसन’ गर्दै राजतन्त्रमा जनताले सिंहरदरबार र नारायणहिटीलाई बाहिर गेटबाट हेर्नुपथ्र्यो भनिरहेको बेला सोही कार्यक्रमलाई सर्वसाधारणले पर्खालबाहिरबाट हेर्नुपरेको दृश्यले विराधाभास जन्माएको छ । 

मञ्चको पछाडिपट्टि लगाइएको अग्लो फलामको पर्खालबाट प्रधानमन्त्रीलाई नियालिरहेका एक व्यक्ति भन्दै थिए, ‘त्यहाँभित्र जान दिएको भए के हुन्थ्यो र ! गणतन्त्रले जनतालाई टाढा राखेर कार्यक्रम गर्नु त पक्कै भनेको छैन होला, जनतासँग नजिक हुने हिम्मत भए पाे त, नेताहरुको यस्तै कार्यशैलीले हो मृत राजतन्त्रले सास फेर्न थालेको !’

गत वर्ष टुँडिखेलमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली र उहाँका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो ।

 

टिप्पणीहरू