सुन्दरीलाई वेश्याको व्यवहार

विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड’मा छनोट हुनु सुन्दरीहरुको एउटा मुख्य सपना नै हुन्छ । हरेक वर्ष लाखौँ युवतीले प्रतियोगितामा छनोट हुन आवेदन दिन्छन् । तर सीमित युवतीहरुले मात्र प्रतियोगितामा सहभागी हुने अवसर पाउँछन् ।
यसैबीच छनोटका विभिन्न चरण पूरा गरेर ‘मिस वल्र्ड’मा सहभागी बनिरहेकी एक युवतीले अचानक प्रतियोगिता छाडेपछि अन्तर्राष्ट्रिय सौन्दर्यवृत्तमा यतिबेला खैलाबैला मच्चिएको छ । बेलायती सुन्दरी एवम् मिस इङ्गल्यान्ड २०२४ की विजेता समेत रहेकी मिला म्यागीले हैदरावादमा भइरहेको मिस वल्र्ड को ७२औँ संस्करणको पूर्वाद्र्धका कार्यक्रममा आफूलाई वेश्याजस्तो बनाइएको आरोप लगाउँदै प्रतियोगिता छाडेकी हुन् ।
मस वल्र्डको इतिहासमा कुनै युवतीले प्रतियोगिताको प्रारम्भिक चरणमा छाडेको यो पहिलो पटक हो । यसले म्यागीलाई चर्चामा ल्याएको छ ।
हैदरवादमा पहिलोपल्ट आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको लागि म्यागी ४ मे मा भारत आएको बताइएको छ । तर आयोजकले विभिन्न पाहुनाहरुसँग राखेर मनोरञ्जन दिन बाध्य पारेको उनको आरोप छ । ‘छ जना पाहुना बसेको टेबलमा दुई जना प्रतियोगीलाई राखिन्थ्यो, हामीलाई पूरै साँझ उनीहरुसँग बसेर रमाइलो गराउन बाध्य पारियो’, भनेकी छन्, ‘मैले प्रतियोगितामा प्रस्तुत गर्ने विषय अर्कै थियो, तर यहाँ आएपछि मलाई वेश्याजस्तो गरियो ।’
२४ वर्षीया म्यागीले आयोजकबाट राम्रो व्यवहार हुन नसकेको पनि बताएकी छन् । उनीहरुले भनेको नमानेमा झोक्किने गरेको सुनाउँदै भनिन्, ‘दिनभर गउन (लुगा) र ब्रेकफास्ट समयमा पनि मेकअपमै रहन निर्देशन दिइन्थ्यो, २४ घण्टा नै पाहुनाको अघि हामीलाई प्रदर्शनमा मात्र राखियो ।’
उता मिस वल्र्डकी सिइओ जुलिया मार्लेले भने आमा बिरामी भएपछि म्यागीले प्रतियोगिता छाडेको दाबी गरेकी छन् ।
टिप्पणीहरू