मान्छेहरुका मन नाका नाकामा मर्माहित

मान्छेहरुका मन नाका नाकामा मर्माहित

मन्दिर पस्न तयार पाउ निषेध हुँदा, तिर्खाएको घाँटी धारामा रोकिँदा, गाँसिन लागेको सम्बन्ध तोडिदिँदा, भाडामा बस्न तयार मनलाई फर्काइँदा, कस्तो हुन्छ होला ? कलिला युवाको सामुहिक हत्या हुँदा, लाश खोलामा बगाउँदा, उसको बामे सर्न खोज्ने छोराको मनमा के बित्ला ? बृद्ध आमा¬–बाको लठ्ठी कसले थमाइदेला ? परिवारको भोको पेट कसले भरिदेला ? यी जातीय विभेदको अपराध गर्ने मानिस अन्तका कोही होइनन् । यी त गाउँका आफ्नै सँधियार छिमेकी हजुरबुबाआमा, काकाकाकी, दाजुभाइ हुन् ! जसको माया लाग्छ, आफ्नै लाग्छ ।

तर, यिनले दलित समुदायलाई मनमा कहिल्यै राखेनन् । मिल्नु, जुट्नुपर्ने ठाउँमा विभेदकारी रेखाचित्र कोरिदिए । हामी यस्ता– तिमी उस्ता, वरपरको, मिल्ने नमिल्ने, चल्ने नचल्ने जस्ता ढोगी कुसंस्कारी चिन्तन रोपिदिए । फलतः एउटै समाजका सह भाषी धर्मावलम्बीबीच विभाजनको बीउ रोपिदिए, बा“डिदिए ।

दिपा नेपाली, करुणा विश्वकर्मालाई कोठाबाट निस्कन बाध्य पारिन्छ । जात नमिल्ने, नचल्ने भनेर कोठाको लागि अग्रिम भुक्तानी गरिएको रकम फिर्ता गरिन्छ । नवराज बिक, सेते दमाई, मना सार्कीको निर्मम हत्या हुन्छ । 

भारतीय र नेपाली समाजले अँगालेको जात व्यवस्थाले समाजमा विभेदको ठूलो खाडल खनिदिएको छ । जसकारण दिपा नेपाली, करुणा विश्वकर्मालाई कोठाबाट निस्कन बाध्य पारिन्छ । जात नमिल्ने, नचल्ने भनेर कोठाको लागि अग्रिम भुक्तानी गरिएको रकम फिर्ता गरिन्छ । नवराज बिक, सेते दमाई, मना सार्कीको निर्मम हत्या हुन्छ । केही साताअघि नेपालीमूलका उबर चालक शुभाकर खड्कालाई एशियाली मूलको भएको आधारमा अमेरिकी महिला समूहले गालीगलोज गरेको भिडियो भाइरल भएको थियो । बेलायती राजपरिवारमा पनि रङ्गभेदी टिप्पणीका कारण युवराज ह्यारी र श्रीमतीले दरबार त्यागेका छन् ।

पश्चिमा मुलुकमा वर्णको आधारमा गरिने विभेद दरबारदेखि रेल स्टेशन, स्कूल कलेजमा समेत जीवित छ । रुकुम सामुहिक हत्याकाण्ड, अंगिरा पासी, सेते दमाई, मना सार्कीको हत्याजस्ता धेरै घटना नेपाली समाजमै घटेका छन् । यी तमाम घटनाको मूल जड भनेको तल्लो जातका विरुद्ध हुने हिंसा, अपराध, अत्याचार र पाप हो ।

कानुनी उपचारको सट्टा ‘भैगो नि’, जिउँदाको जन्ती मर्दाका मलामी, वल्लोपल्लो घर, छिमेकी मिल्नुपर्छ जस्ता कुतर्कले जातीय छुवाछूतका घटनालाई ढाकछोप गराइन्छ । अपराधीलाई सजायको ठाउँमा सरल उन्मुक्ति दिने अभ्यास शिक्षित जनशक्तिबाट हुने गरेको छ । अर्कोतिर दलित समुदाय पनि समाजको डरले, धम्कीले जातीय छुवाछूतजस्तो जघन्य अपराध सहन बाध्य छ । 

कैलालीकी दिपा नेपाली, दोलखाकी करुणा विश्वकर्माले आफूमाथि भएको विभेदविरुद्ध दिनहुँ अदालत धाउने आँट देखाए । तर, धेरै दलित कुटपिट हुने, मारिने, बहिष्कारमा परिने ढरले विभेदविरुद्ध बोल्न डराउने गरेका छन् । अब दलित समुदायले विवशतालाई विजयमा परिणत गर्नुपर्छ ।
नेपाली दलित समुदायसँग करिब साठी लाख जनताको आवाज छ । कूल जनसंख्याको करिब १३% जनसंख्या दलित समुदायले ओगटेको छ । हिमालदेखि तराईसम्म छरिएको बसोबास छ । संयुक्तरूपमा दलित समुदाय जाग्ने हो भने राज्यको कुनै पनि तागतले रोक्न सक्दैन । 

भलै राज्यको प्रत्येक राजनीतिक रूपान्तरणमा दलित समुदायको उपस्थिति र बलिदान योगदान छ । सात दशकयता दलित समुदाय सामाजिक स्वतन्त्रता तथा आत्मसम्मानकोलागि राजनीतिक तवरमा लड्दै आएको छ । तर, राज्य संयन्त्रमा भने दलितको उपस्थिति एकदम झिनो छ । आज पनि प्रमुख राजनीतिक दलका मुख्यमुख्य पदमा दलित समुदायलाई स्थान छैन । जसको प्रत्यक्ष असर नीति निर्माण तहमा देखिएको छ । अर्कोतर्फ मलाई अधिकार चाहियो, अब त अति भयो भनी प्रतिप्रश्न गर्ने जनसंख्या कम छ । 

स–साना राजनीतिक मुद्दामा सडकमा आगो बाल्ने युवा दलितका मुद्दामा रमिते हुन्छ । दलितमाथि भएका विभेदका घटनामा बोल्दैन । त्यसबखत उसलाई जातका कुरा मनपर्दैन । 

दलित समुदायमाथि अमानवीय गतिविधि बढ्नुमा रमिते गैरदलित समुदाय जिम्मेवार छ । आजको मितिसम्म जातीय छुवाछूत विरुद्ध कति गैरदलितले आवाज उठाए ? जातीय छुवाछूतजस्तो अपराध अभ्यास गर्नेका विरुद्ध कति छिमेकीलेसाथ दिए, न्यायको पक्षमा बोले ? अब गैरदलित समुदायले ‘पाप छान्ने कि पाप फाल्ने’ बीच रोज्ने बेला आएको छ । अब संयुक्त लडाइँको आवश्यक छ । अन्यथा रुकुम घटना दोहोरिनेछ । भेरीमा कलिला युवालार्इ डोरीले बाँधिएका लास बगिरहने छन् ।

तुलनात्मक रूपमा हिजोभन्दा आज विभेदका घटनामा कमी देखिएपनि छुवाछूत यथावत छ । कयौं स्थानमा अझैसम्म धार्मिक कार्य तथा मठमन्दिर, धारामा निषेध छ । अन्तरजातीय प्रेमले कतिको ज्यान लिएको छ । कति विस्थापित भएका छन्, कथित दलित भएकै कारण ! गैसस र राजनीतिक दलका भातृ संगठनले घटनापश्चात् दुईचार दिन सडकमा नारा लगाउँछन् । मिडियाले जातीय विभेदका घटनालाई स्थान दिन्छ । तर गैरदलित समुदायमा दलितमाथि थिचोमिचो गर्दा फरक नपर्ने रहेछ भन्ने अहंकारी सोच स्थापित भएको देखिन्छ । त्यस्ता विभेदकारी मानसिकता विरुद्ध संयुक्तरूपमा दलित समुदायको आवज सुनिंदैन, विद्रोह देखिदैन । 

दलित नेतृत्वमा सामाजिक, धार्मिक र राजनीतिक तवरमा विद्रोही भावको एकदम कमी छ । चुनावताका दलितका भोटले जित हारमा अहम् भूमिका खेल्ने गरेको छ । क्याबिनेटमा होस् या केन्द्रीय कमिटीमा दलित प्रतिनिधित्व सधैं कम हुने गरेको छ । यति हुँदाहुँदै पनि दलित नेतृत्वले कहिले विद्रोह गरेन । जे भूमिका पायो त्यसैमा चित्त बुझाएर बस्यो । अब विभेदविरुद्ध चेतावनी दिनुपर्छ । 

दलितमाथि हुने विभेदविरुद्ध गैरदलित बोल्नुपर्छ, लड्नुपर्छ । चुपचाप बस्ने परिपाटी त्याग्नुपर्छ, सहीलाई सही, गलतलाई गलत भन्ने आवज बढ्नुपर्छ । जसरी मार्टिन लुथर किङले सपना देखेका थिए त्यस्तै सपना आम नेपालीले देख्न आवश्यक छ । अन्यथा रुवाण्डा इराकको चित्र नेपालमा नदेखिएला भन्न सकिन्न ।
 

टिप्पणीहरू