प्रधानमन्त्रीले विद्वानहरुसँग बसिबसी डिग्री मागेपछि...

प्रधानमन्त्रीले विद्वानहरुसँग बसिबसी डिग्री मागेपछि...

‘नपढी नियुक्ति खाएको हो ? छैन डिग्री ? एउटाले पढ्ने– अर्कोले सरासर जाने हो । पढ्न जानिएको छ होला नि ? मैलेजस्तो गर्नुस्, कसरी पढ्न थाल्या ?’ विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथकै क्रममा शनिबार (फोटो भाइरल छ) प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘उहिले पो अनेकथरि, निरक्षर र आँखा नदेख्ने पनि नियुक्त हुन्थे र दुई तीन शब्दले भनाउन पर्थ्याे । राम्रो बुझ्दैन थिए । तिनले एक एक लाइन भनेर शपथ खाने अभ्यास थियो । सबै शिक्षित भएपछि किन जम्मै पाना पाठ गराउने ?’

शनिबार बिदाको दिन पनि सरकारी निवासमा आफैंद्वारा नियुक्त विश्वविद्यालयका पदाधिकारीलाई डिग्री छैन भन्दै हुर्मत लिएको र शपथका बेला गजधम्म परेर सोफामा बसेको प्रधानमन्त्रीको फोटो चर्चाको शिखरमा छ । नवनियुक्त अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा.डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिँदाको माहोल भने अर्कै बनिदियो । 

नयाँ व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई शपथ खुवाए । कार्कीले कुलपति ढुंगेललाई शपथ खुवाउँदासम्म स्थिति ठीकैजस्तो थियो । तर ढुंगेलले चेम्जोङलाई शपथ गराउँदा भने वातावरण रसपूर्ण  बनेको सचिवालय स्रोत बताउँछ ।

चेमजोङलाई शपथ गराउने रमेश ढुंगेलले सानो स्वरमा बोल्न थाले । राष्ट्रपति विद्या भण्डारीले शपथ खुवाउँदा त ‘त्यो पर्दैन’ भन्ने ओली के कम ! ‘म भन्ने हो (आफ्नो नाम लिने), बाँकी सबै आफैं पढ्ने हो । मैले हिजो गरेजस्तो पर्दैन स्टाइलमा दिनु न । विद्वान् र जान्नेहरूले सबै पढ्ने होइन क्या’ भन्दै ओलीले प्राज्ञिकहरूलाई नै पढाइदिए । 

रमेश ढुंगेलले विस्तारै शपथ गराउन खोजे । तर लिम्बूको छोराले कराइकराइ मज्जासँग सबै ब्यहोरा पढिदिए । टियुमा पढाएका, पूर्वको खरो पानी पिएका अनि झर्रो मिजासमा कडा बोली बोल्ने चेमजोङको शैलीले प्रधानमन्त्रीलाई छोएछ । अनि मुन्टो बटारेर उनको मुखतिर हेरेको फोटो भाइरल हुन बेर लागेन । 

‘थाक्नुभएको थियो त्यसैले सोफामा बसेर मुन्टो घुमाउनुभयो । तर अरुले उठेर शपथ लिँदा प्रधानमन्त्री थुचुक्क बसेको र ढल्केको फोटो मात्रै फाइरल भयो ।’ साक्षी बस्नेले उठ्ने त होइन तर ओली बिहानैदेखि बाहिरका कार्यक्रममा गएकोले थाकेर सोफामा बसेको उपस्थित कर्मचारीहरुले लख काढिहाले । 

राष्ट्रपतिलाई तिमी भन्यौ, लेख्यौ भनेर पत्रकारहरुलाई शिष्टता सिकाउने ओलीको आलोचना सामाजिक सञ्जालमा शनिबारदेखि कम्तीमा तीन दिनसम्म चलिनै रह्यो । तर, ढल्कीढल्की बसेको फोटोको चर्चा अझै सेलाएको छैन । 

‘बूढा ढल्की ढल्की बसेर हेरे भनी ट्रोल भएका छन् । सबैलाई बोल्न र लेख्न सिक भन्ने तर उपकुलपति र रजिष्ट्रारको शपथमा गजधम्म बस्ने अनि उल्टै डिग्री छैन भनेर आलोचना गर्ने ?’ स्रोत भन्छ, ‘कोल्टेर, ढल्केर यस्सो मुन्टो बटारेर हेर्ने भन्दै बबाल भाइरल भएका छन् । कार्कीले ढुंगेललाई शपथ गराउँदा पनि ओलीले केहीबेर मजाकपूर्ण शब्द बोल्दा शपथस्थलमा हाँसो छाएको थियो । त्यसो त सबै शिक्षित भएपछि किन पाठ गराउने भन्ने उनको भनाई सत्यको नजिक नै देखिन्छ । ‘अमेरिकाजस्तो शिक्षित देशमा पनि न्यायाधीशले यताबाट भन्ने र राष्ट्रपतिले उताबाट पूरै व्यहोरा पढ्ने अभ्यास छ,’ स्रोत भन्छ ।

पार्टी निकट वन उपभोक्ता महासंघसहितद्वारा आयोजित दोस्रो राष्ट्रिय वन सम्वद्र्धन गोष्ठीबाट ओली सोझै बालुवाटारको शपथमा पौने १ बजेतिर आउँदाको घटना यसरी भाइरल बनेको हो । ‘फेकोफनको ठूलो कार्यक्रम बूढानीलकण्ठको पार्क भिलेजमा थियो । त्यो वन उपभोक्ता महासंघ एनजिओतिर एमालेको ठूलो संस्था हो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री बिहान ब्रेकफास्ट लिनुहुन्न होला । कार्यक्रम सकाएर पौने एक बजेतिरमात्रै फर्किनुपरेपछि थाकेको र गलेको जस्तो देखिन्थ्यो । त्यसै कारण सोफामा ढल्किएको भन्ने धेरैलाई लाग्यो ।’ ढुंगेल इतिहासविद्, पुराना प्रोफेसर, कोलम्बियामा रिलिजियस स्टडिजका पिएचडी होल्डर हुन् ।

यसमा कुलपति, सहकुलपति भन्ने हुँदैन । रेक्टर पनि राखिन्न । कोशी प्रदेश सरकार र अरुण उपत्यकाका १९ वटा पालिकाबाट यो विश्वविद्यालयको सञ्चालक समिति बन्छ । धनकुटाको तीनवटा, भोजपुरमा अरुण नदी बगेको साइडका ६ वटा, संखुवासभातिर अरुण नदीले छोएको १० वटा स्थानीय सरकार गरी १९ वटा पालिकाबाट यसको सञ्चालक समिति गठन हुन्छ । जसमा आयुर्वेदका प्रोफेसरहरूको, शिक्षा मन्त्रालय, प्रदेश सरकारको प्रमुख सचिव र पालिकाका प्रतिनिधि रहन्छन् । अर्जुन कार्की निर्वाचित अध्यक्ष हो । चुनाव नहुँदासम्म उमेरका हिसाबले रमेश ढुंगेल नै अध्यक्ष थिए । 

कोरोनाकालमा हाच्छ्युँ गरेर रोग भगाउने ओलीको डाइलग भाइरल नै भएको थियो । भूगोलमा पनि आफ्नैतिरको भएकोले ओलीबाट बढी नै माया पाइने यसका सञ्चालकहरूको टिप्पणी छ । यसको छनक सरकारले नीति तथा कार्यक्रममार्फत दिइसकेको छ । बजेटकै व्यवस्था पनि भइसकेको छ कार्यालय कहाँ राख्ने टुंगो नलाग्दै । असारमा ल्याप्स हुने बजेटसमेत योगमायाको लागि तानिसकिएको छ । नवनियुक्त प्राज्ञहरूले बजेट देख्न पाएका छैनन् तर एक करोड रूपैयाँ पाउँदा उनीहरू मख्ख छन् ।  भोजपुरको दिंग्ला साइडमा २१५ रोपनी र तुम्लिङटार एयरपोर्ट नजिक २१० रोपनी विश्वविद्यालय मातहतकै छ । यसको केन्द्रीय क्याम्पस सबै त्यहीं हुनेछ । सिंहदरबार वैद्यखाना भनेजस्तै आयुर्वेदिक औषधि उत्पादन गर्ने, त्यसैमा पढाउने, औषधि बेच्ने काम पनि गर्ने तयारी छ । 

पूर्वीनेपालको भोजपुर जिल्लामा जन्मिएकी योगमाया न्यौपाने पछि विदुषीको रूपमा चर्चित हुन पुगिन् । धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्रीका रूपमा परिचित भइन् । राणाकालीन राजनीतिक र सांस्कृतिक उत्पीडनविरुद्ध योगमायाले आफ्ना साहित्यिक कृतिमार्फत योगदान दिएकी थिइन् । क्रान्तिकारी नारीहरूको प्रतीककी रूपमा रहेकी र  विसं १९२४ मा जन्मिएकी उनको ७४ वर्षको उमेरमा राणा शासनविरुद्ध सामूहिक मौन विद्रोह गर्दागर्दै अरुण नदीमा जलसमाधी भएको थियो । 
 

टिप्पणीहरू