पोहोर रोकिएको पूर्व रास्ट्रपतिको चीन भ्रमण आज बल्ल सुचारु

पोहोर रोकिएको पूर्व रास्ट्रपतिको चीन भ्रमण आज बल्ल सुचारु

सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारी निमन्त्रणमा साताव्यापी भ्रमणका लागि उहाँ आज राती बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ । 

भ्रमण दलमा मन्त्री,सांसदसहित एमाले नेताहरु पनि सहभागी हुने जनाइएको छ । जसमा उध्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ,स्थायी कमिटी सदस्य कर्ण थापा,सांसद देवी भट्टचन,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रविष्टसहित १४ जना रहने बताइएको छ । 

भ्रमणका दौरान पूर्व राष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट गर्ने तय भएको छ । चीन र नेपालबीचकाे सम्बन्ध, दुई देशका कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्ध तथा सहकार्य छलफलको मुख्य एजेण्डा रहने बुझिएको छ । 

दुई पटक मुलुकको सर्वोच्च पदमा रहेकी उहाँको शीतल निवासबाट बाहिरिएपछिको यो नै पहिलो विदेश भ्रमण हुनेछ । यसअघि गत कात्तिक मै चीन भ्रमणकाे चर्चा भए पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल समकक्षी नरेन्द्र मोदीको शपथग्रहणबाट फर्केर एमाले अध्यक्ष केपी ओलीलाई भेटी अन्तिममा रोक्न लगाइएको थियो । 

भण्डारीकै कार्यकालमा २३ बर्षपछि चिनियाँ राष्ट्रपति तहबाट सि चिनफिङको नेपाल भ्रमण भएको हो,जसलाई ७० को दशककै एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिने गरिन्छ । त्यतिबेला चिनियाँ समकक्षीलाई नेपाल भ्रमण गराउन सफल भएकोमा उहाँको प्रशंसासमेत भएको थियो । 

चीनले पनि पूर्व राष्ट्रपति भण्डारीलाई महत्व दिने गरेको धेरैको विश्लेषण छ । त्यसकारण उहाँ एमालेको राजनीतिमा फर्किने चर्चाका बीच हुन लागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । 

यता, पूर्व राष्ट्रपतिसँगै चीन जान लागेका उध्योगमन्त्री भण्डारीको एमालेभित्रैबाट आलोचना भएको छ । गत मंगलबार बसेको क्याबिनेट बैठकले 'चीनका विभिन्न कार्यक्रममा भाग लिन' भन्दै उनको भ्रमण स्वीकृत गरेको थियो । तर, पूर्व राष्ट्रपति भण्डारीले गर्ने उच्च राजनीतिक भेटवार्तामा सहभागी हुनका लागि मात्र जान लागेको बताइन्छ । 

एमाले स्रोतका अनुसार मन्त्रालयको काम प्रभावकारी नभएको र नयाँ आर्थिक वर्षको संघारमा विदेश जाँदा गैरजिम्मेवार देखिने भन्दै पार्टीका केही नेताले भ्रमणमा नजान मन्त्री भण्डारीलाई सचेत गराएका थिए । तर, पूर्व राष्ट्रपतिसँग जानको लागि उनले विभिन्न कार्यक्रमको सेड्युल देखाएर क्याबिनेटबाट भ्रमण स्वीकृत गराएको दाबी गरिएको छ ।

टिप्पणीहरू