बोल्न नपाएको रिसमा माननीयद्वारा सभापतिमाथि माइक प्रहार

बोल्न नपाएको रिसमा माननीयद्वारा सभापतिमाथि माइक प्रहार

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा 'हानाहान' भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक प्रहार गरेकी हुन् । 

बैठकमा लफडा भएको कुरा सभामुख देवराज घिमिरेले समेत थाहा पाएपछि अहिले भर्खर माननीयहरुलाई छलफलमा बोलाइएको बुझिएको छ । बैठकमा सहभागी माओवादीकी अर्का एक सांसदका अनुसार सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै कुसारीले माइक र आफ्नो अघि राखेको नेमप्लेट उठाएर हानेकी हुन् । 

यद्यपि, सभापति साहलाई नलागेको ती सांसदले जानकारी दिइन्  । उनले संक्षेपमा भनिन्,‘सभापतिलेज्यूले बोल्न अनुमति नदिएपछि माननीयज्यूले पनि पुरानो असन्तुष्टि पोख्नुभयो, कार्यक्रम र विभिन्न अनुगमनहरुमा आफ्ना मान्छेलाई मात्रै लगेर भत्ता खाने भन्दै सुनाउनुभयो, विवाद बढेपछि आक्रोशमा उहाँले माइक हान्नुभएको हो, तर लागेन ।’

लफडाको कारण लामो गलफती चलेकाले अघि नै सकिनुपर्ने बैठक अहिले पनि जारी रहेको बुझिएको छ ।

टिप्पणीहरू