मौलिक शैलीमा घर बनाउनेलाई सरकारी अनुदान
भक्तपुर नगरपालिकाले मौलिक शैलीमा घर बनाउनेलाई अनुदान सहयोग गरेको छ । नगरभित्र मौलिक शैलीमा घर बनाएका आठ घरधनीलाई पौने १५ लाख अनुदान दिइएको हो ।
मापदण्डअनुसार नियमित रुपमा घर निर्माण गरी सम्पन्न प्रमाणपत्र लिने वडा नम्बर ५ की कृष्णदेवी सिबन्जारलाई तीन लाख रुपैयाँ अनुदान प्रदान गरेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तमप्रसाद मधिकर्मीले पनि तीन–तीन लाख पाएका छन् ।
मौलिक शैलीमा घर बनाएका ५ नम्बर वडाकी मनिषा साखलाई एक लाख चार हजार ५९६ र वडा नम्बर ९ की सुमित्रा नायभा श्रेष्ठलाई दुई लाख ४४ हजार २९० रुपैयाँ अनुदान दिइएको छ । त्यस्तै, भक्तपुर-५ कै राधेश्याम तुल्सीबाख्योलाई एक लाख २१ हजार १७०, वडा नम्बर ९ का शिवप्रसाद श्रेष्ठलाई एक लाख पाँच हजार ८६ रुपैयाँ र वडा नम्बर ३ की सुलोचना धुख्वालाई तीन लाख रुपैयाँ अनुदान प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
नगरभित्र परम्परागत स्वरुपमा घर बनाएकालाई अगाडिको मोहडामा लागेको खर्चको ३५ प्रतिशत अनुदान दिने नगरपालिकाको नीतिअनुरुप काठ, इँटा र झिंगटीबापतको अनुदानस्वरुप रकम दिइएको बताइएको छ ।
टिप्पणीहरू