गणतन्त्र दिवसमा हर्क साम्पाङको भेलासँगै राजावादीहरुको आन्दोलन

गणतन्त्र दिवसमा हर्क साम्पाङको भेलासँगै राजावादीहरुको आन्दोलन

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका हर्क साम्पाङले नयाँ राजनीतिक दल खोल्ने गृहकार्य थालेका छन्  । उनले आगामी जेठ १५ गते झापाको दमकमा समर्थकहरुको भेला आह्वान गरेका हुन् । 

भेलाले औपचारिक समिति घोषणा गरेपछि देशभर अभियान चलाउने बताइएको छ । सोही समितिलाई केही समयपछि राजनीतिक दलको कमिटीको रुपमा परिणत गर्ने साम्पाङको तयारी छ । 

मेयर साम्पाङले आगामी निर्वाचनमा भ्रष्ट र दलालहरुलाई डाँडा कटाउनको लागि आफूलाई साथ दिन अपिलसमेत गरेका छन् । ‘अब दमकमा हुनेछ देश बनाउने टिम गठन’, उनले भनेका छन्, ‘म दिन्छु भिजन, योजना र नेतृत्व ! अरुले सक्दैनन्, जान्दैनन् र चाहँदैनन् !’

मेयर साम्पाङले गफाडीहरुलाई भने आफ्नो समूहमा निषेध गरेका छन् । ‘व्यापक रुपमा संगठन निर्माण र बिस्तार गरौँ, गफाडीहरुको पछि होइन, काम गर्नेहरुको पछि लाग्न अनुरोध !’, उनले थपेका छन् । 

यता राजधानीमा सोही दिनदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गर्दै छन् । त्यसको पूर्वतयारीमा भोलि भद्रकाली पीठमा तान्त्रिक अनुष्ठानसमेत आयोजना गरिँदै छ । राजावादीहरुको आन्दोलनलाई लक्षित गरेर प्रहरी हेडक्वार्टरले पनि उपत्यकाको कमाण्ड सम्हालेका इञ्चार्ज र सहइञ्चार्जहरुलाई बलियो सुरक्षा रणनीति बनाउन निर्देशन दिएको छ ।

टिप्पणीहरू