सरकारी भवन उद्घाटनमा तमासा
अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेको र सार्वजनिक पद धारण गरेको व्यक्ति सभा–समारोहमा सक्रिय हुनुलाई नैतिक रुपमा शोभनीय मानिँदैन । तर सिन्धुपाल्चोकमा उस्तै प्रकृतिका व्यक्तिलाई प्रमुख अतिथि बनाएर स्वास्थ्य चौकी भवन उद्घाटन गर्न लागिएपछि रडाको मच्चिएको छ ।
सुनकोशी गाउँपालिका–२ ठोकर्पास्थित स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटनमा भ्रष्टाचार मुद्दाका प्रतिवादीलाई प्रमुख अतिथि बनाउन लागिएको भन्दै गाउँपालिकाले ध्यानाकर्षण जनाएको छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिले नेपाली कांग्रेसका निलम्बित सांसद एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतद्वारा भवन उद्घाटन हुने भन्दै प्रचार प्रसार गरेपछि गाउँपालिकाले आपत्ति जनाएको हो ।
त्यसो त, व्यवस्थापन समितिले साताअघि नै पूर्वमन्त्री बस्नेतद्वारा भवन उद्घाटन हुँदै भन्ने व्यहोराको सूचना सार्वजनिक गरिसकेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि समितिले प्रमुख अतिथिका लागि पुनर्विचार गर्ने धेरैको विश्वास थियो । तर समितिले उनै बस्नेतद्वारा भवन उद्घाटन गराउन कस्सिएपछि आज गाउँपालिकाले एक विज्ञप्ति जारी गरेर कार्यक्रम रोक्न भनेको हो ।
पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सनाद्वारा हस्ताक्षरित पत्रमा विशेष अदालतमा मुद्दा दर्ता भएका अभियुक्तबाट उक्त भवन उद्घाटन नगराउन आग्रह गरिएको छ । ‘गाउँपालिकाको सहमति र समन्वयबिना सो भवनको उद्घाटनको प्रयास गर्नु संविधान, प्रचलित कानुन तथा स्थानीय स्वायत्तताको गम्भीर उल्लंघन हो’, पत्रमा भनिएको छ,‘ ... जबर्जस्ती उद्घाटन कार्यक्रम अघि बढाइएमा त्यसबाट उत्पन्न हुने सबै प्रकारका कानुनी, प्रशासनिक तथा अन्य जटिलताको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थाले व्यहोर्नुपर्नेछ ।’
स्वास्थ्य चौकी व्यवस्थापन समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबाट भवन उद्घाटन गराउने भन्दै कार्यक्रमको लागि गाउँपालिकाबाट एक लाख पेश्की लिइसकेको पनि पत्रमा उल्लेख छ ।
उता, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गाउँपालिका कमिटीले पनि संयुक्त विज्ञप्ति जारी गरेर बस्नेतद्वारा भवन उद्घाटन नगराउन चेतावनी दिएका छन् । तर वडाध्यक्ष समेत रहेका स्थास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर महत भने बस्नेतबाटै भवन उद्घाटन गराउने अडानमा छन् ।
बस्नेतबाटै भवन उद्घाटन गराउनुपर्ने खास कारण केही छ ? भन्ने जनआस्थाको प्रश्नमा महतले भने, ‘यो स्वास्थ्य चौकी बनाउँदा उहाँले नै दुःख गर्नुभएको हो । हामीले पहिल्यैदेखि उहाँबाट उद्घाटन गराउने भनेका थियौँ, अस्ति मुद्दा दर्ता हुनु नसोचेको भयो, तर हामी पछि हट्दैनौँ, उहाँले नै उद्घाटन गर्नुहुन्छ ।’
टिप्पणीहरू