एमाले केन्द्रीय कार्यालय निर्माण बल्खुमै गर्न अझै विन्दाको जोड

एमाले केन्द्रीय कार्यालय निर्माण बल्खुमै गर्न अझै विन्दाको जोड

नेकपा (एमाले) की निलम्बित नेत्री विन्दा पाण्डेले पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा नै बनाउनुपर्ने बताएकी छन् । आफ्नो गैरआख्यानात्मक कृति ‘भुइँमान्छेः आश्रय,सुरक्षा र सम्पर्कका सारथि’ माथि चर्चा गर्न गृहजिल्ला नुवाकोटमा आयोजित कार्यक्रममा उनले उक्त धारणा राखेकी हुन् । 

अध्यक्ष केपी शर्मा ओलीले नै शिलान्यास गरेको र भवन निर्माणका लागि हालसम्म १० करोड आर्थिक सहयोग–चन्दा उठाइएको जनाउँदै उनले नेता–कार्यकर्ताको भावना र स्वाभिमान जोडिएकाले सोही ठाउँमा भवन बनाउन आफूले अध्यक्ष ओलीलाई अनुरोध गरेको स्पष्ट पारिन् । 

मदन आश्रित स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाल बुद्धिजीवी परिषद्, नुवाकोटले हिजो आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न गत वैशाख २ गते म अध्यक्षकहाँ गएकी थिएँ, त्यहाँ आफ्नो कुरा राखेँ । हामीले पार्टी कार्यालय जाँदा ठाडो शिरले छिर्न पाउनुपर्छ । नेता–कार्यकर्ताबाट उठाइएको एक एक सय रुपैयाँबाट नै सानो घर भए पनि बनाउनुपर्छ । त्यसपछि उहाँले अलि अलि मात्र टाउको हल्लाउनुभयो ।’

उनले पार्टी जीवनमा पुरस्कार, निष्कासन,निलम्बन स्वाभाविक भएको जनाउँदै तत्कालीन नेकपा (माले) कालमा गोपाल शाक्यले राखेको विमति पनि पछि पार्टीले स्विकारेको र अहिले उनी तुलसीलाल प्रतिष्ठानको अध्यक्ष भएकोसमेत बताइन् ।

‘नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न गत वैशाख २ गते म अध्यक्षकहाँ गएकी थिएँ, त्यहाँ आफ्नो कुरा राखेँ । हामीले पार्टी कार्यालय जाँदा ठाडो शिरले छिर्न पाउनुपर्छ । नेता–कार्यकर्ताबाट उठाइएको एक एक सय रुपैयाँबाट नै सानो घर भए पनि बनाउनुपर्छ । त्यसपछि उहाँले अलि अलि मात्र टाउको हल्लाउनुभयो ।’

पार्टी स्थायी कमिटी सदस्य पाण्डेले आफूले खासगरी तत्कालीन पार्टी मालेको केन्द्रीय कमिटी बैठक बसेको झापा,मोरङ,बारा,धनुषा,महोत्तरी, धादिङ, कास्की आदि ठाउँमा नेता–कार्यकर्तालाई आश्रय, सुरक्षा र विभिन्न सम्पर्क गराइदिने निम्नस्तरका श्रमिक,महिला आदिका बारे र तिनसँग जोडिएका घटना–प्रसङ्गलाई मात्र समेटेको बताउँदै पुस्तक अङ्ग्रेजी, इबुक र अडियो बुकका रूपमा पनि आउने बताइन् । एमाले पाठ्यपुस्तकमा राखिने, प्राप्त सुझावका आधारमा केही महिनामा अर्काे संस्करण ल्याइने जानकारी दिइन् ।

कार्यक्रममा नेपाल प्राध्यापक सङ्घका पूर्वाध्यक्ष रामेश्वर उपाध्याय,एमाले स्कुल विभाग सदस्य रामशरण प्याकुरेल र साहित्यकार तथा पत्रकार श्याम रिमालले कृति समीक्षा गर्दै कम्युनिस्ट आन्दोलनका कृति धेरै भए पनि ‘भुइँमान्छे’ को चर्चा अतुलनीय रहेको बताए । उनीहरुका अनुसार उक्त कृति शैक्षिक सामग्री बन्नसक्छ । 

विचार कसैको पनि पेवा नभएको धारणा राख्दै वक्ताहरूले पार्टीको मूल्यमान्यतामा लाग्ने हो भने पुस्तकको सन्देश सबैले ग्रहण गर्नुपर्नेमा जोड दिए । कृतिमा पुनरुक्ति र तथ्यतथ्याङ्कमा भएका दोष हटाउँदै यसलाई अझ पूर्णता दिन नेत्री तथा कृति लेखकलाई सुझाव दिइएको छ । 

कार्यक्रममा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विचार निर्माण गरेपछि वैज्ञानिक ढङ्गले पुष्टि हुनुपर्ने तथा अध्ययन गरेको कुरा बुझेर विश्लेषण गर्नुपर्नेमा जोड दिए । कसैका अघिल्तिर सत्य कुरामा टाउको कहिल्यै नझुकाउन पनि लेखिकालाई सुझाव दिए ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता केशवराज पाण्डेले नेता र पार्टीप्रतिको विश्वास जोगाउन कृति अध्ययन गर्न आग्रह गरेका छन् । निलम्बित एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कृति पुर्खाले गरेको समर्पण र त्यागको श्वेतपत्र भएको विचार छ । पार्टी नेता–कार्यकर्तालाई आफ्नो कसमबाट दायाँबायाँ लाग्यौँ कि भनी आत्मसमीक्षा गर्नमा तिम्सिनाले जोड दिइन् । त्यस्तै परिषद्का अध्यक्ष रामहरि रिमालले लेखिकाले पत्थरको जवाफ फूलले दिएर उदारता प्रदर्शन गरेको विचार राखे । 

राजनीतिमा महिला सहभागिताको सशक्तीकरण विषयमा काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त उनका यसअघि ‘धर्तीमाथिको दाबीः अधिकारको लडाइँ’, ‘नेपाली राजनीतिमा महिला’, ‘समानताका पाइलाहरू’, ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ लगायत कृति प्रकाशित छन् । 

गत कात्तिक २५ गते एमालेले कीर्तिपुरमा नयाँ मुख्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले जग्गा दिने र बनाउने सर्तमा भवन शिलान्यास गरिएकाले सोको विरोधमा आवाज उठाएपछि पाण्डे र तिम्सिनालाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो । तर, आजसम्म कारबाहीको पत्र नदिइएको र तोकिएको अवधिसमेत नाघिसकेको अवस्था  छ ।

कार्यक्रममा मालेकालमा नुवाकोट र धादिङमा भूमिगत रहेर सङ्गठन विस्तार गर्ने युवराज कार्की, नरनाथ लुइँटेल र सुरेशकुमार कार्कीलगायत एमालेका नेता एवं कार्यकर्ता र बुद्धिजीवीको सहभागिता थियो ।

टिप्पणीहरू