सशस्त्रमा डिआइजी नचाउने जवान

सशस्त्रमा डिआइजी नचाउने जवान
सुन्नुहोस्

सशस्त्र प्रहरी बल नेपालमा हरि बोहोरा दर्जाले जवान हुन् । तर,शैली कुनै अधिकृतको भन्दा कम देखिँदैन । २७ नम्बर गण रूपन्देही दरबन्दी भई कारागार सुरक्षा बेस घोराहीमा कार्यरत बोहोराले एसएसपीसम्मका अधिकारीलाई टेर्दैनन् भनिन्छ  । 

रूपन्देहीबाट घोराही कारागार सरुवा भएका उनी गत भदौ ३१ गते प्रस्थान गरे । तर हालसम्म कारागार छिरेका छैनन् । घोराही पुगे पनि कारागारमा ड्युटी गर्नु परेको छैन । स्रोतका अनुसार कानुनी रूपमा उनी कारागार सुरक्षा बेस घोराहीको ड्युटीमा देखिन्छन् । तर, मान्छे त्यता छैनन् । 

सशस्त्र प्रहरी स्रोतका अनुसार बोहोराको घोराही रवाना लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी बाहिनीका तत्कालीन बाहिनीपति डिआइजी अभिराज खत्रीको आदेशमा भएको हो । रवाना घोराही गराए पनि खत्रीले उनलाई दाङ र कपिलवस्तुतिर घुमुवाको रुपमा खटाइदिए । खत्रीकै पालादेखि बोहोराको लुम्बिनीका १२ वटै जिल्लाका क्रसर व्यवसायी,खोलाका ठेकेदार, चिनी,भैंसी,हार्डवेयर र मटर व्यापारीसँग निकट सम्बन्ध थियो ।

खत्रीपछिका डिआइजी प्रदीप पाल र अहिलेका दीपेन्द्र कुँवरसम्म पनि बोहोराको उठबस उस्तै छ । दाङका अधिकांश क्रसर अवैध छन् । ठेकेदारले अवैध रूपमा खोला उत्खनन् गरेको पाइन्छ । कपिलवस्तुमा भारतबाट अवैधरूपमा विभिन्न सामान भित्र्याउने गरिन्छ । स्रोत भन्छ, ‘डिआइजीको घुमुवालाई हामीले केही गर्न सक्दैनौं ।’ 

घोराही कारागारबाट बोहोरालाई बाहिनी रवाना गर्ने तयारी थियो । तर,डिआइजी कुँवरले नै विभिन्न पक्षलाई ध्यानमा राखेर उनको रवाना रोकिदिएको आरोप छ । बोहोरा कतै आर्थिक विवादमा परे त्यसको दोष घोराहीकै बेसपतिलाई हुने र डिआइजीसँग सरोकार नहुने भएकाले कागजीरूपमा उनलाई घोराहीमै कार्यरत देखाइएको बताइन्छ । अहिलेका डिआइजी कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वाइँ हुन् । 

यता डिआइजीले व्यक्तिगत घुमुवा राखेका बोहोराका अनेक लेनदेन र कारोबारका कारण कारागार सुरक्षा बेस घोराहीका प्रमुख भेषराज गिरी विवादमा पर्ने डरमा छन् । घोराही कारागारमा दरबन्दी कायम बोहोरा कपिलवस्तुको चन्द्रौटा बजारमा भाडामा बस्दै आएका छन् । उनी अभि खत्रीको पालादेखि हालसम्म सशस्त्रका जवान र सइसम्मको प्रदेश काजमा हावी रहेको बताइन्छ ।

तर, जवान हरि बोहोराले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।  उनले संगठन र सबै उच्च अधिकृतहरुप्रति आफ्नो सम्मान, कर्तव्य रहेको बताउँदै भने, ‘म जस्तो तल्लो तहको कर्मचारीमाथि त्यति ठूलो आरोप लगाउनेहरुको नियत खराब देखिन्छ । संगठन र हाकिम साहेबहरुसँग जोडेर म जस्तो निमुखा कर्मचारीविरुद्ध अनर्गल प्रचार गर्नेको उद्देश्य उनीहरुले नै जानून् ।’

टिप्पणीहरू