सीप मेलामा सहकार्यका लागि महानगरको आह्वान

सीप मेलामा सहकार्यका लागि महानगरको आह्वान

काठमाडौं महानगरपालिकाले ‘सीप मेला, २०८२’ मा सहकार्यका निम्ति आह्वान गरेको छ । आउँदो जेठ ७ गतेदेखि टुँडिखेलमा हुन लागेको सीप मेलामा तालिम सञ्चालन, व्यवस्थापन, रोजगारी प्रदानजस्ता क्षेत्रमा सहकार्यका लागि प्रस्ताव आह्वान गरिएको हो । 

महानगरले आज सूचना जारी गर्दै इच्छुक निजी क्षेत्र, तालिम सेवा प्रदायक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आगामी तीन दिनभित्र आफूले सहकार्य गर्न चाहेको आर्थिक, प्राविधिकलगायत क्षेत्रसँग सम्बन्धित प्रस्ताव पेश गर्न आग्रह गरेको छ । 

सूचनामा भनिएको छ, ‘सीप मेलालाई सहभागितामूलक र साझा बनाउन महानगरले तालिम सञ्चालन, व्यवस्थापन, रोजगारी प्रदान जस्ता क्षेत्रमा सहकार्य गर्न निजी क्षेत्र, तालिम सेवा प्रदायक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई ३ (तीन) दिनभित्र आफूले सहकार्य गर्न चाहेको आर्थिक, प्राविधिकलगायतका क्षेत्रसँग सम्बन्धित प्रस्ताव सहरी योजना आयोगको सचिवालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रममार्फत सीप नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएर बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्यले सीप मेला गर्दैछ । 

‘शिक्षालाई सीपसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, ‘सिपलाई श्रमसँग’ जोडेर श्रमिक र रोजगार दाताबीच सम्बन्ध स्थापित गराउनु र ‘श्रमलाई उत्पादनसँग’ जोडेर आयआर्जनमा वृद्धि गराउनु मेला सञ्चालनको लक्ष्य रहेको महानगरको भनाइ छ ।

टिप्पणीहरू