बिहान रोकिएको एनओसी खुलाउन अपरान्ह माग
सरकारले दक्षिण कोरियाका लागि अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि शैक्षिक परामर्श क्षेत्रका संघसंस्थाहरुले आपत्ति जनाएका छन् । एनओसी खुलाउनुपर्ने माग गर्दै उनीहरुले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पर्याप्त छलफल र तथ्यगत आधारबिना एनओसी रोक्दा विद्यार्थीको भविष्य अन्यौलमा परेको उनीहरुको ठहर छ । उनीहरुले एनओसी खुलाउनेलगायत शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याबारे शिक्षामन्त्री पन्तको ध्यानाकर्षण गराएका छन् ।
कोरियामा अध्ययनका निम्ति विद्यार्थीहरु शुरुदेखि नै रोजगारीमा लाग्दा पढाईलाई निरन्तरता नदिने, पढाई समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका साथ गएकोले काम पाउँदा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत नेपाली विद्यार्थी पठाउने गरेको पाइएपछि मन्त्रालयले तत्कालका लागि एनओसी रोकेको छ ।
साथै, यस सम्बन्धमा अध्ययनका लागि कार्यदलसमेत गठन गरिएको छ । उक्त कार्यदलले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि सोही सिफारिसका आधारमा थप निर्णय गर्ने मन्त्रालयको भनाइ छ । यद्यपि, शैक्षिक परामर्श महासंघ ईक्यानलगायत अन्य संस्थाले भने गल्ती गर्नेलाई कारबाही गर्नुको साटो एनओसी नै रोक्नु गलत भएको भन्दै आपत्ति जनाएको हो ।
टिप्पणीहरू