बुद्ध जयन्तीमा प्रधानमन्त्रीलाई सभा हलको चिन्ता, मन्त्री र मेयर घुमघाममा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीलाई सभा हलको चिन्ता, मन्त्री र मेयर घुमघाममा

भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा २५ सय ६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आज विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइएको हो । 

त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नै नेतृत्वमा निर्मित सभा हलप्रति असन्तुष्ट सुनिनुभयो । प्रमुख अतिथि बनेर समारोहमा उपस्थित हुनुभएका उहाँले मन्तव्यको शुरुवातमै हलको साउण्ड सिस्टम ठिक नभएको भन्दै अर्को वर्ष बुद्ध जयन्ती मनाउँदा ईको नआउनेगरी बनाउन निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘कार्यक्रममा बोल्ने र सहभागी हुने कसैको आवाज नै सुन्न नसकिने यस्तो पनि हल हुन सक्दैन, तत्काल पूर्ण इकोसिस्टममैत्री बनाइनुपर्दछ । अर्को बुद्ध जयन्तीको कार्यक्रम सुविधासम्पन्न हलमा अन्तर्राष्ट्रियस्तरको गरिनेछ ।’

बुद्ध जन्मस्थल लुम्बिनीको बृहत्तर गुरुयोजना पाँच दशकसम्म पनि नसकिएकोप्रति खासै चासो व्यक्त नगर्नुभएको उहाँले यसअघि २०७३ सालमा बुद्ध जयन्ती मनाउन आउँदा हावाहुरी र पानीले त्रिपाल उडाएर कार्यक्रम नै बिथोलिएपछि आफ्नै निर्देशनमा पाँच हजार जना अट्ने हल निर्माण गरेको स्मरण गर्नुभयो । 

‘०७३ सालमा बुद्ध जयन्ती मनाउन आएका थियौं । तर, सबै हावाहुरीले टेन्ट भत्कायो, कति जना हिलैहिलो बनियो, अस्तव्यस्त भयो अनि मैले अर्को वर्ष हलमा कार्यक्रम गर्ने घोषणा गरेको थिएँ,’ ओलीले भन्नुभयो, ‘राष्ट्रपति विद्यादेवी भण्डारी तथा विदेशी पाहुनासमेत सहभागी उक्त कार्यक्रम बिथोलिएपछि सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेको थिएँ ।’

करिब आधा घण्टा बोल्नुभएका उहाँले सम्बोधनको अन्तिमतिर भने लुम्बिनीको प्राचिन सम्पदा र संस्कृतिलाई संरक्षण गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो । लुम्बिनीलाई खतराको सूचिमा पर्नबाट जोगाउनका लागि लुम्बिनी विकास कोषलगायत अन्य सरोकारवाला निकायले आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका खेल्न उहाँको निर्देशन छ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमन्त्री प्रेम आले, सांसद बासुदेव घिमिरे, नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग, भारतीय राजदूत नविन श्रीवास्ताव, थाईल्यान्डका राजदूत सुवाफोङ सिरीसेना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारकाल लामा, कोषाध्यक्ष ढुन्डीराज भट्टाराई, सदस्य सचिव सानुराजा शाक्य, युएनडिपीका आवसीय प्रतिनिधि क्योको योकोसुका, प्रदेश सांसदहरु, विभिन्न देशका बौद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । 

संघीय सरकारको आयोजनामा लुम्बिनीमा बुद्ध जयन्तीको भव्य समारोह सम्पन्न भइरहँदा प्रदेश सरकारका पर्यटनमन्त्री प्रचन्ड विक्रम न्यौपानसहित रुपन्देहीका केही स्थानीय तहका जनप्रतिनिधिहरु भने विदेश भ्रमणमा रहेको पाइएको छ । घर आँगनको कार्यक्रम छोडेर विदेशमा बुद्ध जयन्ती मनाउन मन्त्रीको नेतृत्वमा जनप्रतिनिधिहरु थाइल्याण्ड जानुभएको बुझिएको छ ।  

टोलीमा प्रदेशसचिव सचिव बाबुराम अधिकारी, सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खान, उपप्रुमख उमा अधिकारी, लुम्बिनी सांस्कृतिक नगरकी उपप्रमुख कल्पना हरिजन, तिलोत्तमाका नगर उपप्रमुख जागेश्वरी चौधरी, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङलगायत रहेको बताइन्छ । 

बुद्धप्रति आस्था राख्ने विश्वभरिका प्रतिष्ठित व्यक्तिहरु लुम्बिनीमा बुद्ध जयन्ती मनाउन आइरहेको बेला प्रदेशमन्त्री र स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु विदेशी पाहुनालाई स्वागत र कार्यक्रम सफल बनाउन लाग्नुपर्नेमा विदेश भ्रमणतिर रमाउँदा नराम्रो सन्देश गएको छ ।

टिप्पणीहरू