दुई आयोगको जिम्मा महेश थापा र लिलादेवी गड्तौलालाई दिने सम्भावना

दुई आयोगको जिम्मा महेश थापा र लिलादेवी गड्तौलालाई दिने सम्भावना

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले उम्मेद्वारहरुको अन्तिम नामावली सरकारलाई बुझाएको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको पदाधिकारीका लागि तय गरेको सर्ट लिस्ट बुझाएको छ ।

गत वर्ष कात्तिक २ गते गठन भएको उक्त समितिले निर्धारित समय (दुई महिना)भित्र पदाधिकारी सिफारिस गर्न नसकेपछि स्वतः भंग भएकोमा गत चैत ११ गते सरकारले मिश्रकै संयोजकत्वमा समिति पुनर्गठन गरेको थियो । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपश्चात पुर्नगठित उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, अधिकारकर्मी स्टेला तामाङ सदस्य छन् । 

समितिले दुई हप्ताको समय दिएर पदाधिकारीको लागि खुल्ला दरखास्त आह्वान गरेकोमा सयभन्दा बढी निवेदन परेको थियो । ती निवेदनमाथिको अध्ययन र अन्तर्वार्तापश्चात् समितिले अन्तिम सूची सरकारलाई बुझाएको हो । 

पूर्व प्रधानन्यायाधीश तथा समिति संयोजक मिश्रले जनआस्थासँगको कुराकानीमा भने, ‘आज नाम बुझाएका छौँ, भोलि वा पर्सि बस्ने क्याबिनेटले टुंगो लगाउला ।’ सिफारिस गरिएको नामबारे मिश्रले खुलाउन चाहेनन् । यद्यपि, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूर्व न्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गरिएको कतिपयको अनुमान छ ।

टिप्पणीहरू