गभर्नरमा प्रस्तावित ‘महासमिति सदस्य’, मेलोमेसो नपाउँदै पाँच वर्ष सकिने डर

नेपाली काँग्रेसले रिक्त गभर्नरमा नियुक्तिका लागि नयाँ नाम अघि सारेको छ । यसअघिका डा. गुणाकर भट्टको सट्टा डा. विश्व पौडेललाई गभर्नर बनाउन देउवा निवासले बालुवाटारलाई अनौपचारिक आग्रह गरिसकेको बताइन्छ ।
कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कार्यकारी निर्देशक भट्टको राजीनामा तीन सातासम्म स्वीकृत नगरेर अड्काएपछि काँग्रेसभित्रको ‘स्वार्थ समूह’ ले हिजोदेखि पौडेलको नाम अघि सार्न थालेको हो । हाल गभर्नर उम्मेदवार सिफारिस समितिमा सदस्य रहेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । तर,उनी नेपाली काँग्रेस महासमिति सदस्य पनि छन् । गत आमनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार रहेका पौडेल रास्वपाका हरि ढकालबाट पराजित भएका थिए ।
उनी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको महँगो स्कूल युलेन्समा सन् २०१९ देखि २०२१ सम्म ट्रस्टी थिए । विज्ञताको हिसाबले उनले अर्थशास्त्र र अर्थशास्त्रीहरुको इतिहासमा पिएचडी गरेको बताइन्छ । जबकि गभर्नरको निम्ति सबैभन्दा योग्य मौद्रिक अर्थशास्त्री हुनुलाई राम्रो मानिन्छ । हिजो दिउँसो भट्टको विकल्पमा पौडेलको नाम अगाडि आएपछि नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कतिपय कार्यकारी निर्देशक र कर्मचारीले गभर्नरको निम्ति उनी अयोग्य रहेको संकेत दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनीहरुले पौडेललाई केन्द्रीय बैंक,वित्तीय क्षेत्रको नियमनकारी निकायबारे केही थाहा नभएको उल्लेख गरेका छन् । भन्छन्, ‘ गभर्नरको उम्मेदवारमा आज फेरि एउटा नयाँ नाम बजारमा आएछ । पुस्तक अध्ययन,अध्यापन,लेखन, प्रशिक्षणमा जतिसुकै पोख्त विद्वान र विद्यावारिधी योग्यता धारण गरेको भएतापनि मुलुकको समग्र अर्थतन्त, बैंकिग,वित्तीय जगतको व्यवहारिक र पूर्ण ज्ञानसहित बैंकिग अनुभव भएको व्यक्तित्वको उपस्थिति बिना केन्द्रीय बैंकको नेतृत्व फिक्का हुन्छ ।’
क्यापिटल एडिक्वेसी,एलएलपि, एनपिए,एनबिए,स्ट्रेस टेस्टिंग,पिसीए, एफएटिएफ,सिबीडिसी,ब्ल्यालिस्टिंग, एनएफआरएस, एलटिभी, एएमएलसिएफटी, रिस्क एपेटाईट, रिस्क टोलोरेन्स, ओपन पोजिसन, फर्वार्ड, हेजिंग, रिपो, रिभर्स रिपो, एसओएल, गोएएमएल, आफी, सियासन, सियन्जा, क्रस होल्डिंग, रेगुलेटरी रिजर्भ, लिक्विडिटी, ईन्ट्रेष्ट स्प्रेड, आदि ईत्यादि जस्ता कयौं हजारौं आधारभूत र सामान्य बैंकिग टर्मिनोलोजी बुझ्दाबुझ्दै नै विचराको ५ वर्षे अविध बित्ने उनीहरुको निचोड छ । एकजना कार्यकारी निर्देशकको उक्त स्टाटसमा थप्दै अर्का निर्देशकले लेखेका छन्, ‘केन्द्रीय बैंक नबुझेको मानिस नियुक्त भएमा माथिका शब्द अनुसारका काम बुझ्दा ५ वर्षे अवधि सकिन्छ । मौद्रिक नीति र अर्थतन्त्र ध्वस्त हुनेछ ।’
टिप्पणीहरू