ट्राफिक प्रहरीको भुँडी हेर्न यातायात व्यवसायीहरुको सुझाव

ट्राफिक प्रहरीको भुँडी हेर्न यातायात व्यवसायीहरुको सुझाव

-शंकर श्रेष्ठ

पछिल्लो समय धादिङको सदरमुकाममा रहेका ट्राफिक प्रहरीको चर्चा निकै हुन थालेको छ । ट्रक, ट्रिपर, बोलेरो जीपका चालक होस् या मालिक सबैको एउटै गुनासो छ–‘ट्राफिक प्रहरीले हैरान पार्यो ।’

सदरमुकामबाट ग्रामीण भेग आउजाउ गर्ने सवारीसाधनहरुसँग ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्ने गरेको आरोप नयाँ होइन । तर, अति भएपछि जिल्ला सदरमुकाम धादिङबेसी केन्द्रित ट्राफिक प्रहरीको ज्यादती छताछुल्ल हुन पुगेको छ । 

सांङ्कोष–तिप्लिङ सडकमा बोलेरो चलाउँदै आएका एकजना चालक भन्छन्– ‘ट्राफिकलाई महिनावारी पैसा नबुझाए गाडी चलाउनै सकिँदैन ।’ मासिक रुपमा न्यूनतम एक हजार नबुझाए रित्तै भएको बेला पनि अनेक बहानामा चिट काटिदिन्छ, महिनामै दशौं पटक चिट काट्नुभन्दा एक हजार बुझाएर ढुक्कले हिँड्न पाइन्छ ।’ 

ट्राफिक प्रहरीलाई मासिक रुपमा रकम बुझाउने भएपछि अहिले धादिङबेसीको सडकमा नै खुलेआम रुपमा खचाखच मान्छे बोकेर र्हुइंकिरहेको देख्न पाइन्छ । 

आवश्यक कागजपत्र साथमा हुँदा या नहुँदा पनि अनेकौं बहानामा दुःख दिने गरेको अधिकांश चालकहरुको गुनासो छ । तर, पैसा बुझाएको बारे हल्ला गरे झन् बढी ट्राफिकको कारबाही खेप्नुपर्ने त्रासले कुनैपनि चालकहरु नाम सार्वजनिक गर्न चाहदैनन् । विशेषगरी नीलकण्ठ नगरपालिका–३ धादिङबेसी बजारबाट ग्रामीण भेगमा खाद्यान्न र यात्रु बोक्दै आएका बोलेरो जीपहरु उनीहरुको निशानामा पर्ने गरेको बताइन्छ । 

नियम विपरित गुडेका सवारीसाधनलाई कानूनबमोजिम चिट काट्नु र कारबाही गरी कानूनी दायरामा ल्याउनु ट्राफिक प्रहरीको जिम्मेवारी हो । तर, चिट नकाटी नगद खल्तीमा हाल्ने र मासिक रुपमा रकम उठाउने गरेको तथ्य बाहिरिएपछि पछिल्लो समय ट्राफिक प्रहरीको बदनाम भएको छ । केही समयअघि दुई जना यातायात व्यवसायीले सामाजिक सञ्जालमा लेखेको पोष्ट र कमेन्टबाट पनि ट्राफिक प्रहरीको बदमासी प्रष्ट हुन्छ । 

सामाजिक संजालमा पोष्ट गरिएका स्टाटसमा लेखिएका कमेन्टहरुले ट्राफिक प्रहरीले धादिङबेसी आसपासमा राम्रो काम नगरेको पुष्टि हुन्छ । रुटिन अफ धादिङ कन्डिसन नामको एउटा फेसबुक पेजमा धादिङका बस व्यवसायी राजेश प्रजापतिले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘महिनावारी जो चलेको छ ? प्रयोजन विपरित सवारीबाट मासिक दुई हजार, लोकल भाले, घ्यु, लोकल चामल, माछा, मासु (...) घिच्न पाएको छ । अनि कसरी हुन्छ कारबाही ? ट्राफिक प्रहरीको भुँडी हेर्नु न भुँडी ।’

चालकहरुका अनुसार अफिस कलरको रुपमा कार्यालयभित्रै ड्युटी खटिने ट्राफिक प्रहरीले झन फिल्डमा खटिनेले भन्दा धेरै सताउने गरेका छन् । कारबाहीमा परिसकेपछि भौचर लिएर कागजपत्र लिन पुग्दा होस् या चिटै नकाटी लिएको कागजपत्र बुझ्न कार्यालय पुगेका चालकसँग खुलेआम खाइखर्च माग्ने गरेको आरोप छ । गाउँबाट झरेका चालकहरुले कोसेली बोकेर अफिस पुग्नैपर्छ । 

अफिस कलर भन्नाले कारबाहीमा काटिएका चिट सिस्टममा इन्ट्री गर्नेदेखि कार्यालयको आन्तरिक काममा खटिने प्रहरी हुन् । तर अफिस मै बसेर बिना चिट मासिक भत्ता थाप्ने पनि ती अफिस कलर नै हुन् । यसरी चालकसँग उठाएको पैसा पोष्ट अनुसार बाँडीचुँडी  लिने आन्तरिक सिस्टम रहेको स्रोतको भनाई छ । 

करिब एक महिनाअघि ट्राफिक प्रहरी पोष्ट धादिङबेसीमा सरुवा भएका प्रहरी जवान बेगम पोखरेल र सहायक हवल्दार काशीराज जोशीको जोडी अहिले धादिङबेसीमा निकै जमेको देखिन्छ । उनीहरुको अस्वाभाविक व्यवहारबाट अधिकांश चालक आजित भएको बताइन्छ । बजार क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई कागजपत्र चेकजाँच गर्ने नाममा बारम्बार दुःख दिने गरेको मोटरसाइकल चालकहरुको आरोप छ । जोकोहीलाई अपशब्द बोल्न समेत पछि नपर्ने ट्राफिकहरुको भनाई उद्धृत गर्दै चालक समूहको गुनासो छ, ‘१५ महिना नागढुंगा बसेर आएका हौं, नियम नसिकाउ ।’ भनेको नमाने सानो कमजोरी देखाएर ठूलो चिट थमाइदिने गरेको गुनासो छ । 

ट्राफिक प्रहरीले चलाउने एउटा मोबाइल सेटमा गाडी नम्बर इन्ट्री गरेर राख्ने र, महिना पुग्न लागेपछि चालकहरुलाई अग्रिम जानकारी गराउने पनि स्रोत बताउँछ । मासिक डायरी अनुसार बेलैमा रकम नबुझाए भेटेको दिन कारबाही भोग्ने गरेको चालकहरुको भनाई छ । 

‘टाइम पुग्यो खै त भेटघाट ? अफिस आउनु पर्यो भन्छ । भेट्न गएन भने चिट नकाटी ब्लुबुक वा लाइसेन्स लान्छ । गएर भेटेपछि एक महिना वास्ता गर्दैन’, नाम सार्वजनिक नगरिदिने कसम खाएपछि एकजना चालकले ट्राफिक प्रहरीको व्यवहारको फेहरिस्त बताए । 

मासिक कति उठ्छ पैसा ?

सिरानबजार हुँदै धुवाँकोट, सेम्जोङतर्फ चल्ने, बीचबजारबाट सुनौलोबजारतर्फ चल्ने, पुछारबजार बगैँचा हुँदै खरी, मैदी र त्रिपुरासुन्दरी गाउँपालिकाका बस्तीहरुमा आउजाउ गर्ने, ससाह हुँदै ज्वालामुखी र सिद्दलेकका ग्रामीण बस्तीहरुमा चल्ने करिब दुई सय बढी बोलेरो जीपहरु छन् । साङ्कोेष तिप्लिङ सडकमा मात्रै ६० भन्दाबढी बोलेरो जीप चल्छन् । किङ्ताङफेदी, मार्पाक, गुम्दी, कटुङ्जे, फूलखर्कलगायत गाउँका सामान र तीनै ठाउँका मान्छे ओसारपसार गर्छन् ।

निर्माण सामग्री ओसारपसार ट्रिपर, पहाडी बस्तीहरुसम्म चल्ने सौराज ट्रक, सदरमुकाम आसपासमै सामान ओसारपसार गर्ने एक सय सवारी साधन छन् । यी सबै ट्राफिक प्रहरीको मागिखाने भाँडो बनेको बताइन्छ । यस्ता अधिकांश सवारीसाधनसँग न्यूनतम मासिक एक हजार उठाउने गरिएको चालकहरुको दाबी छ ।

वर्षाैदेखि कागजपत्र नवीकरण नभएका थोत्रा ट्रक, गुड्दा गुड्दै पाङ्ग्रा फुस्केला जस्ता साना सवारीबाट असुल्ने रकमको कुनै गणना नै नहुने उनीहरुको भनाइ छ । प्रायः डिजल, पेट्रोल हाल्न पम्पमा गएको बेला त्यस्ता गाडीहरु ट्राफिकको टार्गेटमा पर्ने गरेका छन् ।

हुन त बोलेरोहरुले पनि पूरै नियम पालना गरेका हुँदैनन् । चालकसहित पाँच जनाको सीट क्षमतामा धेरै मान्छे राख्ने गरिएको छ । मुख्य सडकहरुमा बस चलेपनि भित्री बाटोहरुमा बस जान सक्दैन । पछिल्लो समय मान्छेहरु हिँड्न चाहँदैनन् । गाउँघर चल्ने बोलेरोलाई मान्छे बोक्नैपर्ने बाध्यता छ । खरी, मैदी चल्ने बोलेरोका चालकहरु भन्छन्– ‘नचढ्नुस् भन्दा पनि चढ्नुहुन्छ । जबरजस्ती छोडेर गयो भने भोलिपल्टदेखि गाउँमा छिर्नै पाईंदैन, मान्छे बोक्नु हाम्रो बाध्यता हो । पैसा नतिरी कुनै गाडी चल्नै सक्दैन, कोसँग कति उठाउँछ भन्ने मात्रै फरक हो ।’ 

बसका चालक र मालिकहरुलाई भने ट्राफिक प्रहरीको प्रेसर केही कम छ । किनकी यातायात व्यवसायी संघहरुले नै आधिकारिक रुपमा मासिक रकम भरिदिन्छन् । व्यवसायी संघहरुसँग घरभाडा तिर्ने नाममा मासिक मोटै रकम उठाउने गरिएको छ । चाडपर्व खर्च, माछामासु र सितनको त हिसाबै छैन । आकलझुकल दुई÷चार हजार दिनैपर्छ । लामो समयदेखि धादिङको यातायात व्यवसाय सुधारको अभियानमा रहेका जया भट्ट भन्छन्–‘ट्राफिक प्रहरी र सुरक्षा निकायकै कारण बेथिति मौलाएको हो ।’

अर्कोतर्फ अवैध ढंगबाट रकम उठाउनु ठीक होइन भन्ने ट्राफिक प्रहरीहरु हाकिमको नजरबाट तुरुन्तै हट्ने गरेका छन् । ट्राफिक प्रहरी पोष्ट धादिङबेसीका इन्चार्ज वरिष्ठ सई सुरेन्द्र विष्ट चालकका कुनै पनि आरोप स्वीकार्न तयार छैनन् । आफू धादिङबेसी आएदेखि एक सयभन्दा बढी गाडीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएर कारबाही गरिएको दाबी गरेका छन् ।

धादिङको जिम्मेवारी सम्हाल्न आएदेखि नै सडकमै उभिएर यात्रु बोकेका बोलेरो र रातो प्लेटको सवारी साधनलाई २०/२० हजारसम्म चिट थमाएका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाही यो मामिलामा मौन देखिनुलाई अचम्म मानिएको छ ।

टिप्पणीहरू