नीति तथा कार्यक्रमप्रति एमाले सांसदको नबोलेर विरोध

नीति तथा कार्यक्रमप्रति एमाले सांसदको नबोलेर विरोध

सरकारको नेतृत्वकर्ता नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रमप्रति सांकेतिक विरोध जनाएका छन् । 

सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमको खुलेर विरोध गरिरहेका बेला आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसदले ‘नबोलेरै’ विरोध गरेका हुन् । 

रुकुम घर भएका विश्वकर्मालाई बोल्न उपसभामुख इन्दिरा रानाले पाँच मिनेटको समय दिएकी थिइन् । तर, रोष्ट्रममा पुगेर केही नबोली उनले प्रतिकात्मक रुपमा विरोध गरे । 

सुरुमा उनले ‘सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रममाथि आफ्नो प्रतिक्रिया दिन म यहाँ उपस्थित भएको छु’ भने । त्यसपछि उनले सिधा भएर करिब तीन मिनेट केही नबोली उभिरहे । र, ‘समयको लागि धन्यवाद’ भनेर उनी अन्तिममा रोष्ट्रमबाट ओर्लिए । 

त्यसो त, नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा संसदका अधिकांश कुर्सी खाली छ । बढीमा १५ जना सांसद बैठकमा छन् । सांसद विश्वकर्माले खाली हललाई के सुनाउनु भनेर प्रतिकात्मक सन्देश दिएका हुन या नीति तथा कार्यक्रममै असहमति जनाएका हुन भन्ने खुलेन ।

टिप्पणीहरू