सबै श्रेणीहरू

एमसिसीका निम्ति आयो ग्रिनसिग्नल

एमसिसीका निम्ति आयो ग्रिनसिग्नल

चौतर्फी आशंकाबीच पेचिलो गरी संसदबाट अनुमोदन भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्ततः नेपालको हकमा निरन्तर हुने भएको छ । नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनका व्यापारिक साझेदार एलन मस्कको सिफारिसमा एमसिसी लगभग नेपालबाट हट्ने संघारमा पुगेको थियो । एमसिसीले ३२० भन्दा बढी कर्मचारीलाई स्वैच्छिक अवकाश लिन उर्दीसमेत जारी गरेको थियो । तर, यसले निरन्तरता पाउने गरी अमेरिकाबाट ग्रिन सिग्नल आएको छ ।

अन्योलग्रस्त अवस्थामा अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले एमसिसीको मुख्यालयसँग सम्पर्क गरेपछि यो कार्यक्रमले निरन्तरता पाउने गरी सकारात्मक संकेत आएको उच्च स्रोतको दावी छ । 

अमेरिकी राजदूत स्वयंले आइतबार मन्त्रीलाई भेटेर एमसिसीको पछिल्लो अवस्थाबारे छलफल गरेको समेत बुझिएको छ । अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो, लिखित पत्र आउने बेला भइसकेको छैन । उताबाट एमसिसीले निरन्तरता पाउने संकेत आएको छ ।’ वासिङटनस्थित नेपाली दूतावासमा इकोनोमिक काउन्सिलरका हैसियतमा तैनाथ अर्थकै उपसचिव युवराज पाण्डेले नेपालको हकमा एमसिसीले निरन्तरता पाउने गरी गत शुक्रबार अर्थमन्त्रीलाई रिपोर्टिङ गरेको स्रोत बताउँछ । 

खस्कँदो अर्थतन्त्रका बीच अमेरिकाले केही समयअघि युएसएआइडीको सहयोग स्थगित गर्दा नेपालको शिक्षा, कृषि, स्वास्थ्यसहितका थुप्रै परियोजनामा ठाडो असर परेको थियो । पत्र नै पठाएर युसएआइडीको सहयोग रोकिएपछि नेपालमै धेरै वटा आइएनजिओ र एनजिओ बन्द हुने स्थिति आयो । तनावका बीच एमसिसीले निरन्तरता पाउने भएपछि सरकारले राहत महसुस गरेकोमा प्रधानमन्त्री कार्यालय हर्षित छ । जनमतको चर्को धु्रवीकरणबीच २०७८ फागुन २५ गते एमसिसीको ५५ करोड डलर अनुदान सम्झौता संसदबाट अनुमोदन भएको थियो । 

नेपालभन्दा अमेरिकाको बढी चासो रहेको यो परियोजनामा जोडबल नै उसैको थियो । सैन्य क्षेत्रसँग यो सम्बन्धित नभएको, कार्यान्वयनमा अवरोध नहोस् भनेर संसदबाट पारित गर्ने शर्त राखिएको र नेपालको संविधानभन्दा माथि नभएको प्रष्टीकरण दिन पनि ऊ बाध्य भएकै हो । मुख्यगरी ठूला प्रशारण लाइन र मुख्य राजमार्गको स्तरोन्नतिमा एमसिसी परियोजना अगाडि बढेका थिए । जसले जेसुकै भने पनि अमेरिकाको निम्ति नेपाल रणनीतिक भूमि हो । यसर्थ पनि उसले नेपालबाट पूर्णतया हात झिक्न सम्भव छैन ।

यसबीच नेपालबाहेक सेनेगल, मंगोलिया र आइभरीकोष्टमा पनि एमसिसी परियोजनाले निरन्तरता पाउने अन्तर्राष्ट्रिय समाचार संस्थाले दाबी गर्दै आएका छन् । नेपाल र सेनेगलमा एमसिसीका योजना प्रशारण लाइन, ऊर्जा र पूर्वाधारसँग सम्बन्धित छन् । आइभरीकोष्टमा भने विद्यालय सुधार र मंगोलियामा फोहोर पानीको प्रशोधनका योजना अगाडि बढाइएको छ ।

५०० मिलियन डलर अमेरिकी अनुदानमात्रै हैन । यसमा नेपालले पनि १९७ मिलियन डलर खर्चिनुपर्ने हुन्छ । तर, बीचमै अमेरिकाले हठात बन्द गरे अगाडि बढिसकेका अर्बौंका योजना नेपाल आफैंले पूरा गर्नुपर्ने अवस्था छ । तर, खस्कँदो अर्थतन्त्रमा हाम्रो ढुकुटीले यो खर्च धान्दैन । एमसिसी कार्यान्वनअघि नै ५ अर्ब ७६ करोड खर्च हुँदा नेपालको दुई अर्ब ७६ करोड खर्च भइसकेको छ ।