माओवादी नेताहरु भारत र पाकिस्तानतिर बाँडिए

माओवादी नेताहरु भारत र पाकिस्तानतिर बाँडिए

जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको काउन्टरस्वरूप भारतले पाकिस्तानमाथि गरेको सैनिक कारवाहीको विश्वका विभिन्न देशले विरोध गरेका छन् । तर,साँध-सिमाना जोडिएको नेपालले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

सरकारी तवरबाट आधिकारिकरुपमा धारणा नआए पनि संसददेखि सडकसम्म चासो व्यक्त भैरहेको छ । विभिन्न राजनीतिक पार्टी र नेताहरुले पक्ष-विपक्षमा मत राखिरहेका छन् । यसैबीच प्रमुख प्रतिपक्ष दल नेकमा माओवादी केन्द्रका दुई प्रभावशाली नेताको भने परस्परविरोधी धारणा बाहिर आएको छ । 

अन्तर्राष्ट्रिय मामिलामा सिङ्गै देश एक ठाउँमा उभिनुपर्ने हो । त्यसमा पनि यौटै पार्टीभित्र फरक-फरक धारणा अपेक्षा गरिएको हुँदैन । तर,भूराजनीतिक मामिलामा पार्टीभित्र समान दृष्टिकोण नरहेको सन्देश जानेगरी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्माले फरक-फरक मत राखेका छन् ।

पछिल्लो समय अध्यक्ष प्रचण्डको निकट भएर काम गरिरहेका महासचिव गुरुङचाहिँ पाकिस्तानमाथि भारतीय हमलाको प्रष्ट विपक्षमा खुलेका छन् । 

सरकारमा नगएका बेला अरुभन्दा फरक देखिन चाहने र अहिले पार्टीभित्र प्रचण्डको विकल्पका रुपमा आफूलाई अघि सारेका उपमहासचिव शर्माले पाकिस्तानी आतंकवादविरुद्ध भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’को प्रशंसा गरेका छन् । अधिकांश नेताहरुले दुवै देशलाई संवाद गर्न सल्लाह दिँदै तटस्थ बनिरहेको बेला शर्मा भने भारतको पक्षमा खुलेका हुन् । 

आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको पनि उनले बताएका छन् । ‘भारतले आतंकवादविरुद्ध अपरेसन सिन्दुर सञ्चालन गरेको छ,आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो’, शर्माले लेखेका छन्, ‘आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो,साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’ 

अर्कोतिर,पछिल्लो समय अध्यक्ष प्रचण्डको निकट भएर काम गरिरहेका महासचिव गुरुङचाहिँ पाकिस्तानमाथि भारतीय हमलाको प्रष्ट विपक्षमा खुलेका छन् । गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने पनि बताएका छन् ।

‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्त दुखद विषय हो । भारतले आक्रमणको कारण केही दिन अगाडि कास्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको बदला बताइएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नैपर्छ । तर, उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र पुष्टि भएको देखिंदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिंदैन ।’  

गुरुङले सैन्य कारवाही अबिलम्ब बन्द गरी वार्ता र संवादमार्फत समाधान खोज्न दुबै देशलाई आग्रहसमेत गरेका छन् । पहलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तराष्ट्रिय कमिशन गठन गरी छानविन गर्न उनले सुझावसमेत दिएका छन् ।

टिप्पणीहरू