विपी अस्पताललाई काठमाडौं महानगरको ५० हजार जरिवाना

विपी अस्पताललाई काठमाडौं महानगरको ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले बसुन्धरामा रहेको विपी स्मृति अस्पतालको फोहोर संकलन कार्य रोकेको छ । अस्पतालबाट उत्पादित हानिकारक फोहोर व्यवस्थापनमा गम्भीर लापरबाही गरेको जनाउँदै महानगरले फोहोर संकलन कार्य रोकेको जनाएको छ ।

महानगरका अनुसार अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्रसमेत पठाइएको छ । अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म कम्पाउण्डमा थुपारेर राखेको गुनासोपछि महानगरको वातावरण व्यवस्थापन विभागको टोली त्यहाँ पुगेपछि उक्त निर्णय गरिएको जनाएको छ ।  

विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधि अनुगमनको लागि पुगेका थिए । सो क्रममा अस्पतालको कम्पाउण्डमा फोहोर नराखेको तर स्वच्छतामा भने कमजोरी र अटोक्लेभ गरेर राखेको भनिएको फोहोरबाट कडा गन्ध आएको महानगरको दाबी छ । 

अस्पतालले फोहोरलाई स्रोतमा वर्गीकरण नगरेको र जोखिमयुक्त फोहोरलाई निर्मलीकरण नगरी सामान्य फोहोरमा मिसाउने, निर्मलीकरणका साधन तथा उपकरण नहुनु र भएकाको पनि उचित प्रयोग नगरेपछि कारबाही गरिएको भनिएको छ ।

फोहोर व्यवस्थापनमा पटकपटक उही लापरबाही भेटिएपछि टोलीले अस्पतालको फोहोर संकलन गर्दै आएको टोखास्थित हिमालयन प्रालिलाई फोहोर संकलन कार्य रोक्न निर्देशन दिएको हो । महानगरले अर्को आदेश नदिएसम्मका लागि फोहोर संकलन रोकिएको छ ।

ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउन सकिने महानगरको भनाइ छ ।

सोही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर तिराएर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।

टिप्पणीहरू